• १३ वैशाख २०८२, शनिबार

एक सयको कोष, तीन लाखको बिमा

blog

वडाध्यक्ष आसवीर गुरुङलाई बिमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख १३ गते । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घले गाउँवासीले आफ्नै कोषबाट स्वास्थ्य बिमा लागु गरेका छन् । 

सरकारले नागरिका लागि पाँच सदस्य बराबर एक लाख रुपियाँसम्मको स्वास्थ्य बिमा उपलब्ध गराए पनि घले गाउँवासीले आफ्नो छुट्टै स्वास्थ्य बिमा लागु गरेका हुन् । पर्यटन व्यवसायबाट सुखीगाउँ घोषणा गरेका स्थानीयले व्यावसायिक पर्यटनको २५ वर्ष पुगेको उपलक्ष्यमा प्रतिसदस्य तीन लाख रुपियाँसम्मको स्वास्थ्य बिमा लागु गरेका हुन् । 

पर्यटन रजत वर्षको अवसरमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट क्व्होँलासोथार गाउँपालिका–३ घलेगाउँका वडाध्यक्ष आसवीर गुरुङलाई बिमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको छ ।

सरकारको स्वास्थ्य बिमा झन्झटिलो भएको र चाहेको अस्पतालमा उपचार गराउन नसकिने भएकाले आफ्नो छुट्टै स्वास्थ्य बिमा सञ्चालन गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । उहाँका अनुसार पर्यटन गतिविधिमा संलग्न भएका सबै घरपरिवारका सदस्यहरू बिमामा सहभागी हुने छन् । 

“सरकारको स्वास्थ्य बिमामा सीमित रोगको उपचार हुन्छ । अस्पतालमा औषधी भनेको जस्तो पाइँदैन । राम्रो अस्पतालमा जान झन्झट हुन्छ”, घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो, “आफ्नै बिमा भएपछि आफूले चाहेको अस्पतालमा पुगेर उपचार गर्न पाइयो । सरकारीमा चित्त नबुझे नीजिमा जान पाइयो ।” 

बिमामा जुनसुकै रोगको पनि उपचार गराउँदा बढीमा तीन लाख रुपियाँसम्मको उपचार गर्न सकिने घलेले बताउनुभयो । बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन मासिक एक सय रुपियाँ बिमा कोषमा बचत गर्नुपर्ने नियम राखिएको छ । थप एक सय रुपियाँ पर्यटन समितिले राख्ने व्यवस्था गरिएको छ । 

“पहिला पहिला रोग लाग्यो भने घरमै औषधीमुलो गरेर बस्नु  पर्थ्याे । अस्पताल जानुपर्‍याे भने साहु जिम्मलसँग ऋण लिनुपर्ने बाध्यता थियो” वडाअध्यक्ष आशवीर घलेले भन्नुभयो, “गाउँको बिमा लागु भएपछि स्वास्थ्यको चिन्ता भएन । गाउँमै सहकारी छ, ऋणको लागि पनि समस्या हुँदैन ।” 

२५ वर्षको घलेगाउँको पर्यटन यात्राले घलेगाउँको स्वरूप मात्र फेरिको छैन, गाउँलेको जीवनस्तर पनि फेरिएको छ । गाउँमै बसेर वर्षमा छ–सात लाख कमाउने भएका छन् । समुद्री सतहदेखि दुई हजार एक सय ७० मिटर उचाइमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ मा अवस्थित घले गाउँमा एक सय ३० घर छन् । विक समुदायले सञ्चालन गरेको दुईसहित अहिले ४६ घरमा होमस्टे छ । पाँच वटा होटल सञ्चालनमा छन् । अमेरिका, बेलायत गएका समेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् ।

घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् । गाउँमात्र घुमेर फर्कनेको सङ्ख्या ६ लाखको हाराहारीमा छ । पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् ।