रातो रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजी माझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
चालिसको दशकमा डेनी डेन्जोङ्पाले गाउनुभएको थियो, कान्छीलाई काठमाडौँ घुमाउने गीत । त्यो समय घुम्ने घुमाउने ठाउँ सीमित थिए तथापि अहिले घुम्ने ठाउँ धेरै छन् । सहज पदयात्रादेखि साहसिक पदयात्रासम्मका लागि समूह साथी या एक्लाएक्लै घुम्ने संस्कृति नेपाली समाजमा बढ्दै पनि गएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको पदयात्रा होस् या सहरनजिकका गाउँबस्ती र उकालीओराली, घुमघाममा निस्कनेको सङ्ख्या बढ्दो छ ।
नेपालको घुमघाम परम्परा विद्यालय र विश्वविद्यालयको शैक्षिक भ्रमणमा सीमित थियो । कि त ज्येष्ठ नागरिक धार्मिक तीर्थाटनमा निस्कन्थे । पछिल्लो समय युवापुस्तामा घुमघाम संस्कृतिले व्यापकता पाएको छ । घुम्नका लागि नयाँ नयाँ गन्तव्यसमेत पहिचान हुँदै गएका छन् । यसले आन्तरिक पर्यटनको बजारलाई बृहत् बनाइदिएको छ । पर्यटन विकासका लागि प्रदेश र स्थानीय सरकारले समेत विशिष्ट योजना बनाई कार्यान्वयन गरिरहेका छन् । यसले गर्दा घुमघामका सोखिनलाई नयाँ नयाँ गन्तव्य प्राप्त भइरहेको छ । साहसिक पर्यटनमा सगरमाथा आरोहणको स्थान विश्वमै उच्च छ । कोशी प्रदेशमै विश्वको अग्लो शिखर सगरमाथा छ । नेपालकै होचो स्थान झापाको कचनकबल पनि कोशीमै पर्छ । विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल कोशीमै पर्छ । भौगोलिक विविधताभित्रको प्राकृतिक सुन्दरताले कोशीको पर्यटन सम्भावना ज्यादा देखिन्छ । सुन्दर पहाड र हिमवत्खण्ड, उच्च हिमशृङ्खलालगायत प्राकृतिक सम्पदाका लागि कोशी प्रदेश महत्वपूर्ण गन्तव्यका रूपमा रहेको छ । १४ जिल्ला समेटिएको कोशी प्रदेश हिमाल, पहाडदेखि तराईसम्म फैलिएकाले यहाँका पर्यटन गन्तव्य वास्तवमै मनमोहक छन् ।
कोशीमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ वटा स्थानीय तह छन् । ती सबै तहमा फरक पहिचान र महत्व बोेकेका पर्यटकीय गन्तव्य छन् । तमोर, अरुण, दुधकोशी, लिखु, सुनकोशी, सप्तकोशीलगायत नदीमा जल पर्यटनको सम्भावना पनि छ तथापि कोशीका पर्यटकीय गन्तव्यको व्यवस्थित प्रवर्धन हुन सकिरहेको छैन ।
कोशी प्रदेश सरकारका पूर्वप्रवक्ता शमशेर राईका अनुसार पर्यटनका हिसाबले कोशीको व्यापक सम्भावना छ । यसले कोशीको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा दिने छ ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
भूपी शेरचनको शब्द, गोपाल योञ्जनको सङ्गीत र नारायणगोपालको स्वरको यो कालजयी गीतले चियाको उल्कै बखान उहिल्यैदेखि गरेको हो । चियाबारीका हरिया कलकलाउँदा टारी फाँट कोशीमै छन् । राष्ट्रिय निकुञ्ज, हिमाल, पहाड र तराईमा फरक पहिचान एवं आकर्षण बोकेका दर्जनौँ स्थान छन् ।
कोशी प्रदेश कृषि, धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले कमजोर छैन । प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र दक्षिणतर्फ विहार पर्छ । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने भएकाले भारतीय, बङ्गलादेशी एवं चिनियाँ पर्यटक भित्र्याउन सकिने प्रशस्त आधार छन् । हिमाली क्षेत्र सगरमाथा, कञ्चनजङ्गा मकालु, चोयु, ल्होत्से हिमशृृङ्खला देखाएर वा आरोहण गराएर कोशीले समृद्धि हासिल गर्न सक्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत घुमघामका रमाइला गन्तव्य हुन् ।
असङ्ख्य मठमन्दिर, पाटीपौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोशीमा धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ । ताप्लेजुङको पाथीभरा, इलामको माईपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षीधाम, सुनसरीको वराहक्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत वराहपोखरी, साल्पापोखरी, दुधकुण्ड, कालिकादेवी, छिन्ताङदेवी, कनकाई आदि प्रख्यात धार्मिक स्थल कोशीमै छन् ।
विश्वकै गहिरो उपत्यका अरुण, ३२ प्रकारका लालीगुराँसमध्मे २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी जस्ता स्थानले कोशीको पर्यटनमा काँचुली फेर्न सक्छ । बसोबासका लागि सुविधासम्पन्न होटेल, रिसोर्ट र कटेजसमेत कोशी प्रदेशका विभिन्न स्थानमा निर्माण भइरहेका छन् ।
बेलायती युवराजले २०३८ सालमा भ्रमण गरेको भेडेटार र २०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेपछि कोशीको पहिचान विश्वमा छरिएको हो । इलाम चियाखेतीका कारण चर्चित छ । कोशीटप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । कोशीमा करिब नौ वटा विमानस्थल छन् । तीमध्ये दुई वटा मात्र निरन्तर सञ्चालनमा छन् । एसिया हाइवेसँग जोडिएको काँकडभिट्टादेखि सुरु भएको पूर्वपश्चिम राजमार्गले पर्यटकलाई सहज भएको छ ।
पदयात्रा गर्दै पाथीभरा
ताप्लेजुङको पाथीभरा पदयात्राका लागि प्रख्यात छ । हिन्दु एवं बौद्ध धर्मावलम्बीको प्रख्यात धार्मिक स्थल पाथीभरामा विशेष गरी भारतीय पर्यटक दार्जिलिङ वा सिलिगुडी हुँदै पुग्ने गर्छन् । १२ हजार फिट उचाइमा रहेको मन्दिरलाई विश्वास, आस्था एवं पवित्रताकी देवीका रूपमा मान्ने गरिन्छ । लिम्बू समुदायले पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भन्छन् । लिम्बू भाषामा ‘मुकुम’ को अर्थ शक्ति वा बल र ‘लुङ’ को अर्थ ढुङ्गा भन्ने लाग्छ । अर्थात् लिम्बू जातिले पाथीभरालाई शक्ति वा बलको स्रोतका रूपमा लिने गर्छन् । पाथीभरा देवीस्थाननजिकै २०७७ सालमा किराँत मन्दिर निर्माण गरिएको छ । यस मन्दिरको प्राङ्गणमा गुरु फाल्गुनन्दको सालिक राखिएको छ । आस्था र विश्वासको पवित्र स्थल पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट १९.४ किलोमिटर पूर्वोत्तर जानु पर्छ । यो मन्दिरमा बर्सैभरि भक्तजनको घुँइचो लाग्छ ।
यस मन्दिरसम्म पुग्ने केबुलकार निर्माणको योजना छ । स्थानीयले भने यसको विरोध गर्दै आएका छन् । पदमार्ग हुँदै पाथीभरासम्म पर्यटक लैजाँदा सयौँ मानिसले रोजगारी प्राप्त गरिरहेकाले केबुलकारले त्यो रोजगारी खोसिने धारणा स्थानीयको छ । मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरलाई श्रद्धा र भक्तिपूर्वक पुकारिन्छ । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण, ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
घुम्न जाऊँ साधुटार फालोट
इलाम र ताप्लेजुङको बिचमा रहेको पाँचथरमा घुम्नलायक प्रशस्त गन्तव्य छन् । घुमघामका लागि नयाँ नयाँ गन्तव्यको खोजीसमेत भइरहेको छ । पर्यटकका लागि चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौँरी र भेडाका घण्टीको आवाजमा रमाउँदै पुग्न सकिने गन्तव्य लब्रेकुटी, साधुटार र फालोटलाई रोजाइमा पार्न सकिन्छ । किराँत धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने लब्रेकुटी अध्यात्म र रमणीय प्रकृतिको गन्तव्य हो । यहाँको गुराँसको जङ्गल घुम्दा दिन बितेको पत्तो हुँदैन । नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिने फालोट क्षेत्र यहाँको अर्को उत्कृष्ट गन्तव्य हो ।
फालोटका चारराते, तीन सिमाना, गोर्खेपानीलगायत स्थान पुग्न फिदिमबाट कच्ची बाटोको यात्रा गर्नु पर्छ । पछिल्लो समय धेरैको रोजाइमा पर्ने साधुटारको सानो पोखरी निकै मनमोहक लाग्छ । कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको छाया डाँडामा रहेको सानो पोखरीमा पर्दा देखिने दृश्यले मोहित बनाउँछ ।
अन्तु हुँदै माईपोखरी
इलामका हरेक पर्यटकीय गन्तव्य सुगम स्थानमा छन् । यातायातको राम्रो सुविधा छ । इलाम सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा सुन्दर माईपोखरी छ । एक किलोमिटर क्षेत्रफलमा फैलिएको माईपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको हो । यो स्थान हरियाली र मनमोहक छ । यहाँबाट पैदल हिँडेर अर्को चर्चित गन्तव्य सन्दकपुर पुग्न सकिन्छ । यता झापाबाट करिब ५० किलोमिटरमाथि रहेको इलामकै अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात छ । हिजोआज यो स्थान ‘डेटिङ स्पट’ वा हनिमुन गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यता मेची राजमार्गसँगै रहेको कन्याम चियाबारी घुम्नेका लागि चर्चित गन्तव्य हो । स्थानीय पर्यटन व्यवसायी टेकराज गिरीका अनुसार कन्याम घुमिसकेका पर्यटक अन्तु पुग्ने गर्छन् । कन्याममा जातीय पोसाकको पहिरन, घोडचढी, टी गार्डेन हाइकिङका लागि पर्यटकले धेरै समय बिताउने गरेका गिरीले बताउनुभयो ।
कचन र जामुनखाडी
झापाको सदरमुकाम चन्द्रगढी बजारदेखि २६ किलोमिटर सडक दुरीमा रहेको कचनकबल नेपालको सबभन्दा होचो ठाउँ हो । समुद्री सतहबाट ५८ मिटर मात्र उचाइमा रहेको कचन पर्यटकको रोजाइमा रहँदै आएको छ । चन्द्रगढीबाट पूर्वपश्चिम राजमार्गमा निस्किएपछि सतासीधाम, कनकाई, अर्जुनधारा जान सकिन्छ । जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिले सिमसारसहितको वन क्षेत्रलाई संरक्षण गरेर घुम्नलायक ठाउँ बनाएको छ । सो ठाउँ गर्मी छल्नका लागि रमाइलो गन्तव्य हो ।
कोशीटप्पुमा चरा पर्यटन
सुनसरी पुग्नेबित्तिकै जोकोही धरान पुग्न चाहन्छन् । धरान पूर्वी नेपालको आधुनिक सहर हो । धरानमा घुम्नलायक प्रशस्त गन्तव्य छन् । वराहक्षेत्र, विष्णुपादुका, चतराधाम, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, शिवजट्टालगायत ठाउँ सुनसरी उत्रिएपछि पुग्नैपर्ने स्थान हुन् । सप्तकोसी जल पर्यटनको रमाइलो गन्तव्य हो । सुनसरीमा कोशीटप्पु वन्यजन्तु आरक्ष धेरैको रोजाइमा पर्छ ।
विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सुनसरी, सप्तरी र उदयपुरमा समेत फैलिएको यो ठाउँ १९८७ मा रामसार क्षेत्रका रूपमा सूचीकृत भएको हो । नेपालको पहिलो ठुलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा करिब पाँच सय प्रजातिका चरा, दुर्लभ अर्ना र डल्फिनसमेत पाइन्छ ।
बदलिइरहने मौसम यहाँको पहिचान हो । तराईको मस्त गर्मी छल्न पर्यटक आरक्षणतिर छिर्ने गर्छन् । विराटनगरबाट करिब ५० किलोमिटर उत्तरपश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिमदक्षिणमा अवस्थित कोशीको टप्पु कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । त्यसबाहेक इटहरी, इनरुवालगायतका सहर सुनसरीका घुम्नलायक ठाउँ हुन् ।
बेतना सिमसारमा बेत
मोरङ एक औद्योगिक नगरी हो । कोशी प्रदेशको राजधानी विराटगर यहीँ छ । महाभारतकालीन विराट् राजाको दरबार यहाँको चर्चित स्थान हो । राजारानी धिमालपोखरी, गोविन्दपुरको सुनवर्षी पोखरीसहित नेपालकै पहिलो उद्योग विराट जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विभिन्न उद्योग तथा कलकारखाना यहीँ छन् ।
विशेष गरी बेलबारी नगरपालिका–९ महेन्द्र राजमार्गसँगै जोडिएको वेतना सिमसार कोशी प्रदेशकै चर्चित गन्तव्य हो । दुई प्रजातिको बेत वनस्पतिको जङ्गल नै रहेकाले यस क्षेत्रलाई बेतना सिमसार भनिएको हो । करिब ६५ बिघामा फैलिएको यहाँ साइबेरियादेखि चराहरू आउने गर्छन् । दुर्लभ चरा, कछुवा, माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छ । त्यसबाहेक बेतनी सिमसार, हसिना सिमसार क्षेत्र पछिल्लो पटक घुम्नका लागि गन्तव्य बन्न सक्छन् । वनजङ्गलको शीतल छहारी अनि शान्त र मनोरम ठाउँ हो यो । बेतेनी ताल, रानीवन, बाघझोडा क्षेत्र पनि यहाँका घुम्नलायक स्थान हुन् ।
सेन राजाका गढी किल्ला
उदयपुर देशकै सबैभन्दा ठुलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण प्रख्यात छ । भित्री मधेश, चुरे र महाभारत क्षेत्रका कारण यहाँको प्राकृतिक सुन्दरता तारिफयोग्य छ । उदयपुरगढीलाई सरकारले घुम्नलायक १०० औँ पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरिसकेकाले यसको महत्व अलग्गै छ । तत्कालीन उदयसेन राजाले राज गरेको यो गढी अहिले पनि पुरातात्त्विक महत्वका कारण चर्चित छ । धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरी घुम्नलायक अर्को गन्तव्य हो ।
लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेस्ट भ्यु टपले धेरैको मन खिचेको छ । नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्त्विक स्थलमध्येको चौदण्डीगढी तत्कालीन सेनवंशीय राज्यको राजधानी रहेको स्थानमा छ । गाईघाटबाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा पर्ने यहाँ घुम्नका लागि पर्यटकको भिड लाग्ने गर्छ । त्यसबाहेक माताप्लीपोखरी, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी, भुतियापोखरीलगायतका ठाउँ उदयपुरमा घुम्नका लागि मुख्य गन्तव्य हुन् ।
भेडेटार र हिलेको तोङ्बा
धनकुटामा प्रशस्त घुम्नलायक स्थान छन् । पर्यटकीय गन्तव्यका रूपमा धेरै स्थानले प्रख्याति कमाइसकेका छन् । पूर्वाञ्चल विकास क्षेत्र हुँदा सदरमुकाम रहेको धनकुटा बजार, भेडेटार, नाम्जेगाउँ, नमस्ते झरना, राजारानी पोखरी यहाँका चर्चित स्थान हुन् । साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार पूर्वी नेपालकै चर्चित गन्तव्य हो । छिनछिनमा मौसम परिवर्तन भइरहने यो क्षेत्रनजिक रहेको भेडेटार नाम्जेको मगरगाउँलाई सिएनएनले विश्वका घुम्नैपर्ने १२ औँ गन्तव्यको सूचीमा राखेको थियो । तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ । समुद्री सतहबाट एक हजार ४२० मिटरको उचाइ रहेको भेडेटार धार्मिक, सांंस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यका कारण प्रख्यात छ । भेडेटार क्षेत्रमा तरुण, ज्येष्ठ र केटाकेटीको घुइँचो लाग्ने गरेको छ । धरान बजारबाट १६ किलोमिटरको दुरीमा रहेको भेडेटार हुँदै हिलेसम्म पुगेर रमाइलो गर्न पाइन्छ । बर्सैभरि चिसो हावापानी रहने हिलेमा चिसोमा रमाउन चाहनेहरू यहाँ पुग्ने गर्छन् । तोङ्बा र सुकुटीका परिकारका कारण यो प्रख्यात छ ।
गुराँस हेर्दै टिएमजे
ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुमको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) नेपालकै ठुलो गुराँस वन क्षेत्र हो । तेह्रथुम यात्रामा निस्किँदा टिएमजे पुग्नैपर्ने ठाउँ हो । राता, सेता, गुलाबीलगायत मिश्रित गुराँसले जोकोहीको मन सुगन्धित बनाउँछ । माघदेखि जेठसम्म यहाँ गुराँस फुल्छ । यहाँ नेपालमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइने अध्ययनले देखाएको छ । धरानबाट ८७ किलोमिटर वसन्तपुर र वसन्तपुरदेखि पाँच किलोमिटर यात्रा गर्दा यहाँ पुगिन्छ । तेह्रथुममा नेपालकै अग्लो ह्यात्रुङ झरना, चिचिलिङपोखरी, वसन्तपुर, सोल्मा चियाबगान, सिंहवाहिनी भगवती मन्दिर आदि घुम्नलायक स्थान हुन् ।
अरुण उपत्यका
विश्वको पाँचौँ अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका (अरुण भ्याली) सङ्खुवासभामै पर्छ । सभापोखरी, पाँचपोखरी, गुफापोखरी यहाँका घुम्नलायक स्थान हुन् । कोसेलीका रूपमा चैनपुरे करुवा चर्चित छ । विशेष गरी अरुण भ्याली पर्यटकको रोजाइको स्थान हो ।
जैविक विविधता, मनमोहक प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले यहाँको बेग्लै पहिचान झल्काउँछ । उपत्यकाको बिचबाट नागबेली झैँ निरन्तर बगिरहने अरुण नदी उपत्यकाको अर्काे सुन्दरता हो । सगरमाथा र मकालु पदमार्गको बिचमा पर्ने भएकाले पदयात्राका लागि पनि यो ठाउँ उत्तम मानिन्छ । रोचक कुरा के छ भने विश्वकै गहिरो अरुण भ्यालीबाट विश्वकै अग्लो शिखर सगरमाथा देख्न पाइन्छ । समुद्री सतहभन्दा तीन हजार छ सय मिटरसम्म गहिरो अनुमान गरिएको यहाँ पुग्न खाँदबारीबाट १३ किलोमिटर यात्रा गर्नु पर्छ ।
मुन्धुम पदमार्ग
सरकारले एक सय उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा अटाएको मुन्धुम पदमार्ग भोजपुरको पहिचान हो । किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित ‘मुन्धुम’ शब्दलाई आधार मानेर पदयात्रा विकास गरिएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभालाई आधार बनाएर ‘मुन्धुम ट्रेल’ बनाइएको छ । १२ दिनको यात्रापछि भोजपुरको बागखोर सुन्तलेमा टुङ्गिने पदमार्ग पछिल्लो समय कोशीको नयाँ गन्तव्यका रूपमा विकसित भएको छ । करिब १०७ किलोमिटरको पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, चोयुलगायत आठ हजार मिटर अग्ला छ हिमाल देख्न सकिन्छ । त्यसबाहेक दिङ्ला, नेपालेडाँडा, सोमबारे, साल्पापोखरीलगायतका ठाउँ घुम्नका लागि प्रसिद्ध छन् ।
धार्मिक पर्यटन हलेसी
पूर्वको पशुपतिनाथ मानिने हलेसी महादेव धार्मिक पर्यटनको अब्बल गन्तव्य हो । हिन्दु धर्ममा आस्था राख्नेले यसलाई पशुपतिनाथका रूपमा, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनीका रूपमा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा यसको पूजाआजा गर्छन् । मन्दिरपरिसरमा हलेसी, बसाहा र भैरव गरी तीन वटा गुफा छन् । मन्दिर दर्शन गरे दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र पदोन्नति हुन्छ भन्ने विश्वास छ । काठमाडौँबाट हलेसी जाने दुई बाटा छन् । हेलिकोप्टर चार्टर गरेर पनि यहाँ पुगिन्छ । हलेसीबाहेक वराहपोखरी, तुवाचुङ जायजुम, मुढेडाँडा, रूपाकोटडाँडा, मझुवागढी आदि घुम्नलायक स्थान छन् ।
पोकली झरना सेल्फी
ओखलढुङ्गामा अवस्थित देशकै दोस्रो अग्लो पोकली झरना कोशी प्रदेशको एक गन्तव्य हो । १३० मिटर उचाइको यो झरना समुद्री सतहदेखि करिब २,२०० मिटर उचाइमा छ । सरकारले सय गन्तव्यको सूचीमा समेटेको यहाँ पुग्न सदरमुकामबाट १२ घण्टा पैदलयात्रा गर्नु पर्छ । सदरमुकाम जोड्ने कच्ची सडकको यात्रा गर्दा बसमा करिब छ घण्टा लाग्छ । त्यसबाहेक जिल्लामा सेलेले झरना रातमाले, ढिकुरे, सेप्ली आदि घुम्ने स्थान हुन् । गुरुङ समुदायको बाहुल्य रहेको रुम्जाटार अर्को पर्यटकीय गन्तव्य हो ।
सोलुमा हिमालैहिमाल
हिमालै हिमालको जिल्ला हो, सोलुखुम्बु । ८८४८.८६ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथाका कारण सोलुखुम्बु विश्वमा चर्चित छ । सगरमाथासहित ल्होत्से, चोयु, ग्याचुङ्गाङ, पुमोरी, अमादब्लम, पासाङल्हामुलगायतका अग्ला शिखर यसै जिल्लामा छन् । नाम्चेबजार र संसारकै अग्लो स्थानमा रहेको ‘होटेल एभरेस्ट भ्यु’ यहाँका व्यस्त पर्यटकीय गन्तव्य हुन् ।
समुद्री सतहबाट ४, ६३२ मिटरको उचाइमा रहेको दुधकुण्ड, गङ्गा नदीको शिर मानिने साल्पापोखरी, पतालेडाँडा, सगरमाथा आधार क्षेत्र सोलुका चर्चित गन्तव्य हुन् । ‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ यहाँको नयाँ पदमार्ग हो । हर्कपुर, ओखलढुङ्गा हुँदै सडकबाट र तेन्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थलमा ओर्लिएर पनि सोलु घुम्न सकिन्छ ।