• २ जेठ २०८२, शुक्रबार

‘हिमालबिना मानव सभ्यता सम्भव छैन’

blog

शुक्रबार काठमाडौँमा सुरु भएको ‘सगरमाथा संवाद’ मा सोल्टी होटल परिसरको दृश्य। तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, जेठ २ गते । हिमाल प्रकृतिको उपहार मात्र नभएर मानव सभ्यताको साक्षी पनि भएकाले प्राकृतिक हिमालबिना मानव सभ्यता सम्भव नभएको कुरामा विश्व समुदायको जोड रहेको छ ।  

नेपालले आयोजना गरेको सगरमाथा सम्वाद कार्यक्रमका सहभागी विश्वका नेताहरूले हिमाल मानव सभ्यताको जननी, संस्कृतिको उद्गम र प्रकृतिको उपहार भएकाले यसको संरक्षण आवश्यक भएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालबिना मानव समाज बाँच्न नसक्ने बताउनुभयो । उहाँले हिमालविना मानव सभ्यता समेत सम्भव नभएको चर्चा गर्नुभयो । 

नेपालले आयोजना गरेको सगरमाथा सम्वाद कार्यक्रमको विशेष समारोहको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले मानव जीवन र हिमालको अन्योन्याश्रित सम्बन्ध भएकाले हिमाल बचाउनु मानव सभ्यता बचाउनु भएको बताउनुभयो । उहाँले यसका लागि विश्वव्यापी सहकार्य र समन्वय आवश्यक भएको चर्चा गर्नुभयो । 

प्रधानमन्त्री ओलीले हिमाल काला हुँदै जाँदा र हिमताल बन्दै जाँदा हिमाल क्षेत्रको बासिन्दा मात्र नभई तल्लो तटीय क्षेत्र र मुलुकलाई समेत उत्तिकै असर परिरहेको बताउँदै सो साझा समस्यासँग जुध्न विश्व समुदायलाई आह्वान गर्नुभयो । 

सगरमाथा सम्वाद यही समस्याको उजागर र समाधानका विषय पहिल्याउने साझा मञ्च भएको उहाँले बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरसँग जुध्न क्षेत्रीय र विश्वव्यापी रूपमा ठोस र प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनमा बढी भूमिका हुने मुलुकले जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गर्न पनि बढी भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन गराउन बढी भूमिका खेल्ने देशले यसको न्यूनीकरण गर्नमा पनि ठुलो भूमिका खेल्नुपर्छ ।’ 

कार्यक्रममा पराराष्ट्र मन्त्री डा. आरजु देउवा राणाले जलवायु परिवर्तनको असर विशेष गरेर हिमाली क्षेत्रमा बढी परिरहेकोले हिमाली क्षेत्रको बासिन्दाले असाधारण समस्या भोग्नुपरिरहेको बताउनुभयो ।  

मन्त्री राणाले हिमाली क्षेत्रको संरक्षणमा क्षेत्रीय र विश्वव्यापी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा शुन्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको बताउँदै मन्त्री राणाले त्यो लक्ष्य पूरा गर्न नेपाललाई जलवायु वित्तको आवश्यकता रहेको बताउनुभयो । 

मन्त्री राणाले अगाडि भन्नुभयो, “यो महत्त्वकाङ्क्षी लक्ष्य प्राप्त गर्न नेपाललाई जलवायु वित्त र प्रविधि हस्तारण आवश्यक छ ।’ उहाँले हिमाल हराउनु मानव सभ्यताका लागि निकै चिन्ताजनक विषय भएको बताउनुभयो । मन्त्री राणाले जलवायु परिवर्तनको असरले हिमाल पग्लिँदा बाढी, पहिरो, हिमताल विष्फोटन लगायतका प्राकृतिक विपत्तीका घटनाहरू बढ्दै गएको बताउनुभयो ।  

कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप २९ का अध्यक्ष मोक्तर बबइबले जलवायु परितर्वन विश्वको समस्या भएकाले विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु वित्त र प्रविधि हस्तान्तरण आवश्यक रहेको बताउनुभयो । 

अध्यक्ष बबइबले हिमालको सुरक्षा सबै विश्व मानव जगतका लागि लाभदायी भएको पनि बताउनुभयो । उहाँले सगरमाथा विश्वको अग्लो चुचुरो भएकाले हिमालमा बढी असर परिरहेको बताउँदै हिमाल र हिमाली अर्थतन्त्रको सम्वेदनशीलतासँग एकाकार हुन विश्व समुदायलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा गम्भीर ढङ्गले परिरहेको बताउनुभभयो । उहाँले नेपालले आयोजना गरेको यो सम्वाद केवल सम्वाद मात्र नभई ज्ञान, अनुभव, सफलता, असल अभ्यास र प्रविधिको हस्तान्तरण भएको बताउनुभयो । 

उहाँले हिमालको दुर्लभ वन्यजन्तु हिउँचितुवाको संरक्षण हिमाली मुलुकहरूबिच सहकार्य र समन्वयको आवश्यकता औल्याउनुभयो । उहाँले जलवायु परिवर्तनले वातावरणीय चुनौती बढ्दै गएकाले यसको असरबाट बच्न साझा प्रयास हुनुपर्ने बताउनुभयो । 

उहाँले २५ प्रतिशत विश्वको जनसङ्ख्या दक्षिण एसियामा रहेकोले हिमाल बचाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा चिनिया जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीले जलवायु परिवर्तनको समस्या साझा समस्या भएकाले क्षेत्रीय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनको असरबाट एसियाली मुलुक बढी प्रभावित भइरहेको सत्यतालाई आत्मसात गर्दै जलवायु अनुकुलनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो । उहाँले जलवायु परिवर्तनले गर्दा प्राकृतिक विपत्तीले धनजनको क्षति हुने गरेको बताउँदै हिन्दकुश हिमालको संरक्षण गर्न साझा कार्यक्रम र प्रतिबद्धता आवश्यक छ ।

सगरमाथा सम्वादको पहिलो शृङ्खलामा ‘जलवायु परिवर्तन, पर्वत र मानव जातिको भविष्य’ विषयमा छलफल हुने भएको छ । उद्घाटन कार्यक्रमपछि हिमाल र हिमाली जनजीवन, हिमाल र तटीय मुलुकको सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । 

सम्वाद कार्यक्रममा चिनिया जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीको नेतृत्वमा विज्ञ, वैज्ञानिकसहित १५ जनाको टोली सहभागी भएको छ । भारतका वन तथा वातावरण तथा जलवायुमन्त्री भूपेन्द्र यादवको नेतृत्वमा सहभागी भएको छ । 

बेलायत, अजरवैजान, माल्दिभ्स्, कतार, संयुक्त अरब इमिरेट्स, बङ्गलादेश, अमेरिका, जर्मनी, थाइल्यान्ड, ब्राजिल, इजिप्ट, फिलिपिन्स, नर्वे, स्वीडेन, अष्ट्रेलिया लगायतबाट विज्ञ सहितको उच्चस्तरीय टोली सहभागी भइरहेको छ । 

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ, सार्क, खाद्य तथा कृषि सङ्गठन लगायतका जलवायु हेर्ने उच्चस्तरका प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्वादमा  भारत, चीन, भूटान, बेलायत, जापान लगायतका मुलुकबाट उच्चस्तरीय प्रतिनिधिमण्डलले भाग लिएका छन् । विदेशी राजनीतिक नेतृत्व सहित जलवायु विज्ञ, अध्येता, वैज्ञानिक, अनुसन्धानदाता गरी १७५ जनाले सम्वादमा भाग लिएका छन् । नेपालको पनि १७५ जना भन्दा बढीले भाग लिइरहेका छन् ।

सम्वादमा हिमाल र समुन्द्रको सम्बन्ध, हरित अर्थतन्त्र, जलवायु न्याय र मानवको भविष्य, जलवायु परिवर्तन र हानी नोक्सानी, क्षेत्रीय र विश्व सहयोग तथा समन्वय पाँच वटा मूल विषयमा १२ वटा समानान्तर सत्रहरू सञ्चालन गरिने भएका छन् ।