अमृतप्रसाद पौडेल
म्याग्दी, असार ८ गते । म्याग्दीमा सुरु भएको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला खुला पुरुष भलिबल प्रतियोगिता म्याग्दी भलिबल कप २०८२ को पहिलो चरणको खेलमा तनहुँ र स्याङ्जा विजयी भएका छन् ।
आइतबार बिहान भएको पहिलो खेलमा स्याङ्जाले नवलपुरलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो । नवलपुरलाई स्याङ्जाले २५–२३, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै दोश्रो खेलमा मुस्ताङलाई १–३ सेटमा पराजित गर्दै तनहुँले आफ्नो मजबुत दावेदारी प्रस्तुत गरेको छ । तनहुँले १९-२५, २५–२३, २२–२५ र २२–२५ को सेटमा मुस्ताङलाई पराजित गरेको हो । लिग कम नकाउटका आधारमा सञ्चालित प्रतियोगितामा सहभागी टिमलाई दुईदुई टिमको समूह बनाएर समूह विजेता र उपविजेता क्वाटर फाइनल खेल्ने छन् । समूह 'ए' को विजेता 'सि' को उपविजेतासँग खेल्ने छ भने । 'बि' को विजेता समूह 'डि' को उपविजेतासँग खेल्ने छ । 'ए' को उपविजेता सि को विजेता र वि को उपविजेता 'डि' को विजेता सँग खेल्ने तालिका रहेको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता रहेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा जारी प्रतियोगितामा विजेता टिमले नगद दुई लाख, उपविजेताले नगद १ लाख तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच, पाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही तीनतीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।