गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते । सरकारले आर्थिक वर्ष २०८१/८२ मा दलित समुदायका विद्यार्थीको छात्रवृत्तिका लागि वार्षिक करिब एक अर्ब रुपियाँ खर्च गर्ने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो समय दलित विद्यार्थीको छात्रवृत्तिका लागि ९२ करोड ९६ हजार १६ हजार रुपियाँ विनियोजन भएको छ । यो रकम विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षामा खर्च भएको हो ।
मन्त्रालयका अनुसार कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने पाँच लाख ५२ हजार ७९१ जनालाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस शीर्षकमा २१ करोड ११ लाख १६ हजार रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । यस्ता विद्यार्थीलाई वार्षिक चार सय रुपियाँका दरले सहायता उपलब्ध गराइन्छ ।
त्यस्तै कक्षा छदेखि १२ सम्म अध्ययन गर्ने, कक्षा ११ मा विज्ञान तथा प्राविधिक र अन्य विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । यसबाहेक कक्षा ११ र १२ मा विज्ञान तथा प्राविधिक पढ्ने दलित विद्यार्थीलाई वार्षिक २४ हजार, अन्य विषय पढ्नेलाई वार्षिक १८ हजार रुपियाँ उपलब्ध गराइँदै आएको छ । यसका लागि ६० करोड रुपियाँ छुट्याइएको छ । यस्तो छात्रवृत्ति विद्यार्थीले फाराम भरेको आधारमा उपलब्ध गराइन्छ ।
१११ जना दलित विद्यार्थीलाई विभिन्न सिपमूलक तालिम तथा निःशुल्क प्रशिक्षणका लागि चार करोड ५० लाख रुपियाँ छुट्याइएको छ । यस्तो तालिम आवास सुविधासहितको छ । त्यसबाहेक उनीहरूलाई प्रतिमहिना तीन हजार पाँच सय रुपियाँका दरले निर्वाह भत्ता, यातायात खर्चबापत प्रतिवर्ष एक हजार पाँच सय र पोसाक खर्चबापत प्रतिवर्ष दुई हजार पाँच सय रुपियाँ उपलब्ध गराइएको छ ।
त्यस्तै आर्थिक रूपले विपन्न सात सय विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ । यसका लागि १४ करोड रुपियाँ छुट्याइएको छ । यस्तो छात्रवृत्ति साधारण विषय पढ्ने विद्यार्थीलाई वार्षिक १५ हजार र प्राविधिक धारका विषय पढ्ने विद्यार्थीलाई वार्षिक २१ हजार रुपियाँ उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यी रकममध्ये केही वितरण भइसकेको र केही हुने क्रममा रहेको बताउनुभयो ।