• ९ मंसिर २०८१, आइतबार

विश्व हिउँ चितुवा दिवस

लोपोन्मुख हिउँ चितुवा संरक्षणको केन्द्रमा राख्न माग

blog

विश्व हिउँ चितुवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा अतिथिहरुले पुस्तक लोकार्पण गर्नुहुँदै ।

काठमाडौँ, कात्तिक ७ गते । विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँ चितुवा संरक्षणलाई नेपालले प्राथमिकतामा राखेर बाघको संरक्षणमा कमाएको सफलताजस्तै हिउँ चितुवाको संरक्षणमा पनि सफलता प्राप्त गर्नुपर्नेमा जोड दिइएको छ । 

विश्व हिउँ चितुवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सहभागी विज्ञ तथा वक्ताले हिजोको दिनमा बाघको संरक्षणमा नेपालले दिइएको प्राथमिकताजस्तै आउँदा दिनमा हिउँ चितुवाको संरक्षणका लागि कार्यक्रम, योजना तथा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा सबै मुलुकमा नपाइने भएकाले यसको सङ्ख्या घट्दै गएको बताउँदै आगामी दिनमा हिउँ चितुवा विशेष कार्यक्रम, बजेट तथा योजना निर्माण गरिने बताउनुभयो । 

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा सबै मुलुकमा नपाइने भएकाले यसको सङ्ख्या घट्दै गएको बताउँदै आगामी दिनमा हिउँ चितुवा विशेष कार्यक्रम, बजेट तथा योजना निर्माण गरिने बताउनुभयो । 

उहाँले आफू मुगुमा जन्मेको र गाई–भैँसीको गोठालो जाँदा समेत देखिने हिउँ चितुवा अचेल देख्न मुस्किल पर्न थालेको सन्दर्भ स्मरण गर्दै यही क्रम जारी रहने हो भने नेपालबाट हिउँ चितुवा हराउन सक्ने डरप्रति आफू संवेदनशील भएको धारणा राख्नुभयो । 

मन्त्री ठकुरीले भन्नुभयो, ‘‘हिउँ चितुवाको संरक्षण सामान्य कार्यक्रम, योजनाले मात्र गर्न सकिँदैन । आगामी दिनमा यसका लागि विशेष कार्यक्रम मन्त्रालयले तयार पार्नेछ । जसमा संरक्षण साझेदार संस्थाको पनि साथ र सहयोग आवश्यक छ ।’’

सो कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले हिउँ चितुवासम्बन्धी अध्ययन, अनुसन्धान अझै पनि यथेष्ट र पर्याप्त हुन नसकिरहेको अवस्थामा भविष्यमा यसको अध्ययन, अनुसन्धानमा बढी लगानी र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले बाघको संरक्षणमा पाएको सफलतासँगै हिउँ चितुवाको संरक्षणमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा नाम रहने गरी संरक्षणका कामको थालनी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले मिलेर यसको संरक्षणमा ठोस योजना निर्माण गर्नुपर्ने बताउनुभयो । 

मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सरकारले एकसिङे गैँडा, पाटेबाघ, हात्तीजस्तै उच्च हिमाली क्षेत्रको छाता प्रजाति मानिएको हिउँ चितुवाको संरक्षणको विशेष कार्ययोजना निर्माण गरी आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । 

उहाँले यसका लागि सरकार एक्लैले मात्र केही गर्न नसक्ने भएको हिउँ चितुवा संरक्षणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न संरक्षण साझेदार संस्थाहरूसँग आग्रह पनि गर्नुभयो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले आगामी दिनमा नेपालको पश्चिमी उच्च हिमाली क्षेत्रलाई बढी केन्द्रमा राखेर काम गर्न विभाग लागि रहेको जानकारी दिनुभयो । उहाँले सचेतनाको अभावमा हिउँ चितुवाको चोरी सिकार हुनेक्रम बढिरहेकाले स्थानीयस्तरमा सचेतना जगाउने कार्यक्रममा बढी प्राथमिकतामा राखिने पनि उहाँले बताउनुभयो । 

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्लेले नेपालमा हिमाल भएकै कारणले प्राप्त भएको प्रकृतिको उपहार हिउँ चितुवालाई भावीपुस्तासम्मका लागि जोगाइ राख्न हिउँ चितुवा संरक्षणका लागि संरक्षित क्षेत्र बाहिर पनि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँचितुवा गणनाको नतिजा सार्वजनिक गरियो । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वटा वयस्क हिउँ चितुवा रेकर्ड गरिएका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र ९० वटा र आसपासका क्षेत्रमा ३० वटा हिउँ चितुवा फेला परेको तथ्याङ्क पनि सो अवसरमा सार्वजनिक गरियो । हिउँ चितुवा संरक्षण योजना २०२४–२०३० का अनुसार नेपालमा ३०० देखि ४०० को हाराहारीमा हिउँ चितुवा रहेको अनुमान गरिएको छ । 

मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सरकारले एकसिङे गैँडा, पाटेबाघ, हात्तीजस्तै उच्च हिमाली क्षेत्रको छाता प्रजाति मानिएको हिउँ चितुवाको संरक्षणको विशेष कार्ययोजना निर्माण गरी आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

उच्च हिमाली क्षेत्र, भौगोलिक कठिनाइका कारणले गर्दा बाघ, गैँडालगायतका वन्यजन्तुको जस्तो सहज रूपमा हिउँ चितुवाको गणना गर्न नसकिने पनि सो अवसरमा जानकारी दिइएको छ । 

नेपालका गौरीशङ्कर, अन्नपूर्ण, मनास्लु, हुम्ला, बझाङ, दार्चुला क्षेत्रमा पनि हिउँ चितुवा पाइने गरेको छ । तर यी क्षेत्रमा चरणबद्ध रूपमा गणना गरिने विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । तराई क्षेत्रको स्वास्थ्य पारिस्थितिकीय प्रणालीको सूचक तथा छाता प्रजाति बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वास्थ्य पारिस्थितिकीय प्रणालीको सूचक तथा छाता प्रजाति हिउँचितुवा मानिन्छ । 

हिउँ चितुवा उच्च हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु भएकाले नेपाललगायतका विश्वका १२ वटा हिमाल भएका देशमा मात्र यो वन्यजन्तु पाइने गरेको छ ।