आधुनिक जीवनशैलीले मानिसको दैनिकी धेरै सहज भए पनि स्वास्थ्यका चुनौती पनि साथसाथै थपिएका छन् । आधुनिक जीवनशैलीमा अस्वस्थ खानपान, व्यायामको कमी र मानसिक तनाव सहयात्री जस्तै भएको देखिन्छ ।
सरल जीवनशैलीसँगै घरमा भएका जडीबुटीले स्वास्थ्यलाभ लिने दिन अब उहिलेको जस्तै भएको छ । नवजीवनशैलीमा असाध्य रोगहरू घर घरमा पुगेका छन् । मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, क्यान्सरका रोगीको चाप अस्पतालमा धेरै नै बढेको छ । हाल नेपाल सरकारले समेत असाध्य रोगलाई एक चुनौतीका रूपमा स्वीकार गरेको छ र विश्व स्वास्थ्य सङ्गठनको अभियानमा सरिक भएको छ ।
हाम्रो शरीर ठीक छ भने सबै कुरा राम्रो हुन्छ । यदि शरीर कमजोर भयो भने भौतिक सुखसयलको कुनै अर्थ रहँदैन । जीवनमा सफलता चाहने हो भने आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क हेर्दा हरेक वर्ष दीर्घरोगका बिरामी बढिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा मधुमेहका छ लाख ९९ हजार ८२६, विभिन्न किसिमका क्यान्सरका ३३ हजार ४२२, सिओपिडी र कार्डियोभास्कुलर समस्याका तीन लाख ५८ हजार ९१३ जना नयाँ रोगी देखिए । त्यसको अघिल्लो आवमा मधुमेहका पाँच लाख ७२ हजार ८१५, क्यान्सरका २७ हजार ४५३ तथा सिओपिडी र कार्डियोभास्कुलर समस्याका पाँच लाख ५७ हजार ३७४ जना रोगी देखिएका थिए । यो दरले असाध्य रोग नेपालमा चुनौती बन्दै गएको देखिन्छ ।
हामीले स्वस्थ जीवन जिउनका लागि सन्तुलित आहार, पर्याप्त विश्राम र तनावरहित दैनिकीका साथै हरेक दिन एक घण्टा जति कुनै न कुनै किसिमको शारीरिक व्यायाम गर्नु जरुरी छ । वास्तवमा निष्क्रिय जीवन जिउनेलाई क्यान्सर मात्र हैन अन्य रोग पनि लाग्ने प्रबल सम्भावना रहन्छ । मुटु तथा रक्तनलीका रोग, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, हड्डी खिइने, मिर्गौलाको पत्थरी, ठूलो आन्द्राको क्यान्सर, मानसिक तनाव, भय र उदासीनता, अजीर्णता, अनिद्रा जस्ता समस्या निष्क्रिय तथा अस्वस्थ खानपान भएका मानिसलाई लाग्ने सम्भावना उच्च रहन्छ ।
बढ्दो शहरीकरण, भोगविलास र मन बहलाउने सामग्रीको प्रचुर उपलब्धता, सहज यातायात, सुविधा सम्पन्नता, कुर्सीमै बसेर गर्नुपर्ने कार्य जस्ता दैनिकीले हाम्रो जीवनलाई जीर्ण बनाइरहेको छ । त्यसमाथि अस्वस्थ वा पत्रु खानपिनले आगोमा घिउ थप्ने काम गर्छ । यसैले हामी देख्न सक्छौँ अचेल हाम्रो देशमा पनि हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, युरिक एसिड, ढाड दुख्ने, हड्डी खिइने र नशा च्यापिने रोग घर घरको समस्या बन्दै गएका छन् ।
यस कारण स्वस्थ जीवनका लागि जीवनशैली परिवर्तन पहिलो शर्त हो । बिहान अलि छिटो छिटो हिँड्ने, दौडने, योग गर्न वा अन्य खालका व्यायाम गर्ने हो भने पनि शरीरलाई हामी धेरै हदसम्म ठीक राख्न सक्छौँ । हामीले खलखल्ती पसिना आउने तथा मुटु र श्वासप्रश्वासको गति बढ्ने गरी व्यायाम गर्नु पर्दछ ।
हामीले बुझ्नु पर्दछ मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । अस्वस्थ जीवनशैलीको नतिजाले मुटुको रोग निम्त्याउँछ । आधुनिक युगमा व्यस्त जीवन, महìवाकाङ्क्षा, भोजभतेर, कम्प्युटर र टेलिभिजनको अत्यधिक प्रयोग, मानसिक तनाव तथा पैसा कमाउने होडमा लागिरहनु मुख्यतया मुटुरोग बढ्नुका प्रमुख कारण हुन् ।
अध्ययनले समेत देखाएको छ सबै खालका मुटुका रोगको ७५ प्रतिशत र हृदयाघातसँग सम्बन्धित मुटु रोगको ९० प्रतिशत मामिलामा अस्वस्थ जीवनशैली दोषी देखिएको छ । यस कारण जीवनशैलीलाई व्यवस्थित र स्वस्थ राख्न सकिएमा मुटुका धेरैजसो रोगबाट बच्न सकिन्छ ।
जीवनशैलीलाई हामी तीन पक्षमा राखेर हेर्न सक्छौँ, आहार, विहार र विचार । सुत्ने, उठ्ने, खाने, पिउने, बानी बेहोरा, सोचाइ, दैनिक कार्य आदि सबै जीवनशैलीभित्र पर्छन् ।
मुटुमा रोग लाग्ने प्रमुख कारण पत्ता लगाउन गरिएको एक विश्वस्तरीय अध्ययनको नतिजाले मुटुरोग लाग्ने नौ वटा प्रमुख कारण औंल्याएको छ । ती हुन् धुमपान, मोटोपना, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, उच्च रक्तचाप, व्यायामको कमी, फलफूल र हरियो सागपात कम खानु, मानसिक तनाव र वंशाणुगत ।
अस्वस्थ जीवनशैलीले नजिकको सम्बन्ध मधुमेहसँग राख्दछ र मधुमेहको सम्बन्ध मुटु रोगसँग पनि हुन्छ । मधुमेहले मस्तिष्कघात, मिर्गौला विकारसमेत गराउन सक्छ । नेपालमा मधुमेहका बिरामीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको कुरा माथि नै उल्लेख भइसक्यो । निष्क्रिय जीवन, एकै पटकमा पेट फुट्ने गरी खाना खानु, खाना खाएर लामो समय आराम गर्नु वा सुत्नु, मानसिक तनाव, गुलियो खानामा लोभिनु, खानामा सागपात र रेसायुक्त तत्व कम हुनु, राति अबेरसम्म नसुत्नु, व्यायाम नगर्नु जस्ता अनेक कारण छन् मधुमेह निम्तनुका । वास्तवमा मधुमेह नै अनेक खालका स्वास्थ्य समस्याको कारण बन्दछ ।
–युवामञ्च