• १४ मंसिर २०८१, शुक्रबार

स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु

blog

काठमाडौँ, मङ्सिर १४ गते । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ । 

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले मतदान केन्द्र (बुथ) बनाउने कार्यबाहेक मतदानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मङ्सिर १६ गते आइतबार सात वटै प्रदेश अन्तर्गतका ३१ जिल्लाका ४१ पदमा मतदान हुँदै छ । दुई जिल्ला समन्वय समितिका प्रमुखसहित एक वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । 

उपनिर्वाचनमा कुल दुई लाख २६ हजार ७९९ मतदाता छन् । एक लाख १४ हजार नौ सय पुरुष र एक लाख ११ हजार ८९६ मतदाता महिला छन् । निर्वाचन आयोगका अनुसार १६२ मतदान स्थलका लागि २९३ वटा मतदान केन्द्र तोकिएका छन् । 

आयोगका प्रवक्ता अर्यालले प्रत्येक मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक एक/एक गरी छ जना नियुक्त गरिएको जानकारी दिनुभयो । सोबमोजिम २९३ केन्द्रमा कुल एक हजार ७५८ कर्मचारी परिचालन हुने छन् । 

कीर्तिपुर नगरपालिकाका निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतपत्रलगायत मतदानका लागि आवश्यक सबै सामग्री आइपुगेको बताउनुभयो । उहाँले मतदान अधिकृतको नियुक्ति, तालिम सम्पन्न भई अधिकृतहरू आआफ्नो मतदान केन्द्रमा पुगेको जानकारी दिनुभयो । सो पालिकामा २० वटा मतदान स्थल अन्तर्गत ३८ वटा केन्द्र तोकिएका छन् । 

कीर्तिपुर नगरपालिकामा प्रमुख र दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । उहाँका अनुसार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा घेरा हुने छ । आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले मतदानका लागि सुरक्षाको पूर्ण प्रत्याभूति गराउन गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको छ । 

निर्वाचन अधिकृतको कार्यालयमा सात जना जनशक्ति परिचालन गरिएका छन् । ३८ निर्वाचन अधिकृतको कार्यालयमा २६६ कर्मचारी कार्यरत छन् । यसरी निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा गरी कुल दुई हजार २४ कर्मचारी नियुक्त भइसकेका छन् । 

स्थानीय तह उपनिर्वाचन सञ्चालन (आर्थिक) कार्यविधि, २०८१ अनुसार मतगणनामा छुट्टै कर्मचारी संलग्न हुने छन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयकै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गणना कार्यलाई रेखदेख एवं खटनपटन गर्ने छन् । अधिकृतसहित छ जना गणना टोलीमा रहने छ । 

कार्यविधिले गणनामा संलग्न हुने अधिकृतसहितका कर्मचारीका लागि छुट्टै सुविधा तोकेको छ । प्रवक्ता अर्यालले दोहोरो सुविधा नहुने गरी खटनपटन हुने प्रस्ट्याउनुभयो । 

कीर्तिपुर नगरपालिकामा प्रमुख र वडाध्यक्षका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ । बाँकी स्थानीय तहमा एक पदका लागि मात्रै मतदान हुने हुँदा एउटा मात्र मतपत्र छापिएको छ । आयोगका प्रवक्ता अर्यालले उम्मेदवारको अन्तिम नामावली अनुसार मतपत्रमा चुनाव चिह्न राखिएको बताउनुभयो । 

आयोगले निर्वाचन हुने दिन सार्वजनिक सवारीसाधनको उचित व्यवस्था गर्न तथा निर्वाचन हुने स्थानीय तहका कर्मचारी नेपाल सरकारमातहातको जुनसुकै कार्यालयमा कार्यरत भए पनि सो दिन बिदाको व्यवस्था मिलाएर कर्मचारीलाई मतदान गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।