साजन परियार
पर्वत, चैत ६ गते । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास अर्मादी सडकको स्तरोन्नति कार्य सुरु भएको छ । संघिय सरकारको सहयोगमा फलेवास नगरपालिका-६ ढिकदेखी कुश्मा नगरपालिका-४ अर्मादीसम्मको सडक स्तरोन्नति कार्य अघि बढाइएको हो । विगतमा विभिन्न कारणले राकिँदै आएको उक्त सडक अहिले पुन : सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।
सडक स्तरोन्नति अन्तर्गत चौडाइ बढाउने, कालोपत्रे गर्ने, नाली निर्माण तथा जोखिमयुक्त स्थानमा संरक्षणका काम गरिने जनाइएको छ । यो सडक खण्ड सुधार भएपछि कालीगण्डकी लोकमार्गमार्फत उत्तर–दक्षिण आवागमन सहज हुने अपेक्षा गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले लामो समयदेखि रोकिएको योजनाको काम सुरु हुनु सकारात्मक भएको बताएका छन् । उनीहरूले समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार गत कात्तिक २१ गते ठेकेदार कम्पनीसँग सम्झौता भई सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने जिम्मा नवकान्तिपुर मैनाचुली, नाना जेभीले पाएको छ । उक्त कम्पनीसँग ६५ करोड ६१ लाख ८३ हजार १२८ मा सम्झौता भएको जनाउँदै ३६ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक डबल लेनको बनाइने छ । चौध किलोमिटर लामो उक्त खण्डमा सात मिटर चौडाइमा कालोपत्र हुनेछ भने दायाँबायाँ एक÷एक मिटर छाडेर एक÷एक मिटरको नाली निर्माण गरिने इञ्जिनियर गौतमले जानकारी दिनुभयो । अहिले अर्मादीतर्फबाट धमाधम काम भइरहेको उहाँको भनाइ छ ।
इन्जिनियर गौत्तमका अनुसार अहिले कटिङ, नाली निर्माण र क्रसर उद्योग स्थापनाको काम भइरहेको छ । निर्धारित मितिमा काम सम्पन्न गर्नेगरी निर्माण व्यावसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न निर्देशन दिइएको गौतमले बताउनुभयो । लोकमार्गको पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेबाससम्मको ३३ किमी सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किमी सडक ठेकेदारको ढिलासुस्ती र बजेटको स्रोत सुनिश्चित नहुँदा लामो समयदेखि अलपत्र बनेको थियो ।
उक्त खण्डको मार्ग विस्तारका लागि विसं २०७३ असार २२ मा सम्झौता भई विसं २०७५ जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा विसं २०८० मा मात्रै मार्ग खुलाउने कार्य पूरा भएको थियो । मार्ग खुले पनि कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुन सकेको थिएन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा स्रोत सुनिश्चित भएर चालु आर्थिक वर्षमा बजेट विनियोजन भएपछि काम अघि बढेको इञ्जिनियर गौतमले जानकारी दिनुभयो ।
यसअघि उक्त खण्डका लागि ९ करोड १७ लाख ४९ हजार २४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेबास–६ ढिकबाट कुश्मा–४ अर्मादीसम्मको १४ किमी ट्र्याक खुलेको थियो । त्यसबाहेक अन्य काम भने हुन सकेको थिएन ।
कालीगण्डकी करिडोरको पर्वतखण्डमा ६० किमीभन्दा बढी भाग पर्दछ। सोअन्तर्गत सेतीवेणीबाट फलेबाससम्मको भाग कालोपत्र भइसकेको छ भने मालढुङ्गाबाट बेनीसम्मको १३ किमी खण्डको काम पनि सम्पन्न भएको छ ।
अब बाँकी रहेको फलेबास–अर्मादी खण्डअन्तर्गत १४ किमी सडक पूरा भएमा पर्वतखण्ड सम्पन्न हुने इञ्जिनियर गौतमले बताउनु भयो । कालीगण्डकी लोकमार्ग नेपालको महत्त्वपूर्ण रणनीतिक सडक आयोजना अन्तर्गत पर्दछ, जसले हिमालदेखि तराईसम्मको यातायात सञ्जाललाई जोड्ने लक्ष्य राखेको छ ।
उक्त सडक सञ्चालनमा आएपछि पर्वतसहित आसपासका जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।