• २१ माघ २०८१, सोमबार

ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमीको हत्या

blog

चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : सलिम मियाँ

सलिम मियाँ
बिजुवार, माघ २१ गते ।
अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गरेको हो । उनीहरू नाताले ज्वाइँ–सासू हुन् । लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन् ।

उपाध्यायलाई लोकबहादुर र जेदुकुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान ८ः३० बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिनुभएको थियो ।

टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या गरेको निष्कर्ष निकालेको छ । 

रोजगारीका सिलसिलामा श्रीमान् भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आउनुभएको थियो । उहाँले सुरुमा चिन्तामणिसँग सम्बन्ध अगाडि बढाउनुभयो । चिन्तामणिसँग प्रेममा हुँदा जेदुको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो । श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग यौन सम्बन्ध बढाउनुभएको थियो, जेदुले ।

एक वर्ष अघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन् । दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणिले चुकुल लगाएर थुनेका थिए । त्यही रिसइबिको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

‘‘यही माघ १७ गतेका दिन राति फोनमार्फत जेदुले चिन्तामणिलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको हो ।,’’ प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘‘चिन्तामणिलाई उनीहरुले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’’

हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिनुभएको थियो । प्रहरीले घटना भएको चौबिस घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरेको छ ।

उनीहरूबिचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसइबिका कारण हत्या भएको प्रहरी निष्कर्ष छ । लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकार गरिसकेका छन् । उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।