• २६ वैशाख २०८२, शुक्रबार

किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

blog

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभामा सांसदहरूले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्त्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बतानुभयो ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ÷नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट निर्माण पहुँचका आधारमाभन्दा पनि आवश्यकताको आधारमा गन माग गर्नुभयो ।

सांसद सूर्यबहादुर थापाले देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न बजेट  सुनिश्चितताको माग गर्नुभयो । बर्दियाको नगदीघाटस्थित पुलको स्रोत सुनिश्चिता भए पनि अझै ठेक्का लाग्न नसकेको उहाँले बताउनुभयो ।

सांसद हरि ढकालले नेपाल राष्ट्र बैँकको नेतृत्व नियुक्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गर्नुभएको आर्थिक विवरणले आमजनतामा अन्योल सिर्जना गरेकाले प्राधिरकणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । 

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि सङ्घीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस