• ९ मंसिर २०८१, आइतबार

एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन कम्बोडियामा सुरु

blog

एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभामा सहभागी नेता । तस्बिरः नारद गौतम

नोम पेन्ह (कम्बोडिया), मंसिर ६ गते। एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औँ साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ। 

सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधि सहभागी छन्।

यस सभामा चारवटा समूहमा वक्ताले लिखित मन्तव्य राख्ने कार्यक्रम छ। शान्ति र मेलमिलापको खोजी, शान्ति र मेलमिलाप  प्रवर्द्धनको  लागि साँस्कृतिक विविधता, शान्ति कायम गर्नका लागि डिजिटल सन्दर्भमा मिथ्या समाचार (फेक न्युज) सँगको लडाइँ, शान्ति र मेलमिलाप कायम गर्न राजनीतिक दलको भूमिका विषयमा प्रतिनिधिले आआफ्ना गहन विचार राख्ने छन्।अन्तिममा सम्मेलनको निष्कर्ष सार्वजनिक गरिने जानकारी आइक्यापको सचिवालयले दिएको छ। 

सम्मेलनमा नेपालका आठ दलका १३ जना नेता सहभागी छन्। सभामा नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइराला र पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ सहभागी हुनुहुन्छ।महासेठ एमाले परराष्ट्र विभागका प्रमुख तथा प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ भने एमालेबाट सहभागी डा. राजन भट्टराई प्रधानमन्त्रीका पूर्व परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्छ। नेपाली कांग्रेसका नेता कोइराला र डा.  भट्टराई आइक्यापको स्थायी समितिको सदस्यसमेत हुनुहुन्छ।

यसैगरी, कांग्रेसका पूर्व सांसद दिव्यमणि राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य तथा मुख्य सचिव केदारबहादुर अधिकारी, जनता समाजवादी पार्टी नेपालका अन्तर्राष्ट्रिय सचिव भरत गुरुङ,  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अन्तर्राष्ट्रिय विभागका सचिव शंकरप्रसाद खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) को केन्द्रीय सदस्य वीरबहादुर तामाङ सहभागी हुनुहुन्छ।

यसैगरी,  जनता पार्टीका राष्ट्रिय अध्यक्ष  डा. चन्द्रकान्त राउत तथा नेपाल परिवार पार्टीका अध्यक्ष एकनाथ ढकाल सहभागी हुनुहुन्छ।पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा र नेता गोकर्ण भट्ट आउने क्रममा रहेको जानकारी आयोजकले दिएको छ।

कम्बोडियाको सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिसिपी)ले आयोजना गरेको कार्यक्रममा एसियाबाट २८ देशका ४९ वटा राजनीतिक दलका ६२ जना नेता तथा प्रतिनिधि सहभागी छन्।


यसैगरी, विभिन्न देशका १५ जना पत्रकारसहित सम्मेलनमा २५३ जना सहभागी रहेको जानकारी आइक्याप सचिवालयले दिएको छ।

सम्मेलन आयोजक समितिका अध्यक्ष पार्क सोखोन्नले सहभागीहरुलाई औपचारिकरुपमा स्वागत गर्नुभएपछि सम्मेलन सुरु भएको हो।शुक्रबारबाट चारवटा समूहमा बहस सुरु हुनेछ। 

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।