• १३ मंसिर २०८१, बिहिबार

यौनाङ्गमा आउने मुसा

blog

यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ । यौनाङ्गमा मुसा आउने समस्या निकै पुरानो हो किनकि ‘फादर अफ मेडिसिन’ भनेर कहलिने हिपोक्रेटसको समयमा पनि यस बारेमा उल्लेख छ । 

त्यसो त हात, खुट्टा र अनुहारमा मुसा आउनु सामान्य नै मानिन्छ । त्यस्तो खालको मुसा दुख्ने खालको हुँदैन र त्यस्तो मुसाको आकारमा कुनै परिवर्तन आएन भने चिन्ता लिनु पर्दैन तर यौनाङ्ग एवं त्यस वरपर आउने मुसालाई सामान्य मानेर बेवास्ता गर्नु हुँदैन । किनकि त्यस्ता मुसाको उपचार समयमै गरिएन भने कालान्तरमा समस्या जटिल बन्न तथा त्यो क्यान्सरमा परिणत हुन सक्छ । 

यसको कारक तत्व पनि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) भएकै कारण विभिन्न क्यान्सर गराउने सम्भावना रहन्छ । 

एचपिभीका कारण भएको यौन सङ्क्रमणले विशेषतः यौनाङ्ग वरिपरि मुसा आउन सक्छ । यसका अतिरिक्त पुरुष यौनाङ्ग, पाठेघरको मुख, योनिमार्ग, भल्भा र मलद्वारको क्यान्सरका साथै मुख तथा घाँटीको क्यान्सर पनि यसले उत्पन्न गर्न सक्छ । एचपिभीका सयभन्दा बढी उपसमूह छन् । जसमध्ये ४० वटा उपसमूहले यौनाङ्ग क्षेत्रलाई प्रभावित गर्न सक्छन् । त्यसमध्ये पनि एचपिभी ६ र ११ ले अधिकतर यौनाङ्गमा मुसा उत्पन्न गराउँछ । त्यसो त प्रजाति १६, १८, ३१ र ३३ ले गर्दा पनि यो समस्या आउन सक्छ ।

यसको लक्षण देखा पर्न एचपिभीको सङ्क्रमण भएको वा सङ्क्रमितसँग असुरक्षित यौन सम्बन्ध भएको महिनौँ समय पनि लाग्न सक्छ । धेरै जसोमा आठ महिनासम्ममा लक्षण देखिन सक्छ । एचपिभीका कारण हुन सक्ने विभिन्न समस्यामध्ये यौनाङ्गमा आउने मुसा सजिलै पत्ता लगाउन सकिने खालको हुन्छ ।

जोखिम समूह

एचपिभीविरुद्ध खोप नलगाएका, कन्डमबिना यौन सम्बन्ध राख्दा, धेरै जनासँग यौनसम्बन्ध राख्दा, अन्य खालका यौन सङ्क्रमणबाट प्रभावित भएका, यौन सम्बन्धका बारेमा प्रस्ट जानकारी नभएका व्यक्तिसँग यौन सम्बन्ध राखेका, कम उमेरमै यौन क्रियाकलापमा सक्रिय भएका तथा मुसा भएका व्यक्तिले प्रयोग गरेका ‘सेक्स टोय’ पुनः प्रयोग गर्ने गरेका व्यक्ति यो समस्याको जोखिम समूहमा पर्छन् ।

त्यसै गरी एचआइभीविरुद्ध औषधि खाइरहेका तथा अङ्ग प्रत्यारोपणपछि स्टेरोइडलगायतका कडा औषधि खाइरहेका बिरामी पनि जोखिम समूहमा पर्छन् । धूमपान गर्नेमा जोखिम बढी देखिएको छ ।

विशेष गरी योनि–लिङ्ग सम्पर्कबाटै यो समस्या सर्ने भए पनि मुसाबाट सङ्क्रमितको छालाको प्रत्यक्ष सम्पर्कबाट पनि एचपिभी सर्दछ । यौनाङ्गमा मुसा भएको अवस्थामा मुख मैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्छ । एचपिभीले गर्दा यौनाङ्गमा मुसा मात्र आउने नभई मुख मैथुनका कारणले सरेर मुख, घाँटीको क्यान्सर, गुदद्वार मैथुनका कारण मलद्वारको क्यान्सर तथा सङ्क्रमित यौन खेलौनाको प्रयोगले महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम रहन्छ । प्रसवको समयमा गर्भवती आमाबाट नवजात शिशुमा एचपिभी सर्न सक्छ ।

लक्षण

नेपालमा विभिन्न खालको यौन सङ्क्रमण भएकामध्ये १७ प्रतिशतसम्ममा यौनाङ्गमा मुसा पाइएको छ । एन्टिबायोटिकको उचित प्रयोगसँगै भिरिङ्गी, धातुमेहलगायतका यौन सङ्क्रमणमा कमी आए जस्तै एचपिभी सङ्क्रमणमा पनि कमी आएको देखिन्छ । ९० प्रतिशत एचपिभी सङ्क्रमण शरीरबाट दुई वर्षसम्ममा निख्रिन्छ तर कतिपयमा भने यो सुषुप्त अवस्थामा रहिरहने तथा बेला बेलामा बल्झिने हुन सक्छ । अधिकतर सङ्व्रmमितमा कुनै पनि लक्षण देखिँदैन । त्यसैले त अमेरिकामा करिब १० देखि २० प्रतिशत मानिसमा यो समस्या हुन सक्ने अनुमान गरिए पनि सक्रिय यौन जीवनमा रहेका करिब एक प्रतिशतमा मात्र लक्षणसहित यो समस्या देखिने गरेको छ ।

महिलामा यसको सङ्क्रमणले योनि बाहिरको बाह्य भाग, योनिमार्गको माथिल्लो भाग, पाठेघरको मुख एवं मलद्वारमा लक्षण देखिने गर्छ । पुरुषको हकमा भने यौनाङ्ग, अण्डकोषको थैली, तिघ्रा, एवं मलद्वारमा लक्षण बढी देखिन्छ । शरीरको अन्य अङ्गमा भन्दा यौनाङ्गमा आउने मुसा बढी हानिकारक हुन्छ । यौनाङ्गमा आउने मुसा समतल खालको वा छालाको सतहबाट हल्का उठेको देखिन्छ । यस्तो समस्या एकल, धेरै वा समूहमा गुच्छा परी काउली जस्तो पनि देखिन सक्छ ।

यस्तो मुसा नरम वा कडा खालको हुन सक्छ । सानोमा एकदेखि पाँच मिलिमिटर र ठूलोमा मलद्वार वा जननेन्द्रीय नै ढाक्नेसम्मको हुन्छ । यौनाङ्गमा वा छालामा खैरो, सेतो, फिका पहेँलो, गुलाफी रातो रङको साना बिमिरा पलाउने गर्छ । प्रभावित भागमा चिलाउने, असहजता हुने, पोल्ने, यौन सम्पर्कका क्रममा रगत बग्ने हुन्छ ।

तर यौनाङ्गको मुसा चिलाउने भएमा, पीडादायी भएमा र विस्तारै कुरूप हुँदै गएमा जतिसक्दो चाँडो जँचाउन जानु पर्छ । त्यसै गरी प्रभावित महिला गर्भवती भएमा वा मुसा भएको व्यक्तिसँग यौनसम्पर्क भएमा पनि यौन सङ्क्रमणका हिसाबले रगत जाँच गराउनका लागि अस्पताल गई देखाउन पर्ने हुन्छ । यो समस्याले मोलोस्कम कन्टाजियम भन्ने छालाको अर्को सङ्क्रमणसँग झुक्याउन पनि सक्छ । यसको पहिचानका लागि मुसाको प्याप स्मियर र रगत परीक्षण गराउनु पर्दछ । मुसा भएको पुष्टि भइसकेपछि अवस्था हेरेर त्यसको उपचार हुन्छ ।

उपचार

आवश्यकता अनुसार दम्पती वा यौन साथी दुवैको एकैचोटि उपचार गर्नुपर्ने हुन्छ । त्यसो त यौनाङ्गमा मुसा आउँदैमा आत्तिनु पर्दैन किनकि यसको उपचार शतप्रतिशत सम्भव छ तर उपचार समयमै गर्न आवश्यक छ । उपचारको क्रममा पोडोफाइलिन, इमिक्विमोड र ट्राइक्लोरोएसिटिक एसिडयुक्त मलम प्रयोग गरिन्छ । यदि मुसाको आकार एक सेन्टिमिटरभन्दा सानो छ भने लिक्विड नाइट्रोजन (चिसो ग्यास) ले सेकिन्छ । यसले घाउ नबनाई सुरक्षित तरिकाले भाइरसको कोषलाई नष्ट गर्दछ ।

यदि मुसा ठूलो खालको छ भने इलेक्ट्रोकटराइजेसन अर्थात् प्रभावित भाग काटेर निकाल्ने शल्यक्रिया गरिन्छ । यसका अतिरिक्त लेजर प्रविधिबाट पनि उपचार सम्भव छ । कतिपयलाई भने आइसेट्रेटिनोइन भन्ने औषधि खानुपर्ने हुन्छ । यसरी उपचार गर्दा ९९ प्रतिशत निको हुने सम्भावना रहन्छ । यी विधिबाट पनि निको भएन र बारम्बार दोहोरिरह्यो भने मुसा आएको भाग नै शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन सक्छ तर यस्तो अवस्था बिरलै आइपर्छ । यसका लागि चिकित्सकको निर्देशन अनुसार सही ढङ्गले उपचार गर्नुपर्ने हुन्छ ।

रोकथाम

सीमित व्यक्तिसँगको सुरक्षित यौन सम्बन्ध र कन्डमको उपयोग नै यसबाट बाँच्ने सही तरिका हो । यसका अतिरिक्त एचपिभीविरुद्धको खोपले पनि धेरै रोकथाम गर्न सकिन्छ । विश्व परिवेशमा हालसम्म छ प्रकारका खोपलाई अनुमति प्रदान गरिएको छ । दुई एचपिभीका प्रजातिविरुद्ध प्रभावकारी बाइभ्यालेन्ट खोप (तीन वटा), चार प्रजातिविरुद्ध प्रभावकारी क्वाड्रीभ्यालेन्ट (दुई वटा) तथा एचपिभीका केही प्रजातिविरुद्ध प्रभावकारी नानोभ्यालेन्ट (गार्डासिल नामको) खोप छ ।

यी सबै खोप एकदमै सुरक्षित एवं प्रभावकारी छन् । सबै खोपले एचपिभी १६ र १८ (७० प्रतिशत पाठेघरको मुखको क्यान्सरको कारक), क्वाड्रीभ्यालेन्टले थप ६ र ११ प्रजाति पनि तथा नानोभ्यालेन्टले थप ३१, ३३, ४५, ५२ र ५८ प्रजातिविरुद्ध पनि प्रभावकारी काम गर्छन् ।

एचपिभी खोपकै बलमा ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर, ८० प्रतिशत योनिद्वारको क्यान्सर, ४० प्रतिशत भल्भाको क्यान्सर र ९० प्रतिशत एचपिभी पोजिटिभ, मुख र घाँटीको क्यान्सरको रोकथाम गर्ने तथा पुरुष लिङ्ग र यौनाङ्गमा आउने मुसाबाट बचाउने अनुमान छ ।  

–युवामञ्च   

Author

प्राडा सुमनराज ताम्राकार