काठमाडौँ, चैत १३ गते। प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार स्थायी घर नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ भइ हाल काठमाडौँ महानगरपालिका–१४, कलंकी बस्ने चित्रकारलाई काठमाडौँको आनन्दकुटीस्थित एक व्यक्तिले सुनका गरगहनाहरु बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ पक्राउ गरिएको हो।
सुनजस्तो देखिने नौ गेडी माला ११ थान, सिङ्गल गेडी माला सात थान, क्रिष्टल माला १३ थान, मङ्गलसुत्र छ थान, सोली गेडी माला एक थान, धातु जडित टप तीन जोर, तिलहरी एक थान, विभिन्न डिजाइनका क्लिप नौ थान, तीन गेडी मोती माला तीन थान, मोती लकेट माला एक थान, मोतीहार एक थान, औंठी २४ थान, स–साना फुली १९ थान र धातु जडित स–साना गेडी तीन थान गरी जम्मा एक सय दुई थान विभिन्न धातुजति गरगहना बरामद गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
प्र्रहरीले चित्रकारलाई बरामद गरिएका दसीसहित थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।