• १० मंसिर २०८१, सोमबार

२२ दललाई जनमत

blog

काठमाडौँ, जेठ ६ गते ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २२ वटा दलले विभिन्न पदमा विजय हासिल गरेका छन् । बिहीबारसम्मको मतगणनाको परिणामअनुसार वडा सदस्यदेखि नगरप्रमुख, अध्यक्षसम्मका पदमा निर्वाचित भएका पार्टीको सङ्ख्या २२ पुगेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा ११२ वटा दल दर्ता भए पनि अधिकांश पुराना दल मात्र जनमत परीक्षणमा सफल भएका छन् । 

देशभरका सबै स्थानीय तहका सबै पदमा विजय हासिल गर्न सफल पुराना र ठूला दलहरू नेपाली काँग्रेस, नेपाल कम्युुनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अघिल्ला निर्वाचनमा भाग लिएका दलहरूमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले पनि केही स्थानीय तहका केही पदमा विजय हासिल गरेका छन् ।

यस पटकको चुनावमा भाग लिएका नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाली काँग्रेस  (बीपी), नेपाल जनता पार्टी, जनता प्रगतिशील पार्टीले पनि यस पटक केही पदमा विजयका खाता खोलेका छन् । 

त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुशासन पार्टी, विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका साना दलले पनि वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्यजस्ता पदमा खाता खोल्न सकेका छन् । बिहीबार राति अबेरसम्मको सार्वजनिक मतगणना परिणामअनुसार नेपाली काँग्रेसका २६४ उम्मेदवारले नगरप्रमुुख र अध्यक्ष पदमा विजय हासिल गरेका छन् । उपप्रमुख र उपाध्यक्षमा २४५ स्थानमा विजयको जित हासिल गरेको छ । 

त्यसैगरी नेकपा (एमाले)ले नगरप्रमुख र अध्यक्ष पदमा १६९ पदमा र उपप्रमुख तथा उपाध्यक्ष पदमा १८३ स्थानमा जित्न सफल भएको  छ । परिणामका आधारमा काँग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी भएका छन् । माओवादी केन्द्र यस पटक पनि तेस्रो ठूलो दलका रूपमा उदाएको छ ।

सो पार्टीले नगरप्रमुख तथा अध्यक्ष १०८ पदमा जित हासिल गरेको छ भने उपप्रमुख र उपाध्यक्ष ११५ पदमा विजेता बनेको छ । जनता समाजवादी पार्टीले १६ वटा स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा  जितेको छ भने उपप्रमुख तथा उपाध्यक्ष पदमा १५ वटा स्थानमा विजय हासिल गरेको छ । त्यसैगरी एकीकृत समाजवादीले १४ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा र १५ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हासिल गरेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले पाँच स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने चार स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा पार्टीको झन्डा फहराएको छ ।