• २५ वैशाख २०८२, बिहिबार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई ल्यापटप

blog

सर्वोत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्नुहुँदै नगर प्रमुख अमिर मादने । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई एक–एक थान ल्यापटप प्रदान गरेको छ। फुङ्लिङ नगरपालिकाभित्रबाट २०८१ को एसइईमा सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रालाई ल्यापटप कम्प्युटर प्रदान गरी सम्मान गरिएको हो।

एसइईमा सर्वाेत्कष्ट नतिजा ल्याई ल्यापटप प्राप्त गर्नेमा राजीव रनपाल र प्रतिमा पुरी रहनुभएको छ। फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानुजन माध्यमिक विद्यालयबाट एसइईमा सहभागी भई छात्र रनपालले ३.६१ जिपिए र छात्रा पुरीले ३.६७ जिपिए नतिजा ल्याउनुभएको छ। नगरपालिकाभित्रका विद्यालयमध्येबाट रनपाल र पुरी सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा हुनुहुन्छ।

सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन र उपम्रमुख भीमादेवी ओझाले बुधबार ल्यापटप र सम्मानपत्र प्रदान गर्नुभएको छ। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, शिक्षा शाखा प्रमुख प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो। विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गर्न साथै पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ।