• २६ वैशाख २०८२, शुक्रबार

नेकपा एसका अध्यक्ष नेपाललाई वार्डमा सार्ने तयारी

blog

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौँ, वैशाख २६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आउँदै गएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार मुटुको एन्जिओप्लास्टी गरिएको थियो ।

अस्पतालका निर्देशक डा.रत्नमणि गजुरेलले उहाँको स्वास्थ्यमा सुधार आउँदै गएको बताउनुभयो । डा.गजुरेलका अनुसार शल्यक्रिया गरेको २४ घण्टापछि नेता नेपाललाई वार्डमा सार्ने तयारी भइरहेको छ ।  

उहाँले नेता नेपालको ७२ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेता नेपालको बिहीबार एन्जिओप्लास्टी गरिएको हो । २४ घण्टा सिसियुमा राखेपछि वार्डमा सार्ने तयारी भइरहेको छ । अब शल्यक्रिया गरेको ७२ घण्टा सम्म चिकित्सकको निगारनीमा राखेर उपचार गरिने छ ।”

नेपालको मुटुको एक नसा साँधुरो भएकाले नियमित जाँच गरेर योजनाबद्ध रूपमा एन्जिओप्लास्टी गरिएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “नेपालको मुटुको नसामा पहिल्यैदेखि समस्या थियो । योजनाबद्ध रूपमा नै उहाँको एन्जिओप्लास्टी गरिएको हो ।” 

मुटुको रक्त नलीमा भएको अवरोध हटाउने प्रक्रियालाई एन्जियोप्लास्टी भनिन्छ । मुटुको रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो भई रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई समाधान गर्न एन्जियोप्लास्टी गरिन्छ ।