• ९ वैशाख २०८१, आइतबार

विश्व वातावरण दिवस

धुलो, धुँवा र वायु प्रदूषण: वातावरण विनाशका मुख्य कारक

blog

काठमाडौं, जेठ २२ गते । सधैँ झै यस वर्ष पनि विश्वभर ‘विश्व वातावरण दिवस’ मनाइँदैछ । विद्यमान वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वातावरण दिवस’ मनाइन्छ । यो दिवस सन् १९७३ जुन ५ देखि अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ मा मनाइने गरिन्छ । 

यो दिवस वातावरणसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्बन्धित विभिन्न विषयलाई बृहत्तर सम्बोधन गरी मानव तथा वातावरणबीचको सन्तुलनलाई कायम गर्न आवश्यक योजना बनाउनुका साथै सोसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दिनको रूपमा लिइन्छ । 


हरेक वर्षको ‘विश्व वातावरण दिवस’ को दिन विश्वभरका विभिन्न राष्ट्र तथा सो क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले योजनाबद्ध विशेष नारा तय गरी सोहीसँग सम्बन्धित चुनौतीहरुको अवगत गराउने, समाधानका उपायहरू कार्यान्वयन गर्न पहल गर्ने तथा सामुदायिकरूपमा जनचेतनामूलक कार्यहरू गर्ने गर्दछन् । त्यसैले, यस दिवसले विश्वमा देखापरेका वातावरण संरक्षणसम्बन्धी चुनौतीबारे जागरुकता प्रदान गर्न, अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा सामुदायिक तहका नीति निर्माण गरी कार्यान्वयन गर्न विशेष भूमिका खेल्दछ ।

प्रकृतिमैत्री जीवनयापन 

नेपालको संविधानले निर्दिष्ट गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारलाई दृष्टिगत गर्दै नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले यस वर्षको ‘विश्व वातावरण दिवस’ लाई भव्य तथा सभ्य बनाउन अनुरोध गर्दै यस वर्षको नारालाई स्थानीयकरण गरी ‘पृथ्वीको संरक्षण ः दीगो प्रकृतिमैत्री जीवनयापन’ तय गरेको छ । 

मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्वअन्तर्गत पर्दछ । वातावरणले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापसँगको अन्तरसम्बन्धलाई जनाउँछ । 


वायुप्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या मुख्य छन् । यी समस्याको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक छ । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको  व्यवस्थापनको  विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । 

नेपालमा वातावरणीय समस्या न्यूनीकरण गर्नका लागि वातावरणीय मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था छ । जल, वायु, जमिन र ध्वनि प्रदूषणलगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा काम गर्न वातावरण विभाग स्थापना गरिएको छ । 

कार्बन उत्सर्जनले बढी प्रदूषण: महानिर्देशक अर्याल

वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्यालका अनुसार, वातावरण प्रदूषण बहुआयामिक विषय हो । पृथ्वी, आकाश, जल, वायुलगायतको प्रदूषण हुँदा हामीले त्यसलाई वातावरण प्रदूषण भन्ने गर्छौँ । काठमाडौं उपत्यकासहित नेपालमा मुख्यरूपमा वायुको अत्यधिक मात्रामा प्रदूषण छ । यसलाई सामान्यतया वायु गुणस्तरमा धुलोका कण २.५ माइक्रोग्रामभन्दा साना कणहरू जनस्वस्थ्यका लागि ज्यादै हानिकारक मानिन्छ । ती कणहरू मानिसले श्वास लिँदा सिधै फोक्सोमा पुग्छ । ठूला कणहरूलाई शरीरले आफ्नै हिसाबले फाल्न सक्छ । 


वायुको गुणस्तर मापन गर्नका लागि वातावरण विभागले देशका २६ वटा स्थानमा उपकरण जडान गरेका छौं । त्यहाँबाट नियमितरूपमा तथ्याङ्कहरू प्राप्त गरिन्छ । काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित छ । नेपालका धेरै शहरमा जनस्वास्थ्यका दृष्टिकोणले वायु स्वच्छ छैन । संसारभरि नै वायु प्रदूषणको समस्या बढ्दै गएको अवस्था छ । काठमाडौं मात्र होइन अन्य शहर, तराईका धेरै क्षेत्रमा वायु प्रदूषणको समस्या छ । 

नेपालले अत्यधिक मात्रामा पेट्रोलियम पदार्थको प्रयोग गरेको छ । त्यसैगरी, यत्रतत्र अव्यवस्थित तरिकाले निर्माणका कार्यहरू भइरहेका छन् । धूलो र धुँवाले वायु बढी प्रद्रषित हुने गरेको छ । त्यस्तै, पानी प्रदूषणको समस्या उत्तिकै बढ्दैछ । नेपालमा धेरै उद्योग नभए पनि ती उद्योगबाट सिर्जित झोल राम्रोसँग प्रशोधन नगरी बाहिर पठाइन्छ र त्यो पानीमा मिसिँदा पनि वातावरण हुन्छ । काठमाडौं उपत्यकासहितका ठूला शहरबाट निस्कने ढललाई वैज्ञानिक हिसाबले प्रशोधन गर्न सकेका छैनौं । त्यसले पानी प्रदूषित हुने गरेको छ । 

वातावरण विभागले नियमितरुपमा वायु प्रदूषण मापन गरेर त्यसको विश्लेषण गरेर देशभरको वायुको अवस्था कस्तो छ भनेर वास्तविक तथ्याङ्क सार्वजनिक गर्दछ । त्यसलार्र्र्र्र्ई आधार मानेर कहिले कुन समयमा घर बाहिर निस्कनेदेखि विद्यालय बन्द गर्नसम्मका सुझाव सरकारलाई दिने गरिएको छ । 

वातावरण कानुन अनुसार, सरोकारवाला निकायले वातावरणका मापदण्ड पालना गर्नुपर्ने हुन्छ, त्यसको पालना भए नभएको अनुगमन विभागले गर्दै आएको छ । आवश्यकता अनुसार, केही निर्देशन दिने काम पनि गर्दै आएको छ । 

विभागले अहिले इँटा उद्योगबाट निस्कने धुवाबाट कसरी बच्न सकिन्छ भनेर अध्ययन भइरहेको छ । यो अत्यावश्यक उद्योग पनि हो र यसलाई रोक्न पनि सकिन्न । कोइलाको मात्रा घटाएर बिग्रेडको प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ । यो सकारात्मकरूपमा अगाडि बढेको छ । इँटा पोल्ने आकारमा बिग्रेड निकाल्न सकेको खण्डमा वायु प्रदूषणलाई निकै कम गर्न सकिन्छ । 

त्यसैगरी, वातावरणमैत्री पार्क निर्माण गर्ने, विद्यालयहरूसँग मिलेर काम गर्दै आएका छौं । साथै स्थानीय सरकारसँग सहकार्य गरेर वातावरण स्वच्छ राख्ने कार्यलाई अगाडि बढाउन चाहेका छौं । वातावरण विभागकै पुनर्संरचना गर्नुपर्ने अवस्था छ, विभागलाई पर्याप्त अधिकार दिइएको अवस्था छैन । 

एक करोड बिरुवा रोप्छौं : महानिर्देशक डा. केसी

वन विभागका महानिर्देशक डा. राजेन्द्र केसीले वातावरण स्वच्छ राख्न र हरियाली कायम गर्न  विभागले हरेक वर्ष एक करोड बिरुवा रोप्ने योजना रहेको बताउनुभयो । वातावरण दिवसकै दिन साङ्केतिकरुपमा आज विभिन्न ठाउँमा वृक्षरोपण गरी त्यसको सुरुवात गरिने उहाँले जानकारी दिनुभयो । 

वन विभागको मुख्य काम नै वातावरण जोगाउने हो र वन जागाउने भनेको नै वातावरण जोगाउने  हो । वृक्षरोपण गर्नुका दुई कारण छन्, हरियाली बढाउने र प्रदूषण घटाउने । यसका लागि सामुदायिक वनहरूलाई सशक्तिकीरण गरिएको छ । वन विभागले हरियाली जोगाउन वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार मिलेर कार्यक्रम अगाडि सारेको छ । हरेक वर्ष वन विभाग र वन कार्यालयहरूले पनि वृक्षरोपण गर्छन् । 


वातावरण प्रदूषणका मुख्य कारण के हुन् भनी महानिर्देशक केसीसँग राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘शहरीकरण र सवारी साधनको तीव्र वृद्धि हुनु, सवारी साधनले फाल्ने धुँवा, घर घरबाट निस्कने फोहोर र औद्योगिक क्षेत्रबाट निस्कने फोहोर मुख्य समस्या रहेका छन् ।’’

नेपाल विविधतामा धनी 

देशको कुल भू-भागको ४४.७४ प्रतिशत क्षेत्र वनले ढाकेको छ । क्षेत्रफलको हिसाबले सानो देश भए पनि भौगोलिक वनावट, उचाइ तथा हावापानीको विविधतामा अत्यन्त धनी छ । जैविक विविधता देशको समृद्धिसँग पनि गाँसिएको छ । 

वन जैविक विविधताको ठूलो भण्डार पनि हो । पछिल्लो समय ४० माइक्रोनभन्दा सानो प्लास्टिक झोलालाई नेपाल सरकारले प्रयोग गर्न रोक लगाइएको छ । त्यसलाई प्रभावकारीरूपमा अगाडि बढाउनु जरुरी छ । 

जलवायु अनुकूलन कृषि प्रणाली 

नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि, महासन्धिको पक्षधर राष्ट्रको हैसियतले तीनको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारको साथै विभिन्न संघ संस्थाहरुले पनि भूमिका खेलेका छन् । त्यस्तै, के.टि.के बेल्टले पूर्वी नेपालका पाँच जिल्लामा सामुदायिक सिकाइथलोको स्थापना, दिगो जीविकोपार्जन तथा वातावरणीय शिक्षामार्फत विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवालासँगको सहकार्य तथा समन्वयमा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । 

यसरी स्थापना गरिएका सामुदायिक सिकाइथलोहरुले त्यस स्थानमा भएका वातावरणीय चुनौतिलाई पहिचान गर्दै दिगो जीविकोपार्जन र वातावरणीय शिक्षामार्फत सो स्थान तथा वरपरको वातावरण  संरक्षण गर्ने गरी स्थापाना गरिएको छ । 


त्यसैले सिकाइ थलोहरुबाट त्यस स्थान तथा वरपरको जैविक विविधता र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कार्यहरू सञ्चालन हुनुको साथै सो ठाउँमा रहेका प्रकृतिमैत्री दिगो जीविकोपार्जनका माध्यमहरूको उपयोग गरिने गरिएको छ । जस्तै, जलवायु अनुकूलन कृषि प्रणाली, जैविक कृषि, नर्सरी स्थापना, जडिबुटी खेती, मिचाहा वनस्पति व्यवस्थापन, पर्यापर्यटन आदि विषयमा समेत ज्ञान आदानप्रदान गर्न सकिने छ । सम्बन्धित सिकाइ थलोहरुले जलवायु परिवर्तनले कृषकको जीवनयापनमा पार्ने नकारात्मक असरलाई कम गर्ने अपेक्षा गरिएको छ ।

नेपालका संरक्षित क्षेत्रहरु

हालसम्म स्थापना गरिएका १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र, र १३ मध्यवर्तीक्षेत्रहरु पनि वातावरण संरक्षणका लागि नेपाल सरकारले गरेका केही कार्यहरुमध्ये पर्दछन् । यी संरक्षित क्षेत्रहरुले नेपालको कूल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेका छन्, जसले प्रभावकारी व्यवस्थापनमार्फत वन्यवन्तु, पारिस्थिकीय प्रणाली र प्राकृतिक स्रोतको संरक्षण गर्ने नेपाल सरकारको उद्देश्यलाई टेवा पुर्याउँदछन् । 

फायल तस्बिर 


Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।