• १६ चैत २०८०, शुक्रबार

रङ्गेलीमा दलहरुले गरे मतगणना बहिष्कार

blog

धीरज दाहाल
विराटनगर, जेठ ९ गते ।
मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकामा स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा (एमाले) बाहेकका अन्य दलले मतगणना बहिष्कार गरेका छन् ।

मतगणनाका लागि तय गरिएको न्यूनतम मापदण्ड पालना नगरिएको र गणनामा धाँधली गरेको आरोप लगाउँदै गठबन्धनका सात दल र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिष्कार गरेका हुन् ।

मतगणनाका क्रममा पटक–पटक विवाद भएको रङ्गेलीमा एमालेबाहेकका दलहरुले सुरुवाटै असन्तुष्टि जनाउँदै आएका थिए । मतपेटिका राखिएको स्थानको सुरक्षा र सीसी टिभी नराखिएको र मतगणनाका क्रममा मतदान भएकोभन्दा बढी मत भेटिएको भन्दै पहिलो दिनमै गणना स्थलमा विवाद भएको थियो ।

वडा नम्बर ८ को मतपेटिकाको सिल तोडिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दलहरुले रंगेली बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । गणना अस्वीकार गरेका दलहरुले प्रदर्शन जारी राखेपछि विवाद मिलाउन निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया रङ्गेली पुग्नुभएको थियो । आयुक्त थपलियाको उपस्थितिमा दलहरुका बीच आपसी छलफल र सहमतिपछि पुनः मतगणना थालिएको थियो ।

सहमतिपश्चात् सुचारु भएको रङ्गेलीको मतगणना वडा नम्बर ७ को गणनाका क्रममा फेरि विवादित बनेपछि नेकपा एमालेबाहेकाका दलहरुले सम्पूर्ण रुपमा मतगणना बहिष्कार गर्ने निर्णय गरे ।

वडा नम्वर ७ मा मतदान गरेको भन्दा ९९ मत धेरै भेटिएको भन्दै दलहरुका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका थिए । सो वडाबाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रहनुभएका वीरेन्द्रकुमार साहले मतदान भएकोभन्दा गणना गर्दा धेरै मत भेटिएपछि आफुहरुले गणना बहिष्कार गरेको बताउनुभयो ।

“निर्वाचन अधिकृतको लापरवाही र मिलेमतोको आशंका छ,” उहाँले भन्नुभयो, “पटक–पटक गल्ती भइरहँदा समेत निर्वाचन अधिकृतले पेलेर जाने नीति लिएको हाम्रो ठहर हो ।” नेकपा एमालेको मतपत्रमा लहरै मिसिनले छाप लगाएको जस्तो भेटिनु आश्चर्यको विषय भएको उहाँले बताउनुभयो ।

मतगणनाका क्रममा विवाद भएपछि रङ्गेली निर्वाचन कार्यालयले घटनाबारे छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिको मतदान भएको मतपत्रको सङ्ख्या कम्प्युटरमा प्रविष्ट गर्दा फरक पर्न गएको भन्ने निष्कर्षलाई दलहरुले स्वीकार गर्न मानेनन् । नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार मोदराज घिमिरेले सुरुमा १०८ मत धेरै भएको भएपनि पछि ९९ मत धेरै भएको भनिएपछि छानबिनमा आशङ्का भएको बताउनुहुन्छ ।

“मत गणनाको सम्पूर्ण प्रक्रियामा हाम्रो असहमति छ,” घिमिरेले भन्नुभयो, “हामीले कार्यालयमा पुनः मतदान गर्नुपर्ने मागसहितको लिखित निवेदन दिएका छौ ।”

मिलोमतोमा भएको गणना प्रक्रियामा हाम्रो सहमति हुन नसक्ने भन्दै कानुनी रुपमा अघि बढ्ने तयारी गरेको समेत उहाँले बताउनुभयो ।

दलहरुले गत जेठ ६ गते मतगणना बहिष्कार गरेकै समयमा निर्वाचन कार्यालयले भने दलहरुका प्रतिनिधिका रूपमा सुनिता मण्डल, सुरेन्द्र झा, सम्पतलाल साह, कुमार भेटवाल, भुवनसिंह बराललगायतले हस्ताक्षर गरेको र उहाँहरु दलको प्रतिनिधि भएको सूचनासहित मतगणना जारी रहेको जानकारी दिएका थिए ।

आफ्ना पार्टीका सदस्य समेत नभएको व्यक्तिलाई र पार्टीका सचिवको गणनाका लागि दिइने पत्रका आधारमा गणक प्रतिनिधिको रुपमा सहभागी गराउनुपर्नेमा बाहिरका मानिसलाई गणनामा सहभागी गराएको भन्दै दलहरुले निवेदन दर्ता गराएका थिए ।

तर, निर्वाचन कार्यालयको नियमअनुसार दलहरुसँग अधिकतम सहमति गरेर नभए कानुनी रित पुर्याएर मतगणना जारी राख्ने नियम अनुसार कार्यालयले गणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृत रामहरि शर्मा काफ्ले बताउनुहुन्छ ।

“जनता समाजवादी पार्टीका प्रतिनिधि मतगणनामा सहभागी हुन जिल्लाबाट आउनुभएको थियो,” काफ्लेले भन्नुभयो, “पार्टीको आधिकारिक पत्र नभए पनि हाम्रो सहमतिका आधारमा मतगणनामा सहभागी गराएका हौ ।”

मतपत्र सङ्ख्या प्रविष्ट गर्दा भएको सामान्य त्रुटिलाई दलहरुले विवादको विषय बनाएको भन्दै अधिकृत काफ्ले मतपेटिकाको सुरक्षाको विषयमा सीसी टिभी फुटेज हेर्न सकिने बताउनुभयो । 

रङ्गेली नगरपालिकामा पर्ने सङ्घीय निर्वाचन क्षेत्र नम्बर ५  र क्षेत्र नम्बर २ का ६ वटा वडाहरुसहित ९ वटै वडामा वडा अध्यक्षसहित प्रमुखमा नेकपा (एमाले)का दिलीप वगडिया तथा उपप्रमुखमा झुमा निरौला गौतम विजयी हुनुभएको छ ।