अमरराज नहर्की
तनहुँ, फागुन १८ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सरगर्मी बढ्दै जाँदा तनहुँका मतदाताले आफ्ना पुराना र बल्झिरहेका समस्या समाधान गर्ने उम्मेदवारलाई मात्रै मतदान गर्ने अडान राखेका छन् ।
विशेषगरी बाँदरको आतङ्कले खेतीपाती नै सखाप पारेपछि आजित भएका किसानहरू यस पटक ‘बाँदर धपाउने र बाली जोगाउने’ नेताको खोजीमा छन् । बन्दीपुर गाउँपालिका–३, चिलाउने बारीकी विष्णुमाया चेपाङले दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने गरेकाले परिवार पाल्नै कठिन भएको बताउनुभयो । किसानी पेसा नै सङ्कटमा परेको भन्दै उहाँले अब आश्वासन मात्र दिनेलाई नभई बाँदरको समस्या समाधान गर्नेलाई नै भोट दिने दृढता व्यक्त गर्नुभयो । सोही ठाउँकी नक्कली माया भुजेलको पीडा पनि उस्तै छस बाँदरकै सास्तीले गर्दा अहिले किसानहरू आफ्नो पुर्ख्याैली पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
किसानका समस्या मात्र होइन, लालपुर्जा र पहिचानको मुद्दा पनि यस पटकको चुनावमा मुख्य सर्त बनेको छ । बन्दीपुर–५, भुजेल गाउँका रामकृष्ण भुजेलले वर्षौँदेखि जमिन भोगचलन गरे पनि लालपुर्जा नपाउँदा आफूहरू अनागरिक जस्तो भएको महसुस सुनाउनुभयो ।
चुनावका बेला नेताहरूले लालपुर्जा दिलाउने आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएको उहाँको गुनासो छ । यस्तै, सोही ठाउँकी तारा भुजेलले राज्यको अनुदान नीतिमा विभेद भएको उल्लेख गर्दै दुध र तरकारी उत्पादन गर्नेले अनुदान पाउने तर भुजेल जातिले बनाउने डोको, नाङ्लो, भकारी र मुडा जस्ता सामग्रीले प्रोत्साहन नपाउँदा दुःख लागेको बताउनुभयो । उहाँले स्थानीय सीप र कलालाई संरक्षण गर्ने उम्मेदवार नै आफ्नो रोजाइमा पर्ने सङ्केत गर्नुभयो ।
विकासका अधुरा योजना र विस्थापनको जोखिमले पनि मतदातालाई चिन्तित बनाएको छ । व्यास नगरपालिका–१३, बेलबासका यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा गरिएको तटबन्धले मादी र सेती नदीको कटान बढाएको बताउनुभयो । यसले गर्दा बस्ती नै डुबानको जोखिममा परेकाले उचित मुआब्जा र सुरक्षाको ग्यारेन्टी गर्नेलाई मात्र भोट दिने उहाँले स्पष्ट पार्नुभयो।
उता, घुमाउने पुल तथा बुद्धसिंह मार्ग सरोकार सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले १२ वर्षदेखि एउटा पुल अलपत्र परेको र मार्गका अन्य पाँच वटा पुलको अवस्था पनि उस्तै रहेको गुनासो गर्नुभयो । उहाँले अब जसले बुद्धसिंह मार्गका अलपत्र पुलहरू निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछ, उसैलाई भोट दिएर जिताउने बताउनुभयो ।