• १३ वैशाख २०८१, बिहिबार

म्याग्दे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

blog

अमरराज नहर्की

तनहुँ, जेठ २ गते । तनहुँको म्याग्दे गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेको उम्मेदवार र उपाध्यक्षमा नेपाली काँग्रेसको उम्मेदवार विजयी हुनु भएको छ । एमालेका श्रीप्रसाद श्रेष्ठले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतले पछि पार्दै श्रेष्ठले विजयी हुनुभयो । कुल मत सङ्ख्या ११ हजार ८८३ मध्ये श्रेष्ठले ४ हजार ९ सय ५० मत पाउनुभयो भने रानाले ४ हजार २३२ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरेले नेकपा एमालेका उम्मेदवार रत्ना घिमिरेलाई ८ सय ३९ मत अन्तरले पराजित गर्नुभयो । काँग्रेसका घिमिरेले ५ हजार ३९ मत प्राप्त गर्नु भएको थियो भने एमालेकी घिमिरेले ४ हजार २ सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नवराज आचार्यले बताउनुभयो । घिमिरे दोस्रो कार्यकालको लागि उपाध्यक्षमा दोहोरिनुभएको हो । 

अध्यक्षमा निर्वाचित श्रेष्ठ एमाले तनहुँको अध्यक्ष हुनुहुन्छ ।  काँग्रेसको  गढको रूपमा मानिएको म्याग्दे गाउँपालिका नेकपा एमालेले कसरी तोड्न सक्यो त्यो अहिले कांग्रेस बृत्तमा चासोको बिषय बनेको छ । २०७४ सालको स्थानीय चुनावमा  श्रेष्ठले रानासँग नै १ हजारभन्दा बढी मतले पराजित हुनुभएको थियो ।

सात वटा वडा रहेको सो गाउँपालिकामा वडाध्यक्षहरूमा कांग्रेसले बढी जितेको छ । वडामा पनि कांग्रेसले धेरै जित हासिल गर्नु र उपाध्यक्षमा पनि कांग्रेसले जितेपनि अध्यक्ष पराजित भएकाले सबैलाई कतुहलता भएको छ । 

स्थानीय तह मतपरिणाम सबैभन्दा पहिला नतिजा दिने गाउँपालिकामा म्याग्दे परेको छ । मतगणना छिटो र छरितो रुपमा लागेकाले अन्यभन्दा पहिला परिणाम दिन सकिएको सहायक मतदान अधिकृत एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।