• १९ असार २०८१, बुधबार

आइतबारको बिदा खारेज

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २४ गते । हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । 

यसअघि सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरी हप्तामा दुुई दिन पूरा बिदा दिने र सोमबारदेखि शुक्रबारसम्म कार्यालय समयमा पूरा काम गर्ने निर्णय गरेको थियो । त्यसैगरी सरकारले नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले डीआईजीहरू उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले नेपाल प्रहरीमा रिक्त पाँच एआईजी दरबन्दीका लागि करिब दुई साताअघि बढुवा सिफारिस गरेको थियो ।

यसैबीच नेपाली सेनाले तीन जना सहायकरथीलाई उपरथी पदमा बढुवा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहायकरथी दीपक बानियाँ, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई एक तह बढुवा गरेको हो । यसैगरी सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।