• १२ वैशाख २०८१, बुधबार

पारा साइक्लिङमा रामचन्द्र र गोपाल पहिलो

blog

राष्ट्रिय पारा साइक्लिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, जेठ १४ गते । रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ ।  रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ठरोग प्रभाविततर्फ पहिलो हुनुभएको हो । 

राष्ट्रिय पारा साइक्लिङ सङ्घको समन्वयमा राष्ट्रिय खेलकुद परिषले आयोजना गरेको प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोस्राे तथा कृष्ण गुरुङ तेस्राे हुनुभयो । कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य जित्नुभयो ।

मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ सङ्घका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।  

व्हीलचेयरतर्फ डिगमलाई स्वर्ण

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो हुनुभएको छ । रमेश खत्री दोस्राे तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेस्राे हुनुभयो । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र सङ्गीता माझीले कांस्य जित्नुभएको छ ।

राष्ट्रिय पारा टेबलटेनिस सङ्घको व्यवस्थापनमा जोरपाटीमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई पहिलो, स्वीकृत न्यौपाने दोश्रो तथा अजय विक र दीपक नकल तेश्रो बन्नुभयो। उक्त स्पर्धाको महिलामा अस्मिता बूढा, पूजा सोती तथा आशाा हमाल र मेणुका गौतमले क्रमशः शीर्ष तीन स्थान हात पार्नुभयो ।