काठमाडौँ, वैशाख १२ गते। नेपालमा औलोको जोखिम कायम नै छ। सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका बिरामीको सङ्ख्यालाई शून्यमा पुर्याउने र सो स्थितिलाई कायम राख्ने लक्ष्य लिएको भए पनि यसको जोखिम कायम नै छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७९१ जनामा औलो पुष्टि भएको छ।
पुष्टि भएका मध्ये सबै भन्दा बढी आयातित रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा ७६७ आयातित रहेका छन् भने २४ वटा स्थानीय केस पुष्टि भएका हुन्। गत वर्ष ५२८ जनामा औलो पुष्टि भएको थियो। जसमध्ये ५०५ जना आयातित र २३ जना स्थानीय थिए।
महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहाल खुला सीमा र हिमाली जिल्लामा औलोका बिरामी भेटिएकाले औलो नियन्त्रणमा चुनौती थपिएको बताउनुुहुन्छ।
औलो रणनीतिक योजना २०२५/२०३० अनुसार नेपाललाई सन् २०३० सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य रहेको छ। सोही अनुसार औलो निवारण लक्षित कार्यक्रमहरू सङ्घ, प्रदेश र स्थानीय स्तरमा सञ्चालन हुँदै आएको डा.दाहालको भनाइ छ।
औलो कस्तो रोग हो ?
औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने इडिसिडीका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा मुख्यतया औलाको दुई किसिमका परजिवी प्याज्मोडियम फास्लिपारम र प्याज्मोडियम भाइभेक्स हुन्छन् । प्याज्मोडियम फास्लिपारमले गराउने औलो रोग जटिल र जोखिमयुक्त हुने उहाँको भनाइ छ।
डा. दाहालका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, ज्वरो आउनु, वान्ता हुनु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, अत्याधिक जाडो हुनु, शरीरमा रगतको मात्र कम हुनु औलोका मुख्य लक्षण हुन्।
गर्भवती, पाँच वर्ष मुनिका बालबालिका औलोको बढी जोखिममा हुने उहाँ बताउनुहुन्छ। लामखुट्टेको टोकाइबाट बच्नुनै औलो रोथामको एकमात्र उपाय हो।
लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउन उहाँको आग्रह छ। औलो हुनबाट बच्न झुल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे छिर्न नदिने, लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने मलम वा धुपको प्रयोग गर्न चिकित्सकको सुझाव छ।