डर धेरै प्रकारका छन् । डरलाई चिकित्सा विज्ञानले ‘फोबिया’ भन्दछ । डर मानिसपिच्छे फरक हुन्छ । कोही कुकुर त कोही बिरालोसँग डराउँछन् । कीरा, चरा, सर्प, भ्यागुतासँग तथा मानिस भएर मानिससँगै डराउने मानिस पनि हुन्छन् ।
एरेकनोफोबिया : माकुरोको डर सबैभन्दा सामान्य प्रकारको फोबिया हो । माकुराका ४० हजार प्रजातिमध्ये २० प्रजातिका माकुरा मात्र मानिसलाई हानि पुर्याउन सक्ने छन् ।
ओफिडियोफोबिया : यो डर सर्पसँग सम्बन्धित छ । विशेषज्ञहरू प्रकृतिले मानिसमा बाँच्नका लागि जन्माएको अत्यावश्यक डरका रूपमा यसलाई बुझ्छन् । एक अनुमान अनुसार विश्वको एक तिहाइ जनसङ्ख्या सर्पसँग डराउँछ ।
एक्रोफोबिया : यो उचाइसँग सम्बन्धित डर हो । सयमध्ये पाँच जनालाई यस प्रकारको फोबिया हुन्छ । कहिलकाहीँ डरको हद कतिसम्म हुन्छ भने त्यो आक्रमणमा परिणत हुन पुग्छ । यस्तो अवस्थामा सास फेर्न पनि गाह्रो हुन सक्छ ।
एगोराफोबिया : यसको प्रभाव भएका मानिस खुला ठाउँ र भीड दुवैबाट डराउँछन् । मैदानमा जाँदा उनीहरूलाई त्यहाँ हराउने र बाहिर निस्कन सक्ने छैन भन्ने लाग्न सक्छ । यस्ता मानिस प्रायः डिप्रेसनको सिकार हुन्छन् ।
सायनोफोबिया : अधिकांश महिला कुकुरसँग डराउँछन् । यो डर बाल्यकालदेखि नै सुरु हुन्छ । कुकुरको डर सर्प र माकुरापछि सबैभन्दा आमफोबियामा पर्छ ।
एस्ट्राफोबिया : यो डर भएका मानिस आकाश गर्जिंदा वा चट्याङसँग डराउँछन् । यो डर प्रायः बालबालिकामा पाइन्छ । जनावरमा पनि यस्तो डर देखिएको छ ।
क्लास्ट्रोफोबिया : यो साँघुरो ठाउँको डर हो । यस्तो डरका कारण मानिस लिफ्टमा जान हिचकिचाउँछ ।
मायजोफोबिया : कीटाणुसँगको डर । यस्तो डर भएका मानिस बारम्बार नुहाउने, हात धुने, स्यानिटाइजर लगाउने, अरूसँग हात मिलाउनबाट टाढै रहने खालका हुन्छन् । यस्ता मानिसलाई प्रायः अब्सेसिव कम्पल्जिव डिसअर्डर हुन्छ ।
एरोफोबिया : उडानसँग सम्बन्धित डर हो यो । कामको सिलसिलामा धेरै यात्रा गर्नुपर्ने मानिसको यो डरले करियरमा समेत असर गर्छ । विमान चढ्नुपर्ने सोचाइले नै यस्ता मानिसमा सास फेर्न गारो हुने अनि रिङ्गटा लाग्ने समस्या देखा पर्छ ।
डेन्टोफोबिया : धेरै मानिस दन्त चिकित्सककहाँ जान लाज मान्छन् । डेन्टोफोबिया भएकाहरू दाँत ड्रिल गर्न डराउँछन् ।
त्रिसकेडेकाफोबिया : धेरैले १३ नम्बरलाई अशुभ मान्छन् । संसारका कतिपय प्रसिद्ध लेखक तथा सङ्गीतकार पनि यस अङ्कबाट डराएका छन् । यो डरका कारण पश्चिमा देशको धेरै भवनमा १३ औँ तला नै हुँदैन ।
कार्सिनोफोबिया : यो क्यान्सरको डर हो । यस्ता व्यक्ति आफ्नो खानपानमा बढी ध्यान दिन्छन् । उनीहरूमा के डर हुन्छ भने जे खाए पनि कतै त्यसबाट क्यान्सर त हुने होइन ।
ग्लासोफोबिया : एउटा राम्रो वक्ताले मानिसलाई मोहित तुल्याउन सक्छ तर यस्ता धेरै व्यक्ति छन् जो स्टेजमा जाँदा असिनपसिन हुन्छन् । यसलाई ग्लोसोफोबिया भनिन्छ ।
मोनोफोबिया : यो एक्लोपनको डर हो । यस्ता व्यक्तिलाई जीवनमा एक्लै छोडिने डर मात्र हुँदैन एक्लै खान वा ओछ्यानमा एक्लै सुत्न पनि सम्भव हुँदैन ।
अर्निथोफोबिया : यो चरासँग सम्बन्धित डर हो । यस्ता मानिस आफू वरिपरि उड्ने चरालाई सहन गर्न सक्दैन ।
टेलेगफोनोफोबिया : यो समस्या भएका मानिस फोनमा कुरा गर्न डराउँछन् । उनीहरू एसएमएस वा इमेलमार्फत कुरा गर्न रुचाउँछन् ।
केटोपट्रोफोबिया : यो ऐनासँग सम्बन्धित डर हो । यस्ता मानिस ऐना हेर्न डराउँछन् । उनीहरू आफूलाई कुरूप वा मोटो मान्छन् । कोठामा धेरै ऐना छ भने मानिस आक्रामकसमेत हुन सक्छ ।
टोकोफोबिया : यो समस्या भएका महिला गर्भावस्था र बच्चा जन्माउन डराउँछन् । धेरै जसो अवस्थामा यो डरलाई गम्भीरताका साथ लिइँदैन भने यसले महिलाको मानसिक अवस्थामा निकै नराम्रो असर पार्ने चिकित्सकहरू बताउँछन् ।
सोमनिफोबिया : यो समस्या भएका मानिस निद्राबाट डराउँछन् । उनीहरूलाई सुतेपछि केही नराम्रो हुन सक्छ भन्ने लाग्छ । त्यसैकारण उनीहरू प्रायः जागै रहन्छन् ।
निक्टोफोबिया : यो समस्या भएका मानिस अन्धकारसँग डराउँछन् । उनीहरू राति बत्ती बालेर सुत्न रुचाउँछन् । बालबालिकामा यस्तो डर देखिन्छ ।
–अच्युतमान सिंह प्रधान