• १६ भदौ २०८१, आइतबार

पाठ्यपुस्तक छपाइ : निजी मुद्रक संस्थालाई दिन माग

blog

जनक शिक्षा सामग्री केन्द्रमा छापिएका पाठ्यपुस्तक गोदामतर्फ ढुवानी गरिँदै । तस्बिर : विकास द्वारे

काठमाडौँ, जेठ २७ गते । पढाइ सुरु भएको महिना दिन बित्न लाग्दा पनि सामुदायिक विद्यालयमा पुस्तक अभावको समस्या सल्टेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ८० प्रतिशत पुस्तक छपाइ सकिएको दाबी गरेको छ । तर राजधानीकै विद्यालयमा समेत पुस्तक अभाव छ । 

पढाइ सुरु भएको लामो समयसम्म पनि पुस्तक अभाव हुने गरेको भन्दै संसद्का दुवै सदनमा सांसदहरूले सरकारको चर्को विरोध गर्नुभएको छ । हरेक वर्ष दोहोरिरहने यस्ता समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठोस पहल गर्न नसकेको उहाँहरूको आरोप छ ।  समयमै पुस्तक छपाइ गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्रलाई बन्द गरेर निजी मुद्रक संस्थालाई जिम्मेवारी दिनुपर्ने बिहीबार प्रतिनिधि सभामा सांसद नविना लामाले बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाले पनि पाठ्यपुस्तकको अभावको समस्यालाई सरकारले सम्बोधन गर्न नसकेको बताउनुभयो । राष्ट्रिय सभामा सांसद कमला पन्तले कर्णाली लगायतका ठाउँमा पाठ्यपुस्तक उपलब्ध गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

यसैबीच पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले कक्षा ६ र ८ का विद्यार्थीले अझै पनि पुस्तक नपाएको बताउँदै भन्नुभयो, “अन्य कक्षाका पुस्तक करिब करिब सबै विद्यार्थीले पाएका छन् । तर छ र आठ कक्षाका पुस्तक कहिले छापिन्छन् र विद्यार्थीको हातमा पर्छ, यकिन छैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्र आचार्यले भने करिब ८० प्रतिशत पुस्तकको छपाइ सकिएको दाबी गर्नुभयो । उहाँका अनुसार अर्को वर्ष पाठ्यक्रम परिवर्तन हुने कक्षा ५, ८ र १० का पाठ्यपुस्तक मात्रै छाप्न बाँकी छ । मुलुकभर कहाँ कहाँ पुस्तक अभाव छ र अब कति विद्यार्थीलाई पुस्तक चाहिन्छ भन्ने यकिन तथ्याङ्क सङ्कलनका लागि प्रादेशिक कार्यालयलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । बजारमा पुस्तक अभाव चर्किइरहने तर आफ्नो गोदाममा भएको पुस्तक नबिक्ने समस्या देखिएपछि सूचना सङ्कलन गर्न लगाइएको हो ।

उहाँले भन्नुभयो, “यस विषयमा प्रदेश कार्यालयलाई जानकारी गराउनुहोला भनेका छौँ । उहाँहरूले स्थानीय बिक्रेतामार्फत विवरण सङ्कलन गरेर पठाउनुहुन्छ र सोहीअनुसार छापेर पठाउँछौँ ।”

तर यसबीचमा पनि अन्य कक्षाका पुस्तक छपाइलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । गत वर्ष पनि विद्यालय तहका कक्षा ४, ७ र ९ का पाठ्यक्रम परिवर्तन भएको थियो । तर त्यतिखेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिएको तथ्याङ्कलाई आधार मानेर पुस्तक छाप्दा झण्डै डेढ लाख थान पुस्तक नबिकेको जनक शिक्षाले जनाएको छ । आचार्यले भन्नुभयो, “त्यसबाट मात्रै आठ दस करोड रुपियाँ घाटा लाग्यो । यसपटक पनि त्यस्तो नहोस् भनेर पाठ्यपुस्तक छपाइमा संयम अपनाएका हौँ ।”


Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।