• ७ जेठ २०८१, सोमबार

अघि बढ्यो विमानस्थल निर्माण प्रक्रिया

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार २ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा विमानस्थल निर्माणको तयारी भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँले उक्त स्थानमा सिन्धुली कमलामाई विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने भएसँगै स्थानीय उत्साहित भएका हुन् । प्राधिकरणले मङ्गलबार कमलामाई विमानस्थल आयोजना निर्माणपछि त्यस क्षेत्रमा पर्ने वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रतिवेदन तयारी गर्न क्षेत्र निर्धारणसम्बन्धी सूचना सार्वजनिक गरेको छ । 

कमलामाई विमानस्थल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र अहिले वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य भइरहेको प्राधिकरणका उपप्रबन्धक समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिनुप-यो, त्यसपछि विमानस्थल निर्माण कार्य सुरु हुने हो ।” 

कमलामाई विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न परामर्शदाताको जिम्मेवारी पाएको -याफ्ट कन्सल्ट्यान्ट प्रा.लि. त्रिपुरेश्वरका वातावरण इन्जिनियर अभिषेक बीसीले वातावरणीय प्रभावको अध्ययन सकिन छ महिना समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन मात्रै बाँकी रहेको छ ।

वातावरणीय अध्ययनका लागि पहिलो चरणमा क्षेत्र निर्धारण अध्ययन भइरहेको र क्षेत्र निर्धारण अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएपछि विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन गरिने उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणका अनुसार कमलामाई नगरपालिका–८ को करकरे र सिस्नेरीको बीचमा रहेको कमला नदीको बगरको ४५ दशमलव पाँच हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण हुनेछ । आन्तरिक हवाईजहाज उडान, अवतरण र सञ्चालनका लागि निर्माण गरिने उक्त विमानस्थलमा धावनमार्ग, ट्याक्सी मार्ग, एप्रोन, विमानस्थल टर्मिनल, कर्मचारी आवासलगायतका संरचना निर्माण हुनेछन् । 

कमलामाई नगरपालिका वातावरण शाखाका प्रमुख सागरकुमार ढकाल विमानस्थल निर्माण प्रक्रिया अघि बढेकोले जिल्लावासी उत्साहित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमानस्थल बन्यो भने साह्रै राम्रो हुन्छ । बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग त्यही ठाउँ हुँदै निर्माण भएको छ । तराईका जिल्ला, भारत र काठमाडौँसँग नजिक भएकाले विमानस्थल निर्माणको सम्भावना निकै राम्रो छ । सिस्नेरीमा विमानस्थल निर्माण भयो भने भारतीय पर्यटकसमेत आकर्षित हुनेछन् ।”

विमानस्थल निर्माणपछि सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लामा सुविधा पुग्ने उहाँको बुझाइ छ । एक हजार छ सय मिटर लामो र ३० मिटर चौडाइ भएको धावनमार्ग निर्माण गरिने जनाइएको छ । विमानस्थल निर्माण क्षेत्र सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट छ किलोमिटर दूरीको बीचमा बीपी राजमार्गसँग जोडिएको छ ।