काठमाडौँ, साउन २४ गते। पछिल्ला दिनमा विश्व तापमान वृद्धि हुने दर वृद्धि भइरहेको छ। तापमान वृद्धिको असर सबैभन्दा बढी उच्च हिमाली क्षेत्रमा बढी पर्ने गरेको वैज्ञानिक अध्ययनले देखाइरहेका छन्।
संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) को अध्ययन प्रतिवेदन २०२५ ले विश्वको तापक्रम १ डिग्री सेल्सियसले वृद्धि हुँदा हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस बराबरको असर पर्ने गरेको देखाएको छ। सो प्रतिवेदनले तापक्रम वृद्धिको असर अरु भूमिभन्दा हिमालमा डेढ गुना पर्ने गरेको उल्लेख गरेको छ। सो अध्ययन प्रतिवेदनले आठ वटा मुख्य विषयलाई उठान गरेको छ। जसमध्य तापक्रम वृद्धि मानवीय गतिविधिका कारणले भइरहेको र तापमान वृद्धिले स्वयम् मानव जाति र प्रकृतिको अस्तित्वलाई चुनौती दिइरहेको कुरा प्रमुख रूपमा उठाएको छ। यही गतिमा तापमान वृद्धि हुँदै गएमा बासस्थान बिग्रने, आहारको अभाव हुने भएकाले तापमानसँग अनुकुलित हुन नसक्ने वनस्पति र वन्यजन्तु संसारबाटै लोप हुने सक्ने खतरा बढ्दै गएको कुरा पनि प्रतिवेदनले औंल्याएको छ।
बढ्दो तापमानले हिउँ पलाग्ने काम गर्छ। फलस्वरूप नयाँ नयाँ हिमताल निर्माण हुने गरेका छन्। हिउँरेखा पग्लिदै गर्दा वृक्ष रेखा (ट्रि लाइन) पनि माथि माथि सर्दै गइरहेको आइपिसिसीका विभिन्न अध्ययनले देखाएका छन्। हिमरेखा सरेसँगै वृक्ष रेखामा देखिएको परिवर्तनले वन, वनस्पति र वन्यजन्तुको बासस्थानमा पनि स्वभाविकै रूपमा परिवर्तन आउने गरेको छ। नेपालको पूर्वी भेगमा चार हजार २०० मिटरमा र पश्चिमी भेगमा तीन हजार आठ मिटरमा वृक्ष रेखा रहेको मानिन्छ। यद्धपी पछिल्ला दिनमा हिमालको हिउँ पग्लिदै जाँदा पाँच हजार मिटरसम्म वृक्ष रेखा सरेको बताइएको छ।
तापमान वृद्धि र हिउँ रेखा माथि सरेसँगै हिउँ चितुवाको बासस्थान साँघुरिँदै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले बताउनुभयो। डा. कडरियाका भनाइमा हिजोको दिनमा हिउँ चितुवा देखिने भेगमा अहिले चितुवा देखिन थालेका छन्। हिउँ चितुवा र चितुवाको बासस्थान एउटै होइन तर पनि उपल्लो भेगमा चितुवा देखिन थालेका छन्। दुबै मांसहारी प्राणी भएकाले एउटै बासस्थानमा दुई वटा वन्यजन्तुबिच आहारका लागि द्वन्द्व बढ्दै गएको छ। यसले कुनै एक वन्यजन्तुलाई सङ्कट निम्त्याउने सम्भावना बढेको छ।
तापमान वृद्धिले पूर्वी नेपालको ताप्लेजुङमा तल्लो भेगमा पाइने उतिस प्रजातिका बिरुवा माथिल्लो भेगसम्म उम्रिन थालेका छन्। कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले भन्नुभयो, ‘‘केही वर्ष पहिले तल तल देखिने बोटबिरुवा अहिले त माथिल्लो भेगमा देखिन थालेका छन्। पहिले हिउँ चितुवा ओलाङचुङगोला र घुन्सा क्षेत्रमा देखिने गरेको थियो भने अहिले त हिउँ चितुवा भेट्न माथि उक्लिनुपर्छ। पहिले हिउँचितुवाले भेडाबाख्रा, याक खान्थ्यो भने अहिले त्यो क्षेत्रमा चितुवाले दुःख दिन थालेको छ।’’
अध्यक्ष लिम्बूले भन्नुभयो, ‘‘अहिले लेकमा जाँदा पनि पहिलेको जस्तो लुगाफाटो लगाउनु पर्दैन। जति चिसो पहिले हुन्थ्यो, त्यस्तो छैन। आखिर हामी जस्तै वनस्पति र वन्यजन्तुलाई पनि तातो चिसोले असर पार्ने हो। अहिले लेकमा धान फल्न थालेको छ। अनि त्यो लेकमा पाइने जडिबुटी, वनस्पति कसरी बाँच्न सक्छ ? वनस्पति मासिन थालेपछि त्यही वनस्पति खाएर बाँच्ने वन्यजन्तु झन कसरी जोगिन सक्छन् ?’’
लिम्बूको भनाइसँग शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्याल पनि सहमत हुनुहुन्छ। अर्यालका भनाइमा तापमान वृद्धिले हिउँ रेखा आसपास बास बस्ने वन्यजन्तु र हुर्किने वनस्पति बढी प्रभावित भइरहेका छन्। उपल्लो डोल्पामा यसको प्रभाव बढी देख्न सकिन्छ। अर्यालले भन्नुभयो, ‘‘हिउँ रेखा माथि सर्दै जाँदा तल्लो भेगमा पाइने वनस्पति र वन्यजन्तु पनि माथि सर्दै जाने क्रम त हामीले देखिरहेका छौँ। कुन वनस्पति, कुन वन्यजन्तु माथि सर्दै गए, कुन सर्न नसकेर मर्दै गए भन्ने कुरा अध्ययन गरेपछि थाहा हुने भएकाले यस बारे अध्ययन गर्नुपर्ने आवश्यकता छ।’’
अर्यालका भनाइमा माथिल्लो डोल्पातिर हिउँ पर्ने दर निकै कम हुँदै गएको छ। हिमालमा भएको हिउँ पग्लिदै जाने र हिउँ पर्ने दर कम भएसँगै त्यसको प्रत्यक्ष असर वनस्पति र वन्यजन्तुमा बढी पर्ने गरेको छ। अर्यालले भन्नुभयो, पहिलेको जस्तो हिमपात हुने प्रणाली ‘ब्रेक’ भएको छ। हिउँ परिहाल्दा पनि धेरै कम पर्ने गरेको छ। हिउँ पर्छ वा पर्दैन भन्ने कुरा अनिश्चित हुँदै गएको छ।
तापक्रम वृद्धिले बिभिन्न मिचाहा प्रजातिको वनस्पतिको प्रकोप पनि बढ्दै गएको छ। मिचाहा प्रजातिको विस्तार र प्रसारले गर्दा वन्यजन्तुको आहार नासिने र कतिपय कमजोर खालका वनस्पति मासिने क्रम पनि बढेको छ। अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख डा. कडरियाका अनुसार उच्च हिमाली क्षेत्रमा चरिचरन क्षेत्रमा पहिलेको जस्तो लामो समयसम्म हरियाली देखिन छाडेको छ। डा. कडरियाले भन्नुभयो, ‘‘हिउँ परिराख्दा चरिचरन क्षेत्रमा हरियाली देखिने हो। तर अहिले हिउँ पर्ने क्रम घटेपछि चरिचरन क्षेत्र चाँडै सुख्खा हुने भएकाले वन्यजन्तुका लागि चाहिने पोसिलो घाँसपात, जडिबुटी पनि मर्न थालेका छन्। यसले एकातिर वनस्पति आफ्नो आयुकालसम्म बाँच्न नसक्ने स्थिति देखियो भने अर्काेतिर त्यही घाँसपात, वनस्पति खाएर बाँच्ने वन्यजन्तुका लागि आहारको कमी हुँदा वन्यजन्तुलाई चुनौती थपिएको छ।’’
तापमान वृद्धिको पहिलो प्रभाव धर्तिमा पर्ने गरेकोले त्यसको पहिलो असर वनस्पतिमा पर्दै गएको कुरा वनस्पति विभागका महानिर्देशक डा.सञ्जिव राईले बताउनुभयो। राईले भन्नुभयो, ‘‘हिमरेखा पाँच हजार मिटरमा हुने गरेको हामीले पढ्दै आएको हो तर अहिले छ हजार एक सय मिटरमा पनि वनस्पति पाइएको रेकर्ड गरिएको छ। यसले के देखाउन्छ भने हिमरेखा सर्दै गएको छ, हिमाली क्षेत्र साँघुरिँदै गएको छ।’’
डा. राईका अनुसार हिउँ पग्लेर हिउँरेखा माथि सर्दैमा वनस्पति उम्रिहाल्छ भन्ने पनि होइन। वनस्पति उम्रिन तापक्रमसँगै माटो, ढुङ्गाको सहजता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले तापमानसँगै माटो, ढुङ्गा र आद्रताको समिश्रण भएको ठाउँमा मात्र बोटविरुवा उम्रिन सक्छन्। जुनसुकै कारणले पनि लोप भइसकेको वनस्पति फेरि पुर्नस्थापना गर्न सकिने चुनौतीपूर्ण काम हो। तापक्रम वृद्धिले अस्तित्व हराएका वनस्पतिलाई त्यही मौज्दातमा प्राकृतिक रूपमा देख्न सकिने सम्भावना निकै कम हुने गर्छ।