• २२ वैशाख २०८१, शनिबार

कमेडी शैलीको चलचित्र ‘कबड्डी ४’

blog

सुकृत नेपाल 

काठमाडौँ, जेठ १६ गते । सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी’ को अन्तिम सिक्वेल हो ‘कबड्डी ४’ । कबड्डी १, २ र ३ मा काजी (नायक दयाहाङ राई)ले नायिकालाई पाउन गरेको सङ्घर्षको कथालाई उजागर गरिएको थियो भने यसको अन्तिम सिक्वेल अर्थात् ‘कबड्डी ४ द फाइन म्याच’ को कथा भने केही फरक छ ।   

चलचित्रमा काजीका दुई साथी बिके (विजय बराल) छन्त्याल (बुद्धि तामाङ) र काजीका परिवार उनको विवाहका लागि लागि परेका हुन्छन् तर पनि सफल हुन सक्दैन । अन्ततः काजी अब कहिले विवाह नगर्ने सोच बनाएर बौद्ध धर्म अपनाएर गुम्बातिर बस्न जान्छन् ।  काजीका परिवार भने उनको विवाह गर्न अनेकन तिकडम अपनाइरहेका हुन्छन् । काजीको आमा कहिले काजीका साथीहरूलाई पैसाको लोभ देखाउने गर्छिन् भने कहिले झाँक्री (उपेन्द्र सुब्बा)लाई बोलाएर काजीको बिहेको जोखाना हेर्न लगाउँछिन् ।

यता मास्टरनीको भूमिकामा देखिएकी शान्ति (मिरुना मगर)को काजीप्रति आकर्षित हुनु पनि चलचित्रको टर्निङ प्वाइन्ट हो । चलचित्रमा शान्ति र काजीको बीचमा भिलेनको रूपमा देखा पर्छन् बमकाजी (सौगात मल्ल) । बमकाजी मास्टर डिग्री सकाएर केही समय गाउँमा नै बिताउने सोचले फर्कन्छन् तर उनको मन तब बदलन्छ जब उनको भेट शान्तिसँग हुन्छ र यसपछि सुरु हुन्छ काजी, शान्ति र बमकाजीबीचको ‘कबड्डी’ । शान्तिको काजीमाथिको एकतर्फी माया र बमकाजीको शान्तिमाथिको एकोहोरो प्रेम नै चलचित्रको 

मुख्य कथा हो । शान्तिलाई पाउनका निम्ति बमकाजीले अनेकन जुक्ति अपनाउँछन् तर कसै गर्दा पनि शान्ति र बमकाजीबीच प्रेम बस्न सक्दैन । अन्ततः बमकाजी शान्तिलाई अपहरणसम्म गर्न पछि हट्दैनन् ।  चलचित्रको अन्तिम सिक्वेलले काजीको बिहेको टुङ्गो लगाउँछ या लगाउँदैन भन्ने कुराको उठान गरेको छ । बमकाजीले शान्तिलाई अपहरण गरेपछि चलचित्रमा कस्तो ट्विस्ट आउँछ भन्ने दर्शकका लागि 

उत्सुकताको विषय बन्न सक्छ । निर्देशक रामबाबु गुरुङ यस पटक पनि चलचित्रबाट बाजी मार्न सफल भएका छन् । उनले एउटा पृथक् स्वाद बोकेको चलचित्र दर्शकसामु पस्किएर नेपाली चलचित्रको भाग्य फेरि ब्युँताउने काम गरेका छन् । चलचित्र पहिलेको तीनवटा सिक्वेलसँग मिल्दोजुल्दो भए पनि चलचित्रमा आउने ट्विस्टले यसलाई माथि उठाउने काम गर्छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धिमान तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायत अन्य कलाकार पुरानै दोहोरिएका भए पनि नायिका मिरुना मगर र भट्टी साहुनीको भूमिकामा देखिएकी पम्फा (गौमाया गुरुङ) भने नयाँ अनुहारका हुन् । निर्देशक गुरुङले यस पटक अन्य कलाकारलाई भन्दा विजय बराललाई दिएको भूमिकाले उनी अलि बढी प्राथमिकतामा परेका हुन् कि जस्तो पनि लाग्छ । 

उनको जीवनमा आएको ट्विस्टले पनि कथामा रोचकता थपेको छ । दयाहाङ राईको अभिनयमा नयाँपन नझल्किए पनि उनको लुक्स र प्रस्तुतिले दर्शकको ध्यान तान्छ । सौगात मल्लले आफ्नो अभिनयको शैली परिवर्तन गर्न खोजेका हुन् कि जस्तो लाग्छ । अन्य चलचित्रभन्दा यसमा उनको भूमिका केही फरक देखिन्छ । बुद्धि तामाङको अभिनयलाई ठीकठाक भन्नुपर्छ । नयाँ कलाकारको रूपमा चलचित्रमा प्रवेश गरेकी नायिका मिरुना मगर र गौमाया गुरुङको अभिनय मध्यम लाग्छ । 

एस डी योगी, कालीप्रसाद बास्कोटा र अनुपम शर्माको सङ्गीत चलचित्रमा समावेश छ । चलचित्रको संवाद बेजोड लाग्छ, हास्य रसको भरपुर प्रयोग देखिन्छ । संवादले नै चलचित्रलाई माथि उठाउने काम गरेको छ । कमेडी शैलीको चलचित्र ‘कबड्डी ४ द फाइन म्याच’ ले दर्शकलाई दुई घण्टा सिनेमा घरमा बाँधिराख्न बाध्य बनाउँछ । समग्रमा भन्नुपर्दा चलचित्रको कथा अब्बल छ र कलाकारहरूको अभिनय यसको सुन्दर पक्ष हुन् ।