टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २६ गते । गुल्मीको मुसिकोट नगरपालिकामा ४७४ जनाको एआई प्रविधिबाट निःशुल्क क्षयरोग स्क्रिनिङ गरिएको छ । यो अभियान जिल्लामा मुसिकोट नगरमा मात्रै छ ।
क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत एआईबाट निःशुल्क क्षयरोग स्क्रिनिङ गर्ने अभियान सुरु गरिएको हो । अहिलेसम्म भएका तीन स्वास्थ्यचौकीका स्क्रिनिङ मा १११ जना सम्भावित र २३ जना क्षयरोगी पत्ता लागेका छन् । मुसिकोट नगरपालिका १ को पौदी अमराई स्वास्थ्यचौकी, वडा नं ३ को वडागाउँ स्वास्थ्यचौकी, वडा नं ६ को कुर्घा स्वास्थ्यचौकी र वडा नं ७ को वामी स्वास्थ्यचौकीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिने मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।
पौदी अमराई स्वास्थ्यचौकी, वडागाउँ स्वास्थ्यचौकी र कुर्घा स्वास्थ्यचौकीमा क्षयरोगको स्क्रिनिङ गरिएको छ । पौदीमा १७० जनाको परीक्षण गर्दा ३६ सम्भावित र नौ जना क्षयरोगका बिरामी भेटिएका छन् । वडागाउँमा ९३ जनाको परीक्षण गर्दा ३९ जना सम्भावित र आठ जना क्षयरोगी भेटिएको जिसीले बताउनुभयो ।
त्यस्तै कुर्घा स्वास्थ्य चौकीमा २११ जनाको परिक्षण गर्दा ४१ सम्भावित र छ जना क्षयरोगी भेटिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कन्सल्टेन्ट फिजिसियन डाक्टर कृष्ण खनाल र पृथ्वीचन्द्र अस्पताल परासीका वरिष्ठ रेडियोलोजिस्ट कामेश्वर थारूले अत्याधुनिक एआई मेसिनद्वारा क्षयरोगको स्क्रिनिङ गरिरहनुभएको छ ।
नगरपालिकाभित्रका नागरिकले आफूलाई पायक पर्ने चार स्वास्थ्यचौकीमा गएर क्षयरोग परीक्षण गर्न सक्ने स्वास्थ्य संयोजक जिसीले बताउनुभयो । उहाँका अनुसार कुर्घा र वामीमा परीक्षण गर्न बाँकी छ । लगभग एक हजार जनाको निःशुल्क क्षयरोग स्क्रिनिङ गर्ने लक्ष्य रहेको जिसीले बताउनुभयो ।