• २२ कात्तिक २०८२, शनिबार

मल किन्न थप दस अर्ब माग

blog

काठमाडौँ, कात्तिक २२ गते । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि थप १० अर्ब रुपियाँ बजेट माग गरेको छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखेकोमा विनियोजन गरिएको बजेटले अपुग हुने भएपछि अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपियाँ माग गरिएको मन्त्रालयले जनाएको छ । 

चालु आवमा रासायनिक मल किन्न २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । विनियोजन गरिएको बजेटले चार लाख ७१ हजार मेट्रिक टन मात्र मल खरिद गर्न पुग्ने भएकाले थप बजेट माग गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले कोटा अनुसार खरिद गर्न बजेट अपुग हुुने हुँदा थप रकम माग गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य २० देखि २५ प्रतिशतले बढेकाले पनि लक्ष्य अनुसार मल खरिद गर्न थप बजेट आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । 

मन्त्रालयले हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन मलका लागि टेन्डर आह्वान गरिएको जनाएको छ । बाँकी मल टेन्डर गर्न थप बजेट आवश्यक पर्ने भएकाले पनि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो । छ लाख मेट्रिक टन मल आयात गर्न चालु आवमा विनियोजन गरेको बजेटसँगै थप १० अर्ब रुपियाँ आवश्यक पर्ने देखिएको मन्त्रालयले जनाएको छ । 

हिउँदे बालीका लागि पर्याप्त

यसैबिच हिउँदे बालीका लागि भने रासायनिक मल पर्याप्त रहेकाले अभाव नरहेको मन्त्रालयले जनाएको छ । हिउँदे बालीका लागि डिएपी र युरिया गरेर एक लाख ८० हजार मेट्रिक मल खपत हुने मन्त्रालयले जनाएको छ । 

हिउँदे बाली उखु, तोरी, गहुँ, मकै दलहन, तेलहन आलुलगायतका तरकारी बालीमा रासायनिक मलको प्रयोग हुने गर्छ । चालु आवको कात्तिक दोस्रो सातासम्म दुई लाख १८ हजार मेट्रिक रासायनिक मल आयात भइसकेको मन्त्रालयले जनाएको छ । 

साउनदेखि १६ कात्तिकसम्म युरिया, डिएपी, पोटास गरेर दुई लाख १८ हजार ६३३ मेट्रिक टन मल आयात भएको मन्त्रालयले जनाएको छ । 

यस अवधिमा सबैभन्दा धेरै डिएपी एक लाख ४१ हजार ५७५ मेट्रिक टन, युरिया ६८ हजार ९७० मेट्रिक टन र पोटास सात हजार ४८६ मेट्रिक टन मल आयात भएको मन्त्रालयले जनाएको छ ।  

साल्ट टे«डिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडसँग एक लाख २० हजार मेट्रिक टन मल मौज्दात रहेको छ । थप ९० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डिएपी बाटोमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडले हालसम्म तीन लाख ५९ हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिसकेको जनाएको छ । थप ६१ हजार मेट्रिक टन मल टेन्डर गर्न बाँकी रहेको कर्पोरेसनले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त मलको मौज्दात रहेकाले अभाव नभएको जानकारी दिनुभयो । मलको आयात नियमित भइरहेको र बजारमा माग धेरै नभएकाले पनि अभाव नभएको उहाँको भनाइ छ । 

सरकारले प्रत्येक वर्ष रासायनिक मल खरिदका लागि ठुलो रकम छुट्याए पनि माग अनुसार आपूर्ति नहुँदा धान बालीका लागि किसानले बर्सेनि अभाव खेप्ने गरेका छन् । मुलुकमा वार्षिक सात लाख मेट्रिक टन मल आवश्यक पर्ने बताइएको छ ।