• २ चैत २०८१, शनिबार

जिन्दगीका सन्तुलनहरू !

blog

बादलका थुम्काहरूले मधुरो घामलाई ढाकिदिएर कालो बनाइदिएपछि मौसम बदलिएको छ । पानी पर्ला पर्ला जस्तो आकाश । जाडो महिनामा पानी पर्न सकेको छैन । हिउँद यसै बित्यो । म मौसम प्रेमी त हैन तर मनमा मौसमसम्बन्धी अनेकौँ प्रश्नहरू चाहिँ जन्मिरहेका छन् । हिउँद बित्यो, अब हावाहुरी चल्ने मौसम त्यसपछि उखरमाउलो गर्मी अनि फेरि वर्षा सुरु । मौसमले कस्तो जानेको है, आफ्नो सन्तुलन मिलाउन । उसलाई थाहा छ के कहाँनेर मान्छेलाई के मौसमको अभाव हुन्छ उसले पूरा गर्दिहाल्छ । 

नजिकको साथी– खोइ ! आज उसलाई किन मसँग भेट्न मन लाग्यो । भेटौँ न यार ! भनेर चार/पाँच पटक फोन गरेपछि मैले पनि ‘ओके’ भनेँ । उसलाई पनि आफ्नो मनको कुरा ‘सेयर’ गरेर हल्का हुन मन लागेको हो कि ? कति पटक “के भयो ? भन न” भनेर सोधेँ, अहँ ! अहिलेसम्म जवाफ दिएको छैन । भन्छ, “भेटेर सबै कुरा भन्छु के ।” 

उफ ! मानिसलाई कुर्ने जत्तिको गाह्रो काम के नै होला र ? यो मेरो मात्र हैन, धेरैको मनले भनेको सुनेको छु । ऊ आइहाले त हुन्थ्यो नि ! घडी हेर्दै बसिरहेको छु तर एक मिनेट बित्न पनि १० मिनेट झैँ अनुभव भइरहेको छ । सडकछेउको क्याफेमा छु । अगाडि टेबलमा कलेजका केटाकेटी छन् । मायामा चुर्लुम्म डुबेका । कोही साह्रै पीरका कुरा गरिरहेका छन्, कोही खुसीमा यसै मनमा नाचिरहेका जस्ता देखिने मान्छेहरू छन् । म बेतको कुर्सीमा बसेको छु । बाहिर सडकको गतिविधि देखिने गरी झ्यालतिरै बसेको छु । मानौँ, झ्यालको चौकस टिभीको ‘फ्रेम’ हो र बाहिरको आकाश ‘स्क्रिन’ । अनि त्यहाँ मेरा लागि भनेर कुनै प्रत्यक्ष प्रसारण भइरहेको छ । म निरन्तर झ्यालतिर हेर्दै छु । कफी मगाऊँ कि तातोपानी ? दुविधा भयो । यस्तो जाडोमा पनि के चिसो पानी माग्नु ? निर्णय गरेँ आफँै । अब हातमा तातोपानीको ग्लास अनी प्रतीक्षा । 

बाहिरको दृश्यले मेरो ध्यान नजानिँदो किसिमले खिचिसकेछ । मेरो मस्तिष्कले अब मानिसलाई कुरिरहेको कुरा भुल्दै जाँदै छ र सामान्य विषयलाई पनि गम्भीरतापूर्वक लिने तरखरमा छ । कसरी सोचाइको विषय परिवर्तन हुँदो रहेछ ? म आफैँलाई प्रश्न सोधिरहेछुु  । सडकमा लगातार साइकल र मोटरसाइकल गुडिरहे । मेरो मस्तिष्क अब त्यही साइकलको पाङ्ग्रासँगै घुम्न थालेको छ । 

दुई वटा पाङ्ग्रा, त्यो पनि अगाडि र पछाडि । मानिसले मज्जाले चलाइरहेको छ । ढल्दैन त । किन होला ? हुन त हामी दुई खुट्टाले हिँडेको जस्तै त होला । हाम्रा दुई खुट्टा र साइकलका दुई पाङ्ग्रा एकै हुन् त ? हामी त सजिलै उभिन सक्छौँ आफ्नै खुट्टामा तर साइकल त उभिन सक्दैन । स्टान्ड जोडिइएको हुन्छ साइकलमा । उभिनै नसक्ने तर मज्जाले कुद्ने । कस्तो अचम्म ? अब मेरो मस्तिष्क पूरै त्यो पाङ्ग्राको गतिमा कुद्न थालिरहेको छ । एक्लै उभिनै नसक्ने, मान्छे बसेपछि मज्जाले कुद्ने, यात्राको दुरी घटाइदिने, थकान निक्कै कम गराइदिने । कस्तो विशेषता होला साइकल ?

कस्तो मूर्ख कुरा खेलेको मेरो मनमा । साइकल नबन्दै यस्तो कल्पना पनि कसैले गर्न सक्दैनथे, त्यसैले त्यतिबेला पनि यस्तो सोच्ने मूर्ख ! अहिले साइकल खुरुखुरु गुड्दै छ, मानिसले प्रयोग गरिरहेको देख्दादेख्दै पनि कसरी भयो होला भनेर सोच्ने पनि मूर्ख ! ममा मूर्ख कुरा पो हाबी भइरहेको रहेछ त । हैन मेरो सोचाइ मुख्र्याइँ हैन महान् वैज्ञानिक न्युटनले स्याउ खस्दा त किन खस्यो ? भनेर सोचे । मैले साइकल कसरी गुडिराछ भन्ने सोच्न किन नहुने ? म ठिक ठाउँमा छु । यसै गरी त हो सोचाइको विकास हुने । जिज्ञासाले नै त हो सही उत्तर भेट्ने, सन्तोष हुने । पृथ्वीमा गुरुत्व छ, त्यसको आकर्षणले वस्तुहरू माथिबाट तलतर्फ आउँछन् भन्ने कुरामा ढुक्क नहुँदासम्म न्युटनलाई कति छटपटी भए होला ? सोचौँ त ।  म फेरि धेरै बरालिएँ कि ? कहाँ न्युटनसम्म पुगेको हुम्ला ? न म वैज्ञानिक बन्ने बाटोमा छु, न मेरो प्राथमिकता साइकलको हिँडाइको रहस्य पत्ता लगाउने हुने छ । एउटा म जस्तै मूर्खलाई कुर्दै गर्दाको बुद्धिविलास मात्र हो, यो सोचाइ । यसरी घोत्लिँदा एउटा फाइदा पनि भइरहेको चाहिँ छ है । मानिस कुर्दाको गाह्रोपन ज्यादा न्यून मात्रामा छ । आफूलाई सहज बनाउने काइदा पो रहेछ है फरक विषयमा एकछिन ध्यानमग्न हुने कुरा । कस्तो क्याफे होला न किताबका ¥याकहरू छन्, न चित्रकारका कुनै चित्रहरू । किताब भए पनि यो सोच्ने कुराबाट भागेर पढ्नुहुन्थ्यो । 

ऊ अझै आएको छैन । कुर्न फेरि गाह्रो लाग्न थाल्यो । साइकलको पाङ्ग्रासँगै घुमिरहेको थियो, मस्तिष्क र पो गाह्रोपनालाई बिर्सिएको रहेछु ! साइकल गुड्नु त के ठुलो कुरा भयो । मान्छेले हप्तौँ लगाएर बढो मुस्किलले सिकेर पो गुडाइरहेको छ । यो विषयमा पनि कति अल्झनु ! अभ्यस्त भयो, आफ्नो शरीरले सन्तुलन मिलायो अनी कुदायो मज्जाले । यत्ति त हो नि साइकल कुद्नुको कथा । 

सन्तुलन  एक्कासि मेरो मस्तिष्कमा कहाँबाट आयो यो शब्द ? त्यति तागतदार शब्द हो त सन्तुलन ? सन्तुलनले कुनै स्ट्यान्डबिना नै दुई वटा पाङ्ग्रालाई घुमाइदिन्छ त ? न्युटनको गुरुत्वाकर्षण र मैले अहिले सम्झिएको सन्तुलन त गज्जबका शब्द रहेछन् । सन्तुलनको त्यत्रो महìव पो रहेछ त । मैले पत्रकारिता प्रारम्भ गर्दाका दिनहरूमा अग्रजहरूले घचघचाइरहन्थे, सन्तुलनमा ध्यान दिनु है, सन्तुलनबिना समाचारले पूर्णता पाउँदैन । त्यतिबेलादेखि मनमा घुसेको मेरो यो शब्द साइकलको गुडाइको कारण खोज्दैगर्दा एक्कासि निस्कियो । सन्तुलनबिनाका समाचारहरू सम्पादकले काटिदिएको याद आयो । समाचार लेख्दै गर्दा स्वास्थ्यकर्मीका गोष्ठीमा जाँदा ‘सन्तुलित आहार’ को कुरा गर्थे । के खाने के नखाने भन्ने कुरामा पनि त सन्तुलन चाहिँदो रहेछ । विज्ञान पढ्ने बेला हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ भनेर गुरुले पढाउँदा मैले जिज्ञासा राखेको थिएँ, वायुमण्डलमा हाइड्रोजन पनि छ, अक्सिजन पनि छ, पानी परिरहनुपर्ने हो त । सरले त्यतिबेला पनि सन्तुलनको कुरा गरेको सम्झिएँ । हाइड्रोजनको दुई भाग र अक्सिजनको एक भागको सन्तुलन भएमा मात्र पानी बन्ने हो । 

सम्झँदै गएँ म । आखिर सन्तुलन त रैछ जीवन । खानपिनमा सन्तुलन । बोली व्यवहारमा सन्तुलन । व्यायममा सन्तुलन । सम्बन्धमा सन्तुलन । श्रीमतीश्रीमानबिचको सम्बन्धसमेत सन्तुलनको अभावमा तङ्गभङ्ग भएका थुप्रै दृष्टान्तहरू पनि याद आउन थाले अब । मलाई यतिकाबेर कुराइरहेको साथीलाई सम्झेँ, यहाँ पनि म सन्तुलित नभई आवेगमा आएमा सम्बन्धनै बिग्रेर जाने छ । यहाँ पनि त सन्तुलन चाहियो । सन्तुलन बिग्रेर टाट पल्टियो भन्ने कुरा पनि त पटक पटक सुनिन्छ । व्यापारको सिद्धान्त नै छ, आयातनिर्यातमा सन्तुलन बनाउन नीति बनाउनुपर्ने । देशको अर्थतन्त्रको समीक्षा गर्दा पनि आयातनिर्यातको सन्तुलन बिग्रियो भनेर तर्क गरेको सुनिन्छ । 

तराजु गज्जबको उदाहरण । तौल बराबर बनाउन तराजुको जन्म भएको हो । यही तौल त हो दुई पक्षबिचको सम्बन्ध । सन्तुलित खानाबारे चिकित्सकले भनेको सम्झिएँ, चिनीरोग भएका मानिसले गुलियो कुरा अलिकति खानुभयो भने भात त्यो दिन नखानूस्, यसरी सन्तुलन मिलाएर खाने हो भने समस्या न्यून हुँदै जान्छ । रोगबाट बच्ने र जीवन बाँच्ने कुरा पनि त रहेछ, सन्तुलन । भगवान्को पूजामा पनि सन्तुलन । गणेशको पूजा नगर्दा पूजाले पूर्णता नपाउने । महादेव स्वयम्ले पनि गणेशलाई नसम्झी युद्धको तयारी गर्दा मुसोले धनुषको तार काटिदिएको कथा स्वस्थानीमा पढ्न पाइन्छ । यो पनि त सन्तुलनसँग जोडिने विषय रहेछ । 

अझ अहिले त मलाई मेरो बालापना पनि याद आयो । सोतामा लाप्सो हालिएको हुन्थ्यो । हामीले लाप्सो तर्दा हाम्रा हातहरू नाचेको झैँ तलमाथि उठ्ने–झर्ने गर्थे आपसेआप । शरीर पनि नाचे झैँ गर्थो । ठुला मानिस सजिलै तर्थे त्यो लाप्सो । खोलामा पनि त्यस्तै हुन्थ्यो । स्कुल जाँदा खोलामा पुल थिएन । पानीमाथि ढुङ्गा राखिएको हुन्थ्यो । ढुङ्गा ढुङ्गा टेक्दै जुत्ता जोगाउनुपर्ने । जुत्ता भिज्यो भने स्कुलमा सर मेडमले, घरमा बाबाआमाले गाली गर्ने । गालीबाट जोगिन ती ढुङ्गामा टेक्न पर्ने तर हालत त्यही लाप्सो तर्दा झैँ हुने, शरीर त्यसै गरी नाचे झैँ गर्ने । नाच्दै खोला तर्नु पर्छ भन्थ्यौँ हामी । नाचेको जस्तो हात गराउनु त त्यही शरीरको सन्तुलन मिलाएको त रहेछ नि ! 

सम्बन्ध पनि त सन्तुलित व्यवहारले सुरक्षित हुँदो रहेछ । सोचौँ त, विवाहितको अर्को पात्रसँगको सम्बन्धलाई हाम्रो समाजमा कति असहज रूपमा लिइन्छ । तर, रुक्मिणी र राधासँगको कृष्णको सम्बन्धको हामी चर्चा मात्र हैन, पूजा गर्छौं । यहाँ पनि सन्तुलन नै त कारण होला आखिर । प्रेमी र श्रीमतीबिचको सन्तुलित सम्बन्धका कारण राधाकृष्णको मूर्ति अनि फोटामा पूजा गरिन्छ, रुक्मिणीलाई सम्मान गरिन्छ । पाँच पाण्डवको कथाको सन्तुलन पनि त उस्तै हो नि ! द्रौपदीलाई सन्तुलित जीवन जिउन कति जुक्ति लगाउन परेको होला । 

रात झमक्कै परिसक्यो । वेटरले आफ्नो काम सकिसक्यो तर मेरो साथी अझै आइपुगेन । जिन्दगीको कुन सन्तुलन मिलाउन उसले मेरो समय यसरी खाइदिएको होला । पानी पर्न सकेन, आकाशभरि ताराहरू झलमल्ल देखिए । उज्यालो भयो, बाहिर साथीले आफ्नो जुत्ताबाट माटो टकटकायो । मेरो आँखा उसको आँखामा जुधेँ । मलाई यत्रोबेर कुराएर राखेको साथी आइपुग्यो । पहिलो शब्द थियो उसको, सरी, कुराएकोमा । उसको सरीले मेरो आक्रोश र झोकको पारो ह्वात्तै घट्यो । यसो सोचे त्यो भाषा पनि त सन्तुलन थियो । मैले पनि मेरो मनलाई सन्तुलित बनाउँदै किच्च हाँसेर उसलाई स्वागत गरेँ, मानौँ उसको ढिलाइले मलाई कुनै असर परेको छैन । वाह सन्तुलन, तेरो शक्ति न्युटनको गुरुत्वाकर्षणभन्दा कहाँ कम रहेछ र ! सन्तुलनको सिद्धान्तका आधारमा हुने सङ्घर्षले नै त हो मृत्युपछिको जीवन जीवित राख्ने । त्यसैले भन्न मन लागिरहेको छ, हाम्रो ध्येय भनेको जिन्दगीका लागि सन्तुलनको खोजी रहेछ ।