• १८ कात्तिक २०८२, मङ्गलबार

सम्पादकहरूसँग सञ्चारमन्त्री खरेल

‘सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण’

blog

सरकारी मिडियाका सम्पादकसँगकाे छलफलमा धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, कात्तिक १८ गते । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउनु भएको छ । 

मन्त्री खरेलले ‘सबै तहबाट निर्वाचन राष्ट्रिय प्राथमिकतामा छ, यसमा द्विविधा नहोस र निर्वाचनको वातावरण निर्माण गर्न सरकारदेखि सरोकारवाला सबैपक्ष क्रियाशील छन्’ भन्नुभयो । 

नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका सम्पादकीय नेतत्वसँगको छलफलमा मन्त्री खरेलले भन्नुभयो, ‘‘जेन्जी आन्दोलनको जगमा यो सरकार गठन भएको र २०८२ फागुन २१ मा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ ।’’ 

निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल, जेन्जी समूह र अन्य सरोकारवालासँग पटक पटक छलफल गरिरहेको जानकारी दिनुहुँदै मन्त्री खरेलले भन्नुभयो, ‘‘एउटा दलले सुरक्षाको प्रत्याभूतिमा बढी जोड दिएको छ, निर्वाचनमा जान सबै दल तयार रहेको अवस्था छ, यस्तो बेलामा सरकारको स्वामित्वमा रहेका मिडियाको जिम्मेवारी अझ बढी छ ।’’

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“अहिलेको प्राथमिकता निर्वाचन हो, निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहन्छ, त्यसैले सरकारले निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको छ । राजनीतिकदल, नागरिकसमाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरबी गर्न जरुरी छ ।” उहाँले सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र जेनजी सम्बन्धी कन्टेन्ट उत्पादन, प्रशारण र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खरेलले जेनजी समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरुका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दवाव सरकारी सञ्चार माध्यममा नभएकाले निर्धक्कसाथ आम नागरिकको सर्वोपरि हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

मन्त्री खरेलले परिवर्तित सन्दर्भमा सरकारी सञ्चार माध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेनजी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुने गरी समाचार, भिडियोलगायत सामग्री दिन पनि आग्रह गर्नुभयो । उहाँले युवा पुस्तालाई आकर्षित गर्न सिर्जनात्मक सामग्री (क्रियटिभ कन्टेन्ट) लाई प्राथमिकता दिन पनि जोड दिनुभयो । 


छलफलमा गोरखापत्र, द राइजिङ नेपाल, गोरखापत्र अनलाइन, राष्ट्रिय समाचार समिति, सार्वजनिक प्रसारण (रेडियो नेपाल र नेपाल टेलिभिजन) का सम्पादकीय नेतृत्वले आ–आफ्ना  मिडियाले दिएका प्राथमिकता र निर्वाचन तयारीको विषयमा मन्त्री खरेललाई जानकारी गराउनु भएको थियो । 

चारवटै सञ्चारमाध्यमका प्रतिनिधिहरुले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेनजीका सरोकार र प्राथमिकताका विषय, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिएको बताउनुभयो । साथै उहाँहरुले सरकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्वार प्रणालीमार्फत प्रवाह गर्ने प्रबन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिलवालले निर्वाचन, सुशासन र जेनजीको भावना बमोजिमका समाचार सामग्रीलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको बताउनुभयो । 

राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले सरकारी निकायको सूचना पहुँच सहज र जेनजी सहिद र घाइतेको विषयवस्तुलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने प्रतिबद्धता जनाउनुभयो ।

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले निर्वाचनको वातावरण बनाउने गरी विषयवस्तु, सुशासन र जेनजीको विषयलाई समाचार सामग्रीमा प्राथमिकता दिएको बताउनुभयो । 

गोरखापत्रका डिजिटल प्रमुख नारदमुनि गौतमले सरकारी सूचना र गतिविधि सङ्घीय सरकारका मन्त्रालय र निकायबाट एकद्वारा प्रणालीमा आउनसके सम्प्रेषणमा सहज हुने उल्लेख गर्नुभयो ।

नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्प राईले परिवर्तित सन्दर्भमा बढी सचेत र संवेदनशील भएर काम गर्दै आएको तथा राज्यको आधिकारिक र जिम्मेवार सञ्चार माध्यम भएको नाताले निर्वाचन, सुशासन, जेनजीको मुद्दा, समृद्धिको विषयलाई प्राथमिकताका साथ उत्पादन र प्रशारण गर्दै आएको जानकारी दिनुभयो । 

टेलिभिजनको अनलाइन संयोजक गोविन्द धितालले निर्वाचनका मुख्य पक्ष राजनीतिक दलहरुलाई निर्वाचनको पक्षमा लैजान तथा जेनजी समूहको आधिकारिकता र प्राथमिकताका विषयलाई सम्प्रेषण गरिने विश्वास व्यक्त गर्नुभयो ।

रेडियो नेपालका प्रमुख समाचारदाता पवन प्याकुरेलले निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल र जेनजीको भूमिकाको विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिनुपर्ने खाँचो औंल्याउनुभयो । डिजिटल उपनिर्देशक प्रमोद दाहालले सरकारको प्राथमिकताको आधारमा कन्टेन्टमा एकरुपता कायम गरिनुपर्ने, निर्वाचन र जेनजीको आवाजलाई विशेष प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा गोरखापत्र दैनिक, द राइजिङ नेपाल, रासस, सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख, प्रधानसम्पादक, सम्पादक, प्रमुख समाचारदातालगायतको उपस्थिति थियो । 

मन्त्री खरेलले यसअघि पनि विभिन्न सञ्चार माध्यमका वरिष्ठ पत्रकार र सम्पादकसँग छलफल गर्नुभएको थियो ।