• १८ मंसिर २०८१, मङ्गलबार

छात्रा फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

blog

क्वाटर फाइनल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर १४ गते । म्याग्दीको बेनीमा जारी लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

लायन्स कप फुटबलको फाइनल प्रवेशका लागि न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय र धौलागिरी माध्यमिक विद्यालय तथा बेनी सामुदायिक माध्यमिक विद्यालय र बेनी बोर्डिङबीच सेमी फाइनल खेल हुने भएको छ ।

न्यू वेष्ट प्वाइन्टले बालमन्दिर माध्यमिक विद्यालयला पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको हो भने धौलागिरी माविले लिटिल गार्डेन एकेडेमीलाई पराजित गरेको थियो । त्यस्तै बेनी सामुदायिकले माउण्ट एभरेष्ट आवासीय माविलाई पराजित गरेर सेमीफाइनल पुग्दा गलेश्वर आदर्श बोर्डिङलाई पराजित गर्दै बेनी बोर्डिङले सेमीफाइनलमा स्थान पक्का गरेको हो । सेमीफाइनल खेल शुक्रबार हुने र फाइनल शनिबार हुने आयोजक संस्थाका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मङ्सिर १३ गते शुरु भएको प्रतियोगिता १५ गतेसम्म चल्नेछ । 

जिल्लाभित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल शनिबार हुनेछ । छात्रा फुटबल प्रतियोगिता योजनाले फुटबलमा भएको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने लायन्स क्लब अफ बेनी लभ्ली हिलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो । 

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपियाँ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगदसहित पुरस्कृत गरिनेछ ।