• १२ पुस २०८१, शुक्रबार

यु–१९ महिला विश्वकपको तयारीमा व्यस्त नेपाली टोली

blog

भरतपुर मैदानमा तयारी गर्दै नेपाली यु–१९ महिला खेलाडी ।

काठमाडौँ, पुस ११ गते । मलेसियामा हालै सम्पन्न यु–१९ महिला एसिया कपको सुपर चारबाट बाहिरिएको नेपाली टोली पुन: अर्को ठुलो प्रतियोगिताको तयारीमा जुटेको छ ।

नेपाली महिला टोली मलेसियामै आयोजना हुने आसन्न आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटको तयारीमा जुटेको हो । नेपाली महिला टोलीले चितवनको निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आफ्नो तयारी सुरु गरेको छ । 

नेपाली टोली अन्तिम तयारी गरेर पुस अन्तिम साता विश्वकप खेल्न मलेसिया जानेछ । नेपाली टोलीको तयारीमा १८ खेलाडी छन् । नेपाली टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाल हुनुहुन्छ । विश्वकपमा माघ ५ गतेदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ । 

नेपालले गत कात्तिकमा भएको एसियाली छनोट खेलमा युएईलाई आठ विकेटले हराउँदै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा छनोट भएकै कारण नेपालले हालै मलेसियामा भएको एसिसी महिला यु–१९ एसिया कप खेल्ने मौका पाएको थियो ।


एसिया कपमा नेपाल सुपर चारको अन्तिम खेलमा बङ्गलादेशसँग नौ विकेटले पराजित भएसँगै फाइनल पुग्नबाट वन्चित भएको थियो । नेपालले एसिया कपको समूह चरणम पाकिस्तानलाई ६ विकेटले हराएको थियो । नेपाल र श्रीलङ्काबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो।