• १२ माघ २०८१, शनिबार

रेसुङ्गा नगरले वडा-१४ लाई विभाजन गर्ने

blog

१६ औँ नगर सभाका सभासदहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस ९ गते । रेसुङ्गा नगरपालिकाले वडा नम्बर-१४ लाई विभाजन गरी दुई वटा वडा बनाउने प्रस्ताव नगर सभाबाट पारित गरेको छ । मङ्गलबार नगरको १६ औँ नगर सभामा मानव संसाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले वडा विभाजन गरी दुई वटा बनाउने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । 

नगरपालिका वडाहरुमध्ये वडा नम्बर–१४ भौगोलिक रुपमा विकट र ठूलो वडाको रुपमा रहेकाले वडा नम्बर–१४ को पराल्मी र रातामाटालाई दुई वटा वडाको रुपमा विभाजन गर्ने निर्णय गरिएको हो ।

रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले भौगोलिक रुपमा विकट भएका कारण वडा विभाजन गर्नुपरेको बताउनुभयो । पराल्मी र रातामाटाका नागरिकहरुको भेट तम्घास मात्रै आएर हुने अवस्था रहेकाले उक्त निर्णय गरिएको उहाँको दाबी छ । 

नगर सभाको निर्णयलाई लुम्बिनी प्रदेशमा पठाउन र प्रदेशले सङ्घमा सिफारिस गर्नुपर्ने प्रावधान रहेको पन्थीले बताउनुभयो । वडा विभाजन गर्ने अन्तिम अधिकार सङ्घीय सरकारले गर्नेछ । हाल नगरमा १४ वटा वडा छन् । एउटा वडा विभाजन भएर आएमा १५ वटा वडा हुनेछन् । 

नगर सभामा पर्यटन विकास विधेयक २०८१ विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको छ । बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ र नगरपालिकाको स्थानीय वन विधेयक २०८१ विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । 

नगर सभामा नगरप्रमुख खिलध्वज पन्थीले यस आर्थिक वर्षको हालसम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरको यस आर्थिक वर्षको हालसम्म ५२ प्रतिशत र वित्तीय चालूतर्फ २४ प्रतिशत गरी २९ दशमलव १३ प्रतिशत वित्तीय प्रगति भएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।