• २६ वैशाख २०८२, शुक्रबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

blog

काठमाडौँ, वैशाख २६ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौँ तार्केश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका–५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् ।

पक्राउमध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३५ लाख तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पैसा लिई सम्पर्कविही भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका–८ बाट र रूपेशलाई काठमाडौँ महानगरपालिका–१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौँ महानगरपालिका–१३ बाट बिहीबार पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।