• १७ चैत २०८२, मङ्गलबार

सङ्घीय संसद् अधिवेशन आह्वान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ ।  

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को सोमबार सम्पन्न बैठकले सङ्घीय संसद्को अधिवेशन चैत १९ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष पेस ग¥यो । सङ्घीय संसद् सचिवालयको समन्वयमा ज्येष्ठ सदस्यको शपथग्रहण चैत ११ गते भएको भोलिपल्ट ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका बाँकी सदस्यको शपथग्रहण गराउनुभयो ।  

चैत १३ गते प्रधानमन्त्रीको नियुक्ति तथा शपथग्रहण भएपछि मन्त्रीपरिषद्को दोस्रो बैठकले संसद् आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सङ्घीय संसद्को दुवै सदनको बैठक सिंहदरबारमै बस्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा नै बस्ने छ । राष्ट्रिय सभाको बैठक तत्काल सङ्घीय संसद् सचिवालय परिसरमा रहेको पुरानो राष्ट्रिय सभाको भवनमा नै बस्ने छ ।”

संविधानको धारा ९५ को २ मा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ । सङ्घीय संसद् सचिवालयले पहिलो अधिवेशनको जुनसुकै बैठकमा समेत राष्ट्रपतिको सम्बोधन हुन सक्ने जनाएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने बैठकअघि सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराउने छ । 

बैठकपूर्व सर्वदलीय छलफल

सङ्घीय संसद्को अधिवेशन आह्वान भएपछि ज्येष्ठ सदस्यको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने तयारी गरिएको छ । प्रवक्ता गिरीले पहिलो बैठकको कार्यसूची तय गर्न सर्वदलीय बैठक बस्ने बताउनुभयो । 

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने यी दलका प्रतिनिधिहरू सहभागी हुने छन् । 

प्रवक्ता गिरीले सोही बैठकले सभामुख र उपसभामुखको निर्वाचनलगायत कार्यसूचीबारे टुङ्गो लगाउने जानकारी दिनुभयो । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । 

संवैधानिक व्यवस्थाबमोजिम ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्ने सर्वदलीय बैठकको सहमतिबमोजिम सङ्घीय संसद् सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने छ । राष्ट्रिय सभाको कार्यसूची तय गर्न भने माथिल्लो सदनको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ । सो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सचेतक तथा कानुनमन्त्री सहभागी हुने छन् ।