• ५ जेठ २०८२, सोमबार

कान दुख्ने समस्या र समाधानका उपाय

blog

काठमाडौँ, जेठ ५ गते । कानमा विभिन्न समस्या निम्तने गर्छन् । कान दुख्ने, चिलाउने, पिप जम्ने कानमा देखिने मुख्य समस्या हुन । वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले अस्पतालमा कान चिलाउने समस्या लिएर बिरामी आउने बताउनुहुन्छ । 

डा.श्रेष्ठले कान दुख्ने समस्या विभिन्न कारणले निम्तने बताउनुहुन्छ । उहाँले कानमा भाइरस वा ब्याक्ट्टेरियाका कारणले सङ्क्रमणको कारणले दुख्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कानमा तीन भाग हुने गर्छन् । बाहिरी र भित्री कानमा हुने विभिन्न कारणले भाइरस वा ब्याक्टेरियाका सङ्क्रमणले गर्दा कान दुख्ने समस्या निम्तने गर्छ ।” 

कानमा ढुस्सी लागेर पनि कान चिलाउने उहाँ बताउनुहुन्छ । कान धेरै कोट्यायो, धेरै कानको गुजी निकाल्यो वा तेल हाल्यो भने कानमा ढुक्सी पलाउने गर्छ । कानमा ढुसी पलायो भने इन्फेक्सन भएर कान चिलाउने दुख्ने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार कुनै बेला बाहिरी कानको नलीमा सङ्क्रमण भएमा पनि कान दुख्ने समस्या निम्तने गर्छ । कानमा समस्या निम्तने कारण कान सफा गर्दा, कान कोट्याएर कानेगुजी निकाल्दा कानको नलीमा चोट लागी सोही ठाउँमा सङ्क्रमण भई कानको नली सुनिएर कान दुख्ने डा.श्रेष्ठको भनाइ छ ।

डा.श्रेष्ठका अनुसार कुनै बेला कानको जालीको भित्र वा मध्ये भागमा पानी जम्ने समस्याले पनि कान दुख्ने समस्या निम्तने गर्छ । नाक र कानलाई जोड्ने नलीले राम्रोसँग कान गरेन भने पनि कान दुख्ने समस्या निम्तने गर्छ । 

अन्य रोगको कारणले पनि कान दुख्ने समस्या निम्तने गर्छ । टन्सिलमा इन्फेक्सन भएमा, थाइराइड सुनियो वा इन्फेक्सन भएमा, जिब्रोमा घाउँ वा इन्फेक्सन भएमा कानमा दुखाइको समस्या निम्तने डा.श्रेष्ठ बताउनुहुन्छ । 

घाँटीको भित्री भागमा समस्या भयो भने पनि कान दुख्ने गर्छ । कान भित्री भागमा हुने जोर्नी सुनियो वा समस्या भयो भने पनि कान वा कानको वरीपरी दुख्ने गर्छ । 

 कान दुखेमा विभिन्न घरेलु उपाय जस्तै कान दुख्दा तेल हाल्ने, तुलसीको पातको झोल लगायत विभिन्न जडीबुटीको झोल हाल्ने चलनले कान दुखाइको समस्या झन बढ्ने र अन्य समस्या निम्तने उहाँ बताउनुहुन्छ ।  

कानमा दुखाइ हुँदा चिकित्सकको सल्लाह बिना कुनै पनि घरेलु उपाय नअपनाउन उहाँको आग्रह छ । चिकित्सकका अनुसार कान दुख्दा तेल हाल्दा कानमा झन क्षति पुग्ने गर्छ । 

कानको गुजी ननिकाल्न सुझाव

चिकित्सकले कानको गुजी ननिकाल्न सुझाव छ । कानको गुजीले कानलाई सुरक्षित राख्न मद्दत गर्छ । गुजीले कानलाई स्वास्थ्य राख्न मद्दत गर्छ । कानमा धेरै गुजी जम्मा भएर कानै नसुन्ने अवस्था आएमा चिकित्सकको सल्लाहमा कानको गुजी निकाल्न उहाँको सुझाव छ ।  

कानमा धेरै गुजी जम्मा भएमा चिकित्सकले औषधी राखेर पानी वा मेसिनको माध्येबाट गुजी निकाल्न चिकित्सकको सुझाव छ ।कटन बड वा अन्य औजारको प्रयोग गरेर कानबाट गुजी झिक्दा कानमा चोट लाग्ने, जाली फुट्ने, इन्फेक्न हुने जस्ता समस्या निम्तने गर्छन् । कानको बाहिरी भाग सफा कपडाले सफा गर्न चिकित्सकको सुझाव छ । 

 कानमा धेरै दुखाइ भएमा चिकित्सकको सल्लाहमा औषधीको सेवन गर्न उहाँको आग्रह  छ । उहाँ भन्नुहुन्छ,“यदि कानमा दुखाइ भएमा जथाभाबी घरेलु उपचार गर्नुको सट्टा चिकित्सकको परामर्श लिनुपर्छ । चिकित्सकले दुखाइको कारण पत्ता लगाएर उपचार गर्छन् । ”

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।