राधाकृष्ण डुम्रे
वालिङ, चैत ४ गते । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजीनामा दिएका छन् ।
सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रूपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियु निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनीहरूको राजिनामा पत्रमा उल्लेख छ ।
१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरूको चयन पनि सर्वसम्मत रूपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरू सार्वजनिक भए ।
सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरू लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको आरोप छ ।” नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै राजीनामा दिएको उनीहरूले स्पष्ट पारेका छन् । यस्तो निर्णय प्रक्रियाले क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ छ ।
एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले सामाजिक सञ्जाल मार्फत मिर्मी क्याम्पसको स्ववियु सभापतिलाई खादा लगाएर बधाई दिएपछि विभिन्न मिडियाले खबर सार्वजनिक गरेका थिए । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले उक्त खबरलाई खण्डन गर्दै कुनै सत्यता नभएको बताउनुभएको थियो । क्याम्पसको अवस्था निकै नाजुक रहेकाले दुवै सङ्गठनलाई मिलाएर लैजानुपर्ने पक्षमा क्याम्पस प्रशासन रहँदा रहँदै सामाजिक संजाल मार्फत हल्ला फैलाईदिँदा विवाद बढेको क्याम्पस प्रमुख पाण्डेको भनाइ छ ।
क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक भिमप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियामा उमेदवारी दर्ता मात्रै गरेको तर अन्य प्रक्रिया अगाडि नबढाइएको बताउनु भएको छ । सहमतिका लागि एउटा समिति निर्माण गरिएको उहाँले बताउनुभयो । स्ववियु सभापति सहित सबै निरर्विरोध भएको भन्न नमिल्ने उहाँको भनाइ छ ।
यसपटक स्याङ्जाका ७ वटा बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति छानिने भएको छ । १९ वटा बहुमुखी क्याम्पस मध्ये १२ ओटा क्याम्पसमा स्ववियु गठन नहुने बताइएको छ । गल्याङ्को सार्वजनिक बहुमुखी क्याम्पस र चापाकोटको राधादामोदर संस्कृत विद्यापीठमा सहमतीका आधारमा स्ववियु गठन भएको छ । अन्य क्याम्पसमा चैत ५ गते चुनाव हुँदै छ।