• १८ फागुन २०८२, सोमबार

सल्यानमा निर्वाचन तयारी तीव्र, सबै केन्द्रमा सामग्री पठाइयो

blog

निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा जाने तयारीमा मतदान अधिकृतसहितको टोली । तस्बिर : शङ्कर केसी

शङ्कर केसी

सल्यान, फागुन १८ गते । यहि आउने बिहीबारका लागि तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सल्यानमा तयारी तीव्र पारिएको छ । जिल्लाका स्थायी २०५ मतदान केन्द्रका लागि आवश्यक सबै निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण गरेर पठाइसकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबारदेखी मतदाता नामावली, मतपत्र, मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसीलगायतका सामग्री वितरण सुरु गरिएको थियो । 

मतदान अधिकृत एवं सम्बन्धित मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी मार्फत निर्वाचन सामग्रीहरू पठाइएको हो । मतदान अधिकृतसहितको टोलि अधिकांश मतदान केन्द्रमा पुगिसकेको र कतिपय टोली सम्बन्धित केन्द्रमा पुग्ने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी तेजेन्द्रकुमार चन्दले जानकारी दिनुभयो । मतदान केन्द्र पुगेका टोलिले निर्वाचन सामग्रीको सूची मिलाउने र मतदान तयारीका आवश्यक कार्य गरिरहेका छन् । 

सल्यान जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाभरका मतदान केन्द्रका लागि ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरी खटाइएको छ । 

स्थानीय प्रशासन र सुरक्षा निकायले पनि मतदान केन्द्रमा सुरक्षा र व्यवस्थापनको तयारीलाई चुस्त बनाएको जनाएका छन् । निर्वाचनका लागि सल्यानमा नेपाली सेनाको टोली विभिन्न १३ स्थानमा खटिएको छ भने एक हजार ४०६ जना निर्वाचन प्रहरीसहित करिब एक हजारको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षाकर्मीको टोलीले जिल्लाभर पैदल, मोटरसाइकल र अन्य सवारी साधनबाट गस्ती गरिरहेको छ । यहाँका एक सय १७ मतदान स्थलमध्ये ४३ वटालाई अति संवदेनशील सूचीमा राखिएको छ भने ५७ मतदान स्थल संवेदनशील रहेका छन् ।

जिल्लामा कुल १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने एक लाख ६२ हजार ४४९ मतदाता छन् । यस निर्वाचनमा सल्यानबाट राजनीतिक दलका १२ जना तथा दुई जना स्वतन्त्र उम्मेदवार गरी १४ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मङ्गोल नेसनल अर्गनाईजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा पनि मैदानमा हुनुहुन्छ । स्वतन्त्रतर्फ युवाहरु ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सल्यानमा सबैभन्दा बढी खस आर्य समुदायका मतदाता ६४।२९ प्रतिशत रहेका छन् । त्यसपछि आदिवासी, जनजाति समुदायका मतदाता २१।४३ प्रतिशत छन् भने दलित समुदायका मतदाता १४।२९ प्रतिशत रहेका छन् । लिङ्ग अनुसार हेर्दा कुल मतदातामध्ये ५१।२९ प्रतिशत अर्थात् ८३ हजार ३२१ जना पुरुष रहेका छन् भने ४८।७१ प्रतिशत अर्थात् ७९ हजार १२८ जना महिला मतदाता रहेका छन् ।

गत प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्येक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो । खसेको मतमध्ये ७६ हजार ३२८ मत सदर हुँदा सात हजार ३७६ मत बदर भएको थियो । निर्वाचन तयारीसँगै मतदाता सहभागिता बढाउने र सुरक्षित रुपमा मतदान सुनिश्चित गर्ने लक्ष्य अनुरुप काम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।