• १ कात्तिक २०८२, शनिबार

कृषिमा एक अर्बभन्दा बढीको क्षति

blog

रातुको बाढी पसेपछि क्षतिग्रस्त महोत्तरीको धानबाली । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, असोज ३१ गते । हालैको अविरल वर्षा र बाढीले महोत्तरी जिल्लाको कृषि क्षेत्रमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार बाढी, डुबान र लगातारको वर्षाले धान, उखु, तरकारी, फलफूल, दलहन र नर्सरी क्षेत्रलाई ठुलो नोक्सानी पु¥याएको छ ।

ज्ञान केन्द्रका प्रमुख देवानन्द रायका अनुसार जिल्लाका १४ वटै स्थानीय तहका एक हजार २२५ हेक्टरभन्दा बढी कृषि जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ । रायले भन्नुभयो, “करिब ५७ हजार ५२७ मेट्रिक टन बाली नष्ट भएको छ, जसको बजार मूल्य लगभग ९६ करोड ५८ लाख रुपियाँ बराबर हुन्छ ।”

सबैभन्दा बढी क्षति धानबालीमा भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार १० हजार ५९१ हेक्टर क्षेत्रफलमा लगाइएको धान बगाएको छ । सुरुमा लामो समयसम्म पानी नपरेका कारण महोत्तरीका केवल ७७ प्रतिशत खेतमा मात्र रोपाइँ भएको थियो । त्यो पनि नष्ट हुँदा किसान थप मर्माहत बनेका छन् ।

धानपछि करिब ४३ हजार ११२ हेक्टरमा लगाइएको उखुबाली नष्ट भएको छ । यस्तै १४ स्थानीय तहमा फैलिएको एक हजार ४९० हेक्टर क्षेत्रफलको तरकारी खेतमै गलेको छ । 

कृषि ज्ञान केन्द्रका लेखा अधिकृत गोविन्द किशोर साहका अनुसार आर्थिक मूल्याङ्कनको हिसाबले सबैभन्दा धेरै करिब ४० करोड ७७ लाख रुपियाँ बराबरको उखु नष्ट भएको छ । त्यस्तै धानमा ३१ करोड ७७ लाख र तरकारीमा २१ करोड २३ हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । फलफूल, दलहन, तिल र नर्सरी क्षेत्रसमेत समेट्दा क्षतिको कुल आकलन एक अर्ब रुपियाँ नाघेको छ ।

बाढीबाट प्रभावित किसानले प्रदेश तथा सङ्घ सरकारसँग राहत र सहुलियतको माग गर्दै आएका छन् । स्थानीय तहका प्रमुखले पनि किसानलाई क्षतिपूर्ति दिन पहल भइरहेको बताएका छन् ।