काठमाडौँ, माघ २५ गते । कुनै समय नेपाली चलचित्र क्षेत्र भारतीय चलचित्रबाट अत्यधिक प्रभावित थियो । अभियन, निर्देशन मात्र होइन कथा पनि हुबहु नक्कल गरिन्थ्यो यहाँ । यही सेरोफेरोमा नेपाली चलचित्र ‘एक्टर : टेक वन’ आएको छ, हिन्दी चलचित्रको पुरानो कथावस्तुलाई लिएर । नयाँ बोतलमा पुरानै रक्सी भने झैँ यस चलचित्रमा नयाँपन पाइँदैन । उही परम्परागत सुन तस्करी र मायाप्रेमका कथालाई यताबाट उता मोडेर दर्शकलाई प्रभावित बनाउन खोजिएको छ । जुन अहिलेको समयमा खासै सान्दर्भिक देखिँदैन ।
(विजय) महेश त्रिपाठीले निर्देशक निश्चल बस्नेतलाई कुशल, प्रेरणा, प्रकृति तीन मुख्य पात्रको कथा सुनाउँदै गर्दा चलचित्र सुरु हुन्छ । चलचित्रको मुख्य पात्र कुशल (प्रदीप खड्का) लाई नाम र दाम दुवै कमाउनु छ । उसको लक्ष्य भनेकै सुपरस्टार बन्नु हो । कसैले नभने पनि उसले आफैँलाई सुपरस्टार घोषणा गरिरहन्छ । चलचित्रको कथा नै कुशलमा केन्द्रित छ । उनी रङ्गमञ्चलाई बाटो बनाएर आफ्नो सुपरस्टार बन्ने सपना पूरा गर्न चाहन्छन् तर उनलाई थाहा छैन उनको यही सपनाले जीवनमा कति धेरै उतारचढाव त्याउँछ । प्रकृति (आना शर्मा) कुशललाई प्रेम गर्छिन् । दुवै प्रेममा हो कि भन्ने लाग्छ तर कुशल प्रकृतिप्रति अझै प्रस्ट देखिँदैन । कुशल एक मध्यम परिवारमा हुर्किएको केटा हो जसलाई आमा (सिर्जना अधिकारी) ले ब्युटी पार्लरमा काम गरेरै भए पनि केही कुराको कमी हुन दिएकी छैनन् । आर्थिक अवस्था खासै सबल नभए पनि कुशललाई ब्रान्डेड कपडा र सामान लगाउने सोख छ ।
एकदिन सबैको समय आउँछ भने झैँ कुशललाई सुपरस्टार बन्ने मौका आउँछ । उनी त्यो मौका गुमाउन चाहँदैनन् । सुपरस्टार बन्ने सपनामा उनीमाथि अनेकन समस्या आइलाग्छन् । कुशललाई सुपरस्टार बनाउने निर्देशक विवेक (दिव्यदेव) जब सुन तस्करी प्रकरणमा पक्राउ पर्छन्, त्यसपछि कथामा नयाँ मोड आउँछ । जेलमा बसेर पनि विवेक कुशललाई सुन तस्करलाई पत्ता लगाउन अनेक जुक्ति सुझाउँछन् । सुन तस्करको खोजी गर्दै जब कुशल पोखरा पुग्छन्, त्यहाँ उनको भेट व्यापारी धीरजङ्ग (राजवल्लभ कोइराला) कि छोरी प्रेरणा (दिव्या रायमाझी) सँग हुन्छ । यी दुवै मायाप्रेममा बाँधिन्छन् । यसपछि चलचित्रमा प्रकृति र प्रेरणासँग प्रेममा फसेका कुशलको कथामा अनेक ट्विस्ट आउँछ । दुवैलाई कुशलले कसरी मिलाएर लिएर जान्छन् भन्ने कुरा पनि चलचित्रको मुख्य पाटो हो । सुन तस्करी खोजी र त्रिकोणात्मक प्रेममा कुशल यसरी फस्छन् उनको जीवन न यता न उता जस्तै हुन्छ ।
निर्देशक राजन भुसालले कथालाई केवल तन्काउने काम मात्र गर्नु भएको छ । सिक्वेल बनाउने नाममा कथालाई अनेक पाटोमा विभाजन गर्न खोजेको कुरालाई दर्शकले नपचाउन सक्छन् । व्यावसायिक चलचित्र हेर्न रुचाउनेका लागि यो मनोरञ्जनात्मक हुन सक्छ तर कथावाचन खोज्नेलाई भने चलचित्रले निराश बनाउन सक्छ । कोइरालाको कमब्याकले दर्शकलाई केही मात्रामा मनोरञ्जन दिन सक्छ । अभिनेता खड्काको अभिनय सामान्य छ । नायिका आना शर्माको अभिनयमा मेहनत झल्कन्छ । दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले पहिलो चलचित्रबाट खासै छाप छाड्ने अभिनय गर्नुभएको छैन । सहायक भूमिकामा देखिनुभएका प्रदीपकुमार चौधरी, बादल भट्टको अभिनयलाई पनि हामीले बिर्सन हुन्न । चलचित्रको पटकथा र पात्रले बोलेको संवादले दर्शकलाई हलबाट निस्कँदा निराश पार्दैन भन्न सकिन्न । पछिल्लो समय नेपाली चलचित्रले राम्रो गति समात्न खोजेको छ तर पनि नयाँ शैलीका कथा र कस्ता कलाकारलाई प्राथमिकता दिनु पर्छ भन्ने कुरामा निर्देशक अझै चुकेका छन् ।