• १३ साउन २०८१, आइतबार

दक्षिणकाली नगरप्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

काठमाडौं, जेठ ३ गते। काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत सात हजार २०१ मतसहित विजयी हुनुभएको छ। बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्रीराम आचार्य दुई हजार नौ मतान्तरले पराजित गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान भक्त आचार्यले ७९४, जनता समाजवादी पार्टी, नेपालका चण्डे राज तामाङले १२७, उन्नत लोकतन्त्र पार्टीका उज्वल श्रेष्ठले ४८ र रामप्रसाद तिमिल्सिना जैसीले १७ मत प्राप्त गर्नुभयो।

निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर उपप्रमुखमा पनि कांग्रेसकी बसन्ती तामाङ सात हजार ६२३ मतसहित विजयी हुनुभयो। तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले चार हजार ८३० मत ल्याउनुभयो। उपप्रमुखमा राप्रपाका उर्मिला केसीले ७४२ र जसपाकी सन्जु माया तामाङले ११८ मत प्राप्त गर्नुभयो।

दक्षिणकाली नगरपालिका-१ को वडाअध्यक्षमा एमालेका जय थापा मगर, २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, ४ मा कांग्रेसका पुष्कर खड्का, ५ मा कांग्रेसका श्याम बहादुर खत्री, ६ मा कांग्रेसका  शैलेशमान मानन्धर, ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, ८ मा कांग्रेसका योसकुमार वाईबा र वडा नं. ९ मा कांग्रेसका अमृका बलामी निर्वाचित हुनुभएको छ। 

दक्षिणकालीमा नौ वडामध्ये छ वडामा कांग्रेस र बाँकी तीनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ।