काठमाडौँ, असार ८ गते । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता भएपछि ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद पाँच लाख ७५ हजार रुपियाँ, (क्याटागोरी विजेताका रुपमा ७५ हजार र ओभरअल विजेताका रुपमा पाँच लाख रुपियाँ) प्राप्त गर्नुभयो । उहाँलाई प्रधानमन्त्री केपि. शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु नै अमूल्य सम्पत्ति रहेको बताउँदै, निरोगी जीवन प्रवर्धनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । ‘‘आरोग्य जीवनका लागि सरकारदेखि समुदायसम्म सबैका आफ्नाआफ्नै भूमिका छन् । सबैले आफ्नाआफ्ना भूमिका निभाउनुपर्छ । नागरिकले स्वस्थ्य आचरण पालनामा ध्यान दिनुपर्छ ।’’ प्रधानमन्त्रीको भनाइ थियो ।
स्वस्थ्य जीवनका लागि शारीरिक र मानसिक दुवै अवस्था सन्तुलित हुन आवश्यक छ । महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले, यसप्रकारका प्रतियोगिताले सहरी जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।
‘‘रोग लागेपछि उपचार गर्ने अस्पताल बनाउनुभन्दा रोग लाग्न नदिन खेल मैदान र व्यायामशाला बनाउन आवश्यक छ ।’’ आयोजक वडाका अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘‘यस्ता पूर्वाधार र संरचना बनाउने हो भने स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेको खर्च घट्छ ।’’
प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो ।
७५ केजी. माथिको तौल समूहमा ६ जना खेलाडी हुनुहुन्थ्यो । यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिनुभएका महर्जन क्याटागोरी विजेताका रुपमा अन्तिम प्रतिस्पर्धामा जानुभएको थियो । ७५ केजीसम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर, ज्याठाका सुरेश मुनिकार, ७० केजीसम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ केजीसम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० केजीसम्मको तौल समूह भएका सात जना खेलाडीमा फिटनेस ग्यारेज, न्यूरोडका सुमित गिरी र ५५ केजीसम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता बन्नुभएको थियो ।
प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ठ पाँच छनोट हुनुभएको थियो । क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपियाँ, रजत पदक र ५० हजार रुपियाँ र कास्य पदक २५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर बडी बिल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस सङ्घको प्राविधिक सहयोग थियो ।
यो प्रतियोगिताले शारीरिक सुगठन खेलका लागि नयाँ आयाम थप गरेको छ । वर्ल्ड बडी बिल्डिङ् फेडेरेसनका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले वडाबाट राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुनु खेल क्षेत्रका लागि सुखद भएको प्रतिक्रिया दिनुभयो । श्रेष्ठका अनुसार विजेताहरुलाई प्रदान गरिएको पदकलाई काठमाडौँको संस्कृतिको विम्ब हो । यहाँ मनाइने जात्रामध्येको पाहाँचह्रे जात्राको रङ्ग र त्यहाँ प्रयोग गरिने खड्गलाई पदकमा विम्बित गरिएको छ । जात्राका समयमा वडा नम्बर २२ मा रहेको ओटु अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने निलो टोपी, टेबहाल अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने पहेँलो टोपी र कंकेश्वरी अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने रातो टोपीको रङ्ग मिसाएर पदकको रिबन निलो, रातो र पहेँलो ३ रङ्गको छ ।
यस्तै पदकको पछिल्लो भागमा राखिएका खड्गहरु टेबहाल र ओटु अजिमाका सङ्केतका रुपमा प्रयोग गरिएको छ । मेडलको अगाडिपट्टिको हर्ष मुद्रामा रहेको शारीरिक सुगठनको प्रतीक छ । प्रतीकले हात उठाएको छ । यसको माथि एउटा तारा छ । यसको अर्थ यो प्रतियोगिता पहिलो प्रतियोगिताको सङ्केत हो । लोगोको दायाँबायाँ धानको बाला छ । काठमाडौँको मुख्य बाली धान भएकोले यहाँको कृषि पेशालाई विम्बित गर्दै राखिएको हो । मेडल पाँच इञ्च गोलाइमा चार ग्राम तौलको छ ।
कार्यक्रममा शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडी तथा पाको उमेरसम्म पनि नियमित शारीरिक व्यायाम गर्ने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । यसरी सम्मानित हुनु हुने खेलाडी तथा खेल प्रवर्धकहरुमा सानुकाजी मानन्धर, रमेशनाथ खनाल, शिवलाल श्रेष्ठ, गोविन्द चित्रकार, उदय श्रेष्ठ, तीर्थ महर्जन, रत्नलाल महर्जन विजय कायस्थ, रविन्द्र कपाली, ज्ञानेन्द्र नकर्मी हुनुहुन्छ । त्यस अवसरमा ६८ वर्षको उमेरमा पनि नियमित शारीरिक व्यायाम गर्ने कृष्णसिंह शाहीलाई पनि सम्मानित गरिएको थियो ।