निशा राई
धरान, वैशाख २६ गते । मदन भण्डारी राजमार्गको धरान उपमहानगरपालिका–८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे–खहरे पुल भत्किएको वर्ष दिन हुन लाग्दासमेत पुनर्निर्माण भएको छैन । नेपाल सरकारको लगानीमा २०८० सालमा दुई लेनको मदन भण्डारी राजमार्ग कालोपत्रे गरिएको थियो । सोही वर्षको चैत महिनामा निर्माण सम्पन्न भएको राजमार्ग धरान–८, अरुण टोलस्थित तीनढ्वाङ्गे खहरेको पुल भने राजमार्ग सम्पन्न भएको पाँच महिना नबित्दै गत साउन महिनामै भत्किएको थियो ।
उक्त पुल भत्किएको करिब एक वर्ष हुन लाग्दासमेत सरकारले पुनर्निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । पुल भत्किएसँगै बर्खामा हिँडडुल गर्न त्रास बढेको स्थानीय जीवन तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई आवतजावत गर्न सास्ती भइरहेको छ काममा निस्कँदा पनि घुमेर जानुपर्ने बाध्यताले हामी हैरान भइसक्यौँ ।” पुल भत्किएको एक वर्ष हुन लाग्दा पनि पुल बनाउन सरकार गम्भीर नभएको उहाँको भनाइ छ ।
पुल नभएका कारण बालबालिका विद्यालय जाँदा तथा सर्वसाधारण आवतजावत गर्दा सास्ती खेप्दै आएका छन् । पुल भत्किएर बर्खामा खहरेको पानी थुनिएर बस्ती डुबानमा पर्ने जोखिम बढेको स्थानीयको गुनासो छ । यो खहरेखोलामा धरानको बजार क्षेत्रका ड्रेनको पानी मिसाइएकाले बर्खामा ठुलो बाढी आउने गर्छ । जसका कारण बर्खामा बाढीको जोखिम बढेको स्थानीयवासी रामबहादुर राईले बताउनुभयो ।
मदन भण्डारी राजमार्गको यो खण्ड बनाउँदा नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै जीर्ण पुलमाथि कालोपत्रे गरेका कारण भार थाम्न नसकेर भत्किएको उहाँले बताउनुभयो । छ दशकअघि निर्माण भएको यो पुल ठाउँ ठाउँमा भत्किन सुरु भइसकेको र जीर्ण अवस्थामै थियो । राजमार्ग कालोपत्रे हुँदा नयाँ पुल पनि बनाउनुपर्नेमा जीर्ण पुलमाथि पुल निर्माण गरेका कारण स्थानीयले सास्ती खेप्नु परेको राईले बताउनुभयो । राई भन्नुहुन्छ, “घुमेर जाँदा समय धेरै लाग्ने भएकाले जोखिम मोलेर भत्किएकै पुलबाट आवतजावत गर्न बाध्य छन् तर सवारीसाधन भने कुदाउन सकिने अवस्थामा छैन । साधन घुमाएर अर्को बाटोबाट जान बाध्य छन् ।”
धरान–८ का वडाध्यक्ष धनबहादुर राईले ब्रिटिस घोपा क्याम्प स्थापना हुँदा २०१७ सालमा बिपी प्रतिष्ठान जान सहज र छोटो दुरी हुने भएकाले फलामको पाताको तीन वटा ढ्वाङ राखिएर ३२ फुट लम्बाइको यो पुल निर्माण गरिएको बताउनुभयो । मदन भण्डारी राजमार्ग निर्माण हुँदा नयाँ पुल बनाउन चासो नदिएर जीर्ण संरचनामाथि नै पिच गर्दा पुलले भार थाम्न नसकेर भत्किएको उहाँले बताउनुभयो । “पुल जीर्ण थियो यस्तो अवस्थामा नयाँ पुल बनाउनुपर्नेमा त्यसमाथि नै मदन भण्डारी राजमार्ग आयोजनाले पिच गरेर लापर्बाही गर्दा यो अवस्था सिर्जना भएको हो,” उहाँले भन्नुभयो ।
पुरानो पुलमै पिच गर्ने बेलामा स्थानीयले विरोध गर्दा त्यतिबेला नयाँ पुल बनाउने आश्वासन दिएर नै कालोपत्रे गरिदिएको थियो तर केही समयमा नै पुरानो पुलले भार थाम्न नसकेर पुल भत्कियो । राजमार्ग कालोपत्रे बनाउने ठेक्का मोती दान निर्माण कम्पनी काठमाडौँले पाएको थियो । ठेकेदार कम्पनीका प्राविधिक इसाहाक राईले कलर्भट र कालोपत्रे गर्ने ठेक्का मात्र पाएकाले जीर्ण पुलमै कालोपत्रे गरिएको जनाकारी दिनुभयो ।
पुल निर्माण नभइन्जेलसम्म अस्थायी प्रकृतिको क्याबिन लाएर कलभर्टबाट पानी बगाउने योजना बनाइएको धरान उपमहानगर उपप्रमुख आइन्द्रविव्रmम बेघाले बताउनुभयो । पुलको पुनर्निर्माणका लागि मदन भण्डारी राजमार्ग आयोजनासँग कुरा भएकाले छिट्टै पुल निर्माण प्रव्रिmया सुरु हुने उहाँले बताउनुभयो ।