• ५ साउन २०८१, शनिबार

खेलकुदमन्त्री गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल

blog

तस्बिर खेलकुदमन्त्री महेश्वरजंग गहतराजको निजी सचिवालय

मस्को, असार २ गते। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीलाई आग्रह गर्नुभएको छ। रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहनुभएका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो।

 रुस भ्रमणको अन्तिम दिन बिहीबार एनआरएन र नेपाली दूतावासले आयोजना गरेको विशेष भेटभाट कार्यक्रममा बोल्नुहुँदै मन्त्री गहतराजले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गर्नुभएको हो। 

नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री गहतराजले आग्रह गर्नुभयो। विगतका असहजता र समस्यालाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उहाँले बताउनुभयो। 

विदेशमा आर्जन गरेको सीप र स्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्र्याउन रुसमा रहेका नेपालीलाई आग्रह गर्नुभएको हो। 

अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री गहतरालको विश्वास छ। कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीको उपस्थिति थियो। 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि मन्त्री गहतराज सोमबार रुस प्रस्थान गर्नुभएको हो। उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।