• ९ फागुन २०८१, शुक्रबार

स्ववियु निर्वाचन चैत ५ मा, आयोग, काउन्सिल र महासङ्घबाट अनुगमन

blog

काठमाडौँ, फागुन ४ गते । यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ । 

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन स्वतन्त्र निकायलाई पर्यवेक्षण गराउन लागिएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ बनाएर तीन वटा निकायका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन पर्यवेक्षण समिति बनाउने उल्लेख गरेको छ । हरेक जिल्लामा पर्यवेक्षण समिति रहने त्रिविले जनाएको छ । 

त्यसबाहेक त्रिविमा शिक्षाध्यक्षको संयोजकत्वमा १४ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति रहने छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिसकेको छ । 

विद्यार्थी राजनीतिमा क्रियाशील २३ वटा सङ्गठनसँग छलफल गरेर त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको मिति तय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन पर्यवेक्षणसम्बन्धी कार्यविधि भने बन्न बाँकी नै छ । 

निर्वाचन निर्देशिका अनुसार यस पटक निर्वाचनको मितिभन्दा २१ दिनअघि मात्रै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । यसअघिको निर्वाचनमा निर्वाचन हुनुभन्दा ३० दिनअघि कार्यतालिका सार्वजनिक गर्ने गरिएको थियो । 

त्यस्तै यसअघि निर्धारित मितिमा स्ववियु निर्वाचन हुन नसकेमा १५ दिनभित्र निर्वाचन गर्नैपर्ने व्यवस्था गरिएको छ । यदि उक्त मितिभित्रमा निर्वाचन गर्न नसक्ने क्याम्पसमा स्ववियु कार्यसमिति रहने छैनन्् । यसअघि निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन नसकेमा उक्त मितिले ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर नयाँ व्यवस्था गरिएको हो । 

साथै सरकारी तथा सरकारी स्वामित्वमा रहेका कार्यालयमा रोजगारीमा रहेका व्यक्तिलाई स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था पनि निर्देशिकाले गरेको छ । कर्मचारीलाई उम्मेदवार हुन नदिन अदालतले यसअघि नै निर्देशन दिइसकेकाले निर्देशिकामार्फतै बन्देज लगाइएको अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार स्ववियु निर्वाचन–२०८१ निर्देशिकाले विद्यार्थी सङ्ख्याका आधारमा क्याम्पसमा निर्वाचन समिति पनि फरक फरक हुने उल्लेख गरेको छ । जस अनुसार दुई सय जनासम्म विद्यार्थी भएको क्याम्पसमा पाँच सदस्यीय निर्वाचन समिति, २०१ देखि एक हजार जनासम्म विद्यार्थी भएमा सात सदस्यीय, १,००१ देखि तीन हजार जनासम्म विद्यार्थी भएमा नौ सदस्यीय, ३,००१ देखि पाँच हजार जनासम्म विद्यार्थी भएमा ११ सदस्यीय र ५,०००१ देखि माथि विद्यार्थी भएको क्याम्पसमा १३ सदस्यीय निर्वाचन समिति हुने निर्देशिकामा उल्लेख छ । 

निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । आगामी चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो । 

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र १,०६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।    

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।