• २० चैत २०८१, बुधबार

स्ववियु निर्वाचन : मतदाताभन्दा गैरमतदाताको भिड

blog

तिलाकर्णाली बहुमुखी क्याम्पसमा मतदाताभन्दा नेताको भिड । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत १८ गते ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । निर्वाचनमा विद्यार्थीको भिड हुनु पर्नेमा गैरमतदाता अर्थात विभिन्न राजनीति दलका नेताहरूको भिड लागेको छ । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पस ताडीमा मतदाताभन्दा गैरमतदाताको भिड लागेको छ ।

आफ्नो मातहतका विद्यार्थी सङ्गठनका नेताको प्रचारका लागि राजनीति दलका जिम्मेवार नेताको बाक्लो सहभागिता रहेको छ । स्ववियु निर्वाचनस्थलमा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जीवन बुढा, जिल्ला अध्यक्ष डम्बरबहादुर शाही, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहं लगायतका नेता भोट माग्न व्यस्त छन् ।

उता नेकपा (एमाले)को सङ्गठनलाई भोट माग्न पूर्वमन्त्री कुर्मराज शाही, एमाले जिल्ला अध्यक्ष तुलाराज मल्ल, पूर्व अध्यक्ष जसिप्रसाद पाण्डे, उपाध्यक्ष दयाराम सिम्खडा लगायत नेताहरु निर्वाचन स्थलमा रहेका छन् । नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाही, जिल्ला सभापति अम्मबहादुर शाही लगायतका नेता पनि निर्वाचन स्थलमै बिहानैदेखि दौडधुप गरिरहेका छन् ।

तिलाकर्णाली बहुमुखी क्याम्पसमा जम्मा मतदाता सङ्ख्या एक सय ४५ जना छ । तर क्याम्पसको मैदान नेता कार्यकर्ताले भरिभराउ भएको छ । एक सय एक जना महिला र ४४ जना पुरुष मतदाता रहेको क्याम्पसमा मतदाताभन्दा गैरमतदाता धेरै हुनुले निर्वाचनमा मतदाताले बिबेग प्रयोग गर्न नपाउने निश्चित छ ।

नागरिक अगुना हिम्मत जंग मल्लले स्ववियु निर्वाचन विद्याथी बिचभन्दा पनि पार्टीका नेताबिचको प्रतिस्पर्धा जस्तै भएको बताउनुभयो । राति होटलमा थुनेर राख्ने अनि गाडीमा नेताको घेराका बिचमा विद्यार्थीलाई ल्याएर गरिने मतदानले खासै शैक्षिक गुणस्तर सुधारमा केही महत्त्व नराख्ने बताउनुभयो ।

मल्लले दलिय चक्रभ्यु तोड्का लागि दलभन्दा बाहिरको उम्मेदवार आफु लगायत केही व्यक्तिको पहलमा उठाए पनि विद्यार्थीलाई थुनेर राखेका कारणले परिणाम सोचे जस्तो आउन कठिन भएको बताउनुभयो । तिलाकर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तीकारी लगायतको राविसङ्घसहित एक गठबन्धन छ भने अनेरास्ववियु, नेविसङ्घको एक गठबन्धन गरी दुई वटा समूह छ भने गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । 

निर्वाचन समितिका एक सदस्यले विद्यार्थीले स्वविवेक पुगाएको खण्डमा र प्रचार शैली हेर्दा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले चुनौती दिएको सुनाउनुभयो । शाहीसहित कांग्रेस एमालेका विद्यार्थी सङ्गठनबाट दिपा शाही माओवादी केन्द्र राप्रपा, नेकपा एसबाट हिक्मत सिहं चुनावी प्रतिस्पर्धामा छन् ।