बैतडी समाचारदाता
बैतडी, माघ २० गते । वडामा आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु भएको स्वास्थ्य चौकी भवन निर्माणको कार्य पूरा नहुँदा निर्माणाधीन भवन खण्डमा परिणत हुन लागेको छ । बैतडीको दशरथ चन्द नगरपालिका–५ को साजीबाटामा आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन हालसम्म सकिएको छैन । स्वास्थ्य चौकी भवनका लागि स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् ।
भवन निर्माण गर्न सङ्घीय सरकारले छ वर्षअघि ८० लाख रुपियाँ बजेट विनियोजित गरेर पठाए पनि काम पूरा नहुँदा ४० लाख रुपियाँ बजेट फ्रिज भएको वडाध्यक्ष केशव लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुको वर्ष सङ्घीय सरकारले दिएको आधा बजेट फ्रिज भयो । अर्को वर्ष नगरपालिकाले २८ लाख रुपियाँ बजेट विनियोजन ग¥यो तैपनि काम पूरा भएन ।” वडाध्यक्ष लेखकले लामो समयसम्म स्वास्थ्य चौकीको भवन अलपत्र पर्दा स्थानीय आक्रोशित भएको बताउँदै वडामा आधारभूत स्वास्थ्य सेवा दिने संस्था अलपत्र परेपछि वडाबाट बसाइँ सर्नेको
सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । वडाबाट प्रत्येक वर्ष ५० परिवार गाउँ छाडेर बसाइँसराइ गर्न थालेका छन् ।
वडामा स्वास्थ्य चौकीको भवन नहुँदा जनप्रतिनिधि बस्ने कोठामा स्वास्थ्यकर्मीलाई राखेर सेवा दिनु परिरहेको वडाध्यक्षले गुनासो गर्नुभयो तर जनप्रतिनिधि बस्ने वडा कार्यालयको भवनमा स्वास्थ्यकर्मी राख्नु पर्दा वडाको काम प्रभावित हुने गरेको पनि उहाँले बताउनुभयो । भवन निर्माण गर्ने जिम्मेवारी पाएको बिग बी एन्ड कम्पन्नीका सञ्चालक विकाश चन्दले नगरबाट काम गर्ने म्याद नथपिएकाले समयमै काम सम्पन्न नभएको दाबी गर्नुभयो ।
उहाँले भवनको अन्य काम सकेर अब छत ढलानको काम मात्रै बाँकी रहेको बताउँदै म्याद थप गर्ने कुरा आएको र म्याद थपेपछि काम धमाधम हुने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले ठेकेदारका लागि काम गर्ने अन्तिम पटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिने बताउनुभयो । उहाँले भन्नुभयो, “असारभित्र काम सम्पन्न गर्ने गरेर अन्तिम पटक म्याद थप गर्दै छौँ । यति गर्दा पनि निर्माणको काम पूरा नभए ठेक्का तोडेर कानुनी प्रव्रिmया अघि बढाउँछौँ ।”
बजेट हुँदाहुँदै निर्माणको काम अलपत्र परेको पूर्ववडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । २०७४ को स्थानीय तहको निर्वाचनबाट चुनाव जितेर आएपछि भवन शिलान्यास भएको
उहाँले बताउनुभयो । स्थानीय तहको दोस्रो निर्वाचन भएको पनि आधा समय बितिसक्दा पनि भवन निर्माण पूरा नहुनु दुःखद कुरा रहेको उहाँले बताउनुभयो ।